प्रविधिमा फड्को मार्दै फेदीखोला, स्कुलमै सफ्टवयरको प्रयोग

समाधान संवाददाता २०७६ वैशाख २४ गते ६:५२

समाधान, स्याङ्जा

प्रविधीमैत्री नमुना गाउँपालिका बनाउन सक्रिय फेदीखोला गाउँपालिकाले जिल्लामा पहिलो पटक स्कुल म्यानेजमेन्ट सफ्टवयर संचालनमा ल्याएको छ ।

मोबाइल एप, विद्युतीय हाजिरी, इमेल, इन्टरनेट, सिसी क्यामरा जडान गरेको फेदीखोलाले जिल्लामा पहिलो पटक स्कुल म्यानेजमेन्ट सफ्टवयर संचालन गरेको हो ।

Advertisement

गाउँपालिकामा शैक्षिक सुधार तथा व्यवस्थापन गर्ने उद्देश्यसहित गाउँपालिकाले स्कुल म्यानेजमेन्ट सफ्टवयर सुरुआत गरेको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताए । गाउँपालिकाका सबै विद्यालयको तथ्यांक, विद्यार्थी रेकर्ड, विद्यार्थी प्रगति विवरण, शिक्षक हाजिरी, लेखा, लाइब्रेरीको विवरण सफ्टवयरमा रहने छ ।

सफ्टवयरमा रहेको विवरण अभिभावकसहित सबैले मोबाइल एपमार्फत घरमै बसेर थाहा पाउने सुवेदीले जानकारी दिए । उनले शिक्षक विद्यालयमा हाजिरी भए नभएको पनि विद्युतीय हाजरीको माध्यमबाट गाउँपालिकामा रहेको सफ्टवयरमार्फत जानकारी पाउने बताए । १ महिनाभित्र गाउँपालिकामा रहेका मावि स्कुलमा सफ्टवयर जडान हुने र आर्थिक वर्षभित्र सबै विद्यालयमा पुग्ने सुवेदीले बताए ।

Advertisement

जिल्लाका २४ वटा सामुदायिक विद्यालय मध्ये ८ वटा मावि र बाँकी आधारभूत छन् । सफ्टवयरको सुरुआत गर्दै प्राडा विद्यानाथ कोइरालाले परम्परागत तरिकाले शिक्षामा सुधार हुन नसक्ने बताए । उनले वर्तमान पुस्ताका विद्यार्थी सूचना प्रविधीमा अब्बल भएकाले शिक्षकले पनि आफ्नो स्तरीयता बढाउँदै लैजानुपर्नेमा जोड दिए ।

गाउँपालिकाले पूर्वाधार विकासमा कम्प्युटर ल्याब व्यवस्थापन गर्न ३५ लाख रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०७५÷७६ बाट डिप्लोमा इन कम्प्युटर इन्जिनियर अध्ययन गराउन सिद्धार्थ माविमा सिटीइभिटीबाट सम्बन्धन लिएको छ ।

स्थानीय विष्णु परियारले शैक्षिक विकासमा चासो दिए घरमै बसेर चाहेको शिक्षा आर्जन गर्न सकिने प्रमाणित भएको बताए । गाउँपालिकाभित्रका बाल विकास कक्षामा अध्यापन गराइ रहेका शिक्षकको मासिक तलबमा वार्षिक बजेटबाट १ हजार थप गरिएको सुुवेदीले जानकारी दिए ।

फेदीखोला गाउँपालिकामा स्कुल म्यानेजमेन्ट सफ्टवयरको शुभारम्भ गर्दै प्राडा विद्यानाथ कोइराला । तस्बिर : अर्जुन काफ्ले

तपाईको प्रतिक्रिया