बुबाको स्मृतिमा ५ करोड २८ लाखको भवन

समाधान संवाददाता २०७६ वैशाख २४ गते १२:३६

ताराप्रसाद शर्मा
वागलुङ

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी २ वर्षभित्र देशलाई साक्षर घोषणा गर्न सरकार लागिपरेको बताएकी छन् । देशका सम्पूर्ण निरक्षरलाई २ वर्षभित्रमा साक्षर बनाउन सरकारले साक्षर अभियान सञ्चालन गरेको उल्लेख गरिन् ।

शैक्षिक विकासबिना देश विकास असम्भव भएको भन्दै राष्ट्रपति भण्डारीले शैक्षिक तथा भौतिक क्षेत्रमा लगानी वृद्धि गरिरहेको बताइन् ।

Advertisement

बागलुङ नगरपालिका १२ अमलाचौरस्थित पृथ्वीहिरण्य माध्यमिक विद्यालयको नवनिर्मित भवन, विज्ञान तथा कम्प्युटर प्रयोगशाला उद्घाटनपछि राष्ट्रपति भण्डारीले विद्यालयको समग्र विकासका लागि स्थानीय तह, अभिभावक तथा विद्यालय परिवारको सहकार्य र एकता आवश्यक रहेकोमा जोड दिइन् ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष लीलाबहादुुर सुनारको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व शिक्षामन्त्री दीनानाथ शर्मा, पूर्व विद्यार्थी तथा सांसद देवेन्द्र पौडेल, डा. सूर्य पाठक, सांसद मनकुमारी केसी, भवन निर्माण दाता नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल, पूर्व विद्यार्थी डा.हेमराज शर्मा लगायतले बोलेका थिए ।

Advertisement

प्रधानाध्यापक प्रेमप्रसाद चापागाईँले सफल व्यवसायी तथा उद्योगी चन्द्र ढकाल, भाइ हेमराज ढकाल र आमा जानुका ढकालले स्व.हिरण्यप्रसाद ढकालको स्मृतिमा ५ करोड २८ लाखको लागतमा निर्माण गरिदिएको जानकारी दिए ।

उनले विज्ञान तथा कम्प्युटर प्रयोगशालाका लागि विद्यालयका पूर्व विद्यार्थी तथा उनीहरुको सक्रियतामा ८२ लाख संकलन भएको र त्यसमध्ये ५० लाखको अक्षयकोष स्थापना गरिएको बताए । विद्यालयमा ३ सय ७८ जना विद्यार्थी र २२ जना शिक्षक छन् । यसैबीच स्व. हिरण्यप्रसाद ढकालको विद्यालय परिसरमा निर्माण गरिएको सालिक राष्ट्रपति भण्डारीले अनावरण पनि गरेकी छन् ।

तपाईको प्रतिक्रिया