शुक्लागण्डकी दूधमा आत्मनिर्भर

समाधान संवाददाता २०७६ वैशाख २४ गते १५:३८

राजन उपाध्याय
दुलेगौंडा

शुक्लागण्डकी नगरपालिका दूधमा आत्भनिर्भर भएको छ । नगरका विभिन्न क्षेत्रमा ठूला फार्म सञ्चालनमा आउन थालेपछि यहाँ उत्पादित दूध पोखरासम्म पुग्ने गरेको छ ।

गत वर्ष दैनिक करिब ८ हजार लिटर दूध उत्पादन भएको पशु शाखा प्रमुख पशु चिकित्सक होमराज तिमिल्सिनाले दिए । ‘अहिले कम्तीमा १० हजार पुगेको छ । यहाँका उपभोक्तालाई चाहिने भन्दा बढी दूध उत्पादन भएको छ,’ उनले भने, ‘हामीले कृषकको तथ्यांक निकाल्ने काम गरिरहेका छौं ।’ हाल दैनिक १ हजार ५ सय लिटरको हाराहारीमा दूध पोखरा पुग्ने गरेको छ ।’

Advertisement

उनका अनुसार ९÷१० वटा भैसी पालेर दूध उत्पादन गर्ने करिब ४० कृषक छन् । उनीहरुले उत्पादन गर्ने दूध घरघरमा र बाँकी डेरीमा लगेर बेच्ने गरेका छन् । शुक्लागण्डकीका व्यवसायी हरि खड्काले वडा नं. १० मा केही महिनाअघि युनिक मल्ट्रि एग्रो सञ्चालनमा ल्याएका छन् । हाल ६२ वटा भैसीबाट दैनिक ३ सय लिटर दूध उत्पादन भएकोे छ ।

२÷३ महिनाभित्र १ सय भैसी पुर्‍याउने सञ्चालक खड्काले बताए । उनले करिब ५ करोड लगानी गरेको उल्लेख गरे । ९५ रोपनी क्षेत्रफलमा भैसीपालनसँगै तरकारी, स्थानीय कागती, सुन्तला, लिची लगाएका छन् । कुखुरापालनका लागि संरचना निर्माणको काम भइरहेको उनको भनाइ छ ।

Advertisement

शुक्ला कृषि पर्यटन सहकारीको लगानीमा शुनपा १० मा बैशाखेघाट मल्ट्री एग्रो प्रालि सञ्चालनमा आएको छ । करिब २ करोड खर्च भइसकेको प्रालिमा ६ करोडसम्म लगानी गर्ने लक्ष्य छ । हाल ४३ मध्य ३३ दूधालु भैसीबाट दैनिक ३ सय २० लिटर दूध उत्पादन भएको सञ्चालकमध्येका एक कमल सिग्देलले उल्लेख गरे । पाडापाडीसहित २ सय भैसी पु¥याई प्रालिले दैनिक १ हजार लिटर दूध उत्पादन गर्ने लक्ष्य लिएको छ ।

१० जनाको लगानीमा सो फार्म सञ्चालनमा ल्याइएको हो । फार्मका लागि करिब १० रोपनी र घाँस उत्पादनका लागि २ हजार २ सय रोपनी जमिन उपयोग गरिएको छ । यहाँबाट उत्पादित दूध दुलेगौंडामा रहेको शुक्ला कृषि बजारबाट बिक्री हुन्छ । कृषि बजारमा साना कृषकले समेत दूध बेच्छन् । दैनिक करिब ५ सय लिटर दूध पोखरा पुग्ने गरेको सिग्देलले बताए । उनका अनुसार आगामी दिनमा भैसीसँगै बाख्रा, कुखुरा, माछा, बंगुर पाल्ने योजना छ ।

वडा नं. ९ मा रहेको शुक्ला सुरौदी मल्ट्री एग्रो प्रालीमा हाल ३३ दुधालु भैंसी छन् । ५५ रोपनीमा फैलिएको फार्ममा १ सय भैसीको क्षमता छ । भैसी क्रमश बढाउदै लगिने प्रालिले जनाएको छ । डेढ करोड लगानी भइसकेको यस फार्ममा ५ करोडसम्म पुर्‍याउने लक्ष्य रहेको सञ्चालकमध्यका एक ऋतु भुवाईले जानकारी दिए ।

हाल दैनिक १ सय ९० लिटर दूध डेरीमार्फत शुक्लागण्डकीका विभिन्न क्षेत्रमा बिक्री भइरहेको उनको भनाइ छ । प्रालिले ८ रोपनी क्षेत्रफलमा तरकारी करिब ४ रोपनीमा माछापालनसमेत गरेको छ । सोही वडाको घारीमा अवस्थित जय लक्ष्मी दूध उत्पादन सहकारी संस्था लिमिटेडले करिब ५ सय लिटर दूध पोखरामा बिक्री गर्दै आएको छ ।

नगरका मेयर किसान गुरुङले उत्पादन वृद्धि गर्न १ वडा १ उत्पादनको नीति अवलम्वन गरिएको उल्लेख गरे । नगरपालिकाले कृषकलाई तालिम, प्राविधिक एवं बिउविजन सहयोग गर्दै आएको उनको भनाइ छ । कृषि तथा पशुपालनमा कृषकलाई हौसला प्रदान गर्न प्रदेश सरकारले पनि विभिन्न योजना ल्याएको प्रदेश सांसद आशा कोइरालाले बताइन् ।

‘प्रदेशको कृषि मन्त्रालयले कार्यविधि बनाएर नमुना फार्मलाई आर्थिक सहयोग गर्ने निति लिएको छ,’ उनले भनिन, ‘यस क्षेत्रमा पनि नमुना फार्म धेरै नै परेका छन् ।’

तपाईको प्रतिक्रिया