निषेधित क्षेत्रमा ड्राेन क्यामेरा उडाएको आरोपमा ‘सम्हालिन्छ कहिले मन’चलचित्र युनिटको ड्रोन क्यामेरा नियन्त्रणमा

समाधान संवाददाता २०७६ वैशाख २४ गते १७:००

सुन्दरकुमार थकाली, मुस्ताङ

निषेधित तथा नियन्त्रित क्षेत्रमा डोन क्यामेरा उडाएको आरोपमा चलचित्र ‘सम्हालिन्छ कहिले मन’चलचित्र युनिटको ड्रोन क्यामेरा नियन्त्रणमा लिईएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । शनिबार र आईतबार मुस्ताङको जोमसोमका बिभिन्न स्थानमा सुटिङ सकेर उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको टोलीको मंगलबार बिहान ड्रोन उडाएकै अवस्थामा नियन्त्रणमा लिईएको जनाईएको छ ।

नेपाल सरकार गृह मन्त्रालयले निषेधित तथा नियन्त्रितक्षेत्रमा ड्रोन क्यामेरा प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । मुस्ताङको वारागुसङ मुक्तिक्षेत्र कागबेनी देखि माथिको उत्तरीक्षेत्र संरक्षित तथा निषेधित क्षेत्र अन्तर्गत पर्दछ ।

Advertisement

मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले ड्रोन क्यामेरा प्रयोग गरेको टोली कागबेनी,मुक्तिनाथ लगायत तल्लो क्षेत्रमा मात्र ड्रोन प्रयोगको स्वीकृत लिएकाले नियन्त्रणमा लिनु परेको बताए । चलचित्र टोलीलाई निषेधित क्षेत्रका बारेमा जानकारी गराईएको भएपनि अटेर गरी ड्रोन प्रयोग गरेकाले क्यामेरा नियन्त्रण लिन परेको जानकारी दिए ।

सीमा प्रहरी चौकी लोमान्थाङका प्रहरी असई नरेन्द्रकुमार पौडेले चलचित्रको ड्रोन क्यामेरा साईतका लागि ट्रायल गरिरहेको अवस्थामा ड्रोन नियन्त्रणमा लिएको बताए । उनले चलचित्र छायाङ्कन अवधिसम्म नियन्त्रणमा राखिने र टोली फर्किएपछि जिम्मा लगाईने उनको भनाई छ ।

Advertisement

२ महिना अघि पनि उपल्लो मुस्ताङको लोमान्थाङमा प्याराग्लाईडिङको परिक्षण उडान गरिएको थियो । उक्त टोलीले पर्यटन मन्त्रालयको अनुमति लिएकाले उडानमा रोक नलाईएको असई पौडेलले खुलाए ।

‘सम्हालिन्छ कहिले मन ’चलचित्रका निर्माता अमित बस्नेत र निर्दैशकमा सुदर्शन थापा छन् । ३ करोड लगानीमा निर्माण भईरहेको चलचित्रको मुस्ताङमा १० प्रतिशत सुटिङ हुदैछ ।

तपाईको प्रतिक्रिया