गण्डकी प्रदेशलाई लुम्बिनीको निम्तो

समाधान संवाददाता २०७६ वैशाख २५ गते १३:४४

समाधान संवाददाता
पोखरा

‘लुम्बिनी भ्रमण वर्ष २०७६’ सफल बनाउन प्रदेश नम्बर ५ ले गण्डकी प्रदेश सरकारलाई निम्तो दिएको छ । ५ नम्बर प्रदेश सरकारबाट घोषणा भएको उक्त कार्यक्रमको प्रचारप्रसार गर्ने क्रममा पोखरा आइपुगेको एक टोलीले एक कार्यक्रमका बीच गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साललाई निम्तो दिएको हो ।

५ नम्बर प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव धनञ्जय पौडेलले मन्त्री लम्साललाई प्रचार सामग्री, डायरी लगायतका सामान हस्तान्तरण गरे ।

Advertisement

गौतम बुद्धको जन्मस्थलको थप प्रचार र पर्यटन विकासलाई संस्थागत गर्ने उद्देश्यले प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्षको घोषणा गरिएको सचिव पौडेलले जानकारी दिए । बुद्ध जयन्तीको अवसरमा आउँदो जेठ ४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको उद्घाटन गर्ने कार्यक्रम छ ।

नेपाल सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’को आधार तयार गर्न लुम्बिनी भ्रमण कार्यक्रमले सहयोग गर्ने सचिव पौडेलले बताए । ‘कार्यक्रम घोषणासँगै भौतिक संरचना निर्माण र पर्यटक आउने वातावरण तयारका लागि मन्त्रालयले काम गरिरहेको छ,’ उनले भने, ‘लुम्बिनी क्षेत्र र आसपासका स्थानलाई जोडेर कार्यक्रम बनाइएको छ । कार्यक्रमले भ्रमण संस्कृतिमा विकास गर्छ भन्ने विश्वास छ ।’

Advertisement

बुद्ध पूर्णिमादेखि अर्को वर्षको चैत शुक्ल पूर्णिमासम्म भ्रमण वर्षको रुपमा मनाउन व्यापक प्रचार गरिने प्रचारप्रसार उपसमिति संयोजक भरत केसीले जानकारी दिए ।

गण्डकी प्रदेशले आन्तरिक पर्यटन भ्रमण वर्ष २०१९ मनाइरहेको सन्दर्भमा त्यस्तै प्रकृतिको कार्यक्रम ५ नम्बर प्रदेशबाट पनि घोषणा हुनु अत्यन्तै सुखद रहेको बताए । आन्तरिक पर्यटनलाई बढावा दिन कुन न कुनै कार्यक्रम सबै प्रदेशले गरिरहनु पर्ने उनले औल्याए ।

पोखरा आएका पर्यटकलाई लुम्बिनीसम्म पुर्‍याउन र लुम्बिनी आएका पर्यटकलाई पोखरासम्म तान्न दुई प्रदेश बीच समन्वयको आवश्यकता रहेको उनले सुनाए । पर्यटन विकासका लागि सरकारले उपयुक्त नीति बनाई निजी क्षेत्रलाई काम गर्ने वातावरण तयार गर्नुपर्ने भन्दै मन्त्री लम्सालले गण्डकी प्रदेशले त्यस किसिमको तयारी थालिसकेको जानकारी दिए । लुम्बिनी पोखरा जोड्ने सडक ४ लेनको बनाउने योजना गण्डकी प्रदेशले पहल गरिरहेको उनले सो अवसरमा बताए ।

तपाईको प्रतिक्रिया