सराङकोटका पिता लोकबहादुर थापा

समाधान संवाददाता २०७६ वैशाख २५ गते १६:०३

कृष्णबहादुर थापा

बुबा नेत्रबहादुर थापा र माता मनदेवी थापाका ५ भाइ छोरा र १ छोरीमध्ये ज्येष्ठ सन्तानको रुपमा २००३ माघ १२ गते सराङ्कोट ग्यारजातीमा लोकबहादुर थापाको जन्म भएको हो । थापा, लामिछाने र क्षत्रीको हालको उद्गमस्थल जहाँबाट पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका पूर्वज, जनकेशरी धर्मराज थापाको पूर्वजसमेत रहेको स्थानबाट नेपाल अधिराज्यभर लामिछाने, थापा फैलिएका छन् ।

सराङकोटलाई शाहवंशीय राजाको युद्ध सिक्ने, हतियार भण्डारण गर्ने स्थान, पर्यटकीय र धार्मिक हिसाबले महत्वपूर्ण मानिन्छ । पोखरा बजारसँग जोडिएर पनि विकासबाट पछि परेको सराङकोटमा ०४० तिर शिक्षा, स्वास्थ्य, बाटो, खानेपानी व्यवस्थाको अवस्था ज्यादै कहालीलाग्दो थियो । यस्तो अवस्थामा गाउँमा बसेरमात्र हुँदैन भनी व्यवसाय गर्नकै लागि बुबा नेत्रबहादुर थापा पोखरामा ओर्लिनु भयो ।

Advertisement

उहाँसँगै सम्पूर्ण दाजुभाइ संयुक्त रुपमा व्यापार गर्नुहुन्थ्यो । पोखरा जोड्ने राजमार्ग नभएको समयमा भैरहवाबाट जहाज चार्टर गरी नून, तेल, खाद्यान्न सामग्री पठाउन १४ वर्ष भैरहवा बसी सामान पठाउने गर्नुहुन्थ्यो । विस्तारै पोखरासँग अन्य सडकमार्ग जोडिएपछि थापाले पोखरा फर्केर व्यापारमा आफ्नो भाइलाई समेटी खाद्यान्नको डिलर, ढुवानी र हार्डवयर व्यवसायतर्फ लाग्नुभयो ।

त्यस समयमा पोखरामा सामाजिक क्रियाकलाप गर्ने संघ, संस्था, रेडक्रस, रेयुकाई, लायन्स क्लबले केही मात्रामा गतिविधि गर्दै थिए भन्नुहुन्छ पोखराका व्यावसायी भीमराज रेग्मी । त्यसै बेला पोखरामा रहेका र बाहिरबाट आएका व्यापारीसँग केही दूरी भएता पनि त्यसलाई थापाले सक्रिय समन्वय गरी सामाजिक कार्यमा लाग्नुपर्छ भनी अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लबमा क्रियाशील हुँदै सामाजिक सक्रियता बढाउँदै आउनुभयो ।

Advertisement

सामाजिक कार्यको सुरुआत आफ्नै गाउँबाट गर्नुपर्छ, गाउँलाई सेवा गरेमात्र मातृभूमिको छोरा कहलिन्छ भन्ने सोच भएका थापाले पोखरा उद्योग वाणिज्य संघमा स्थापनामा भूमिका, पदाधिकारी जिम्मेवारीसहित ३ पटक वाणिज्यको निर्वाचन संयोजकको जिम्मेवारी सम्हाल्नु भयो ।

व्यवसायका अलावा सामाजिक संघसंस्थामा लाग्न प्रेरणा दिने अभिभभावकको रुपमा आफूले पाएको कान्छा भाइ प्रकाश थापा बताउँछन् । त्यो बेलामा मानवीय स्वास्थ्य सेवाका लागि र सम्पूर्ण सुविधा भएको नेपालको दोस्रो एम्बुलेन्स, स्वास्थ्य शिविर, आँखा शिविर, भलाम÷काहुँ खानेपानी योजना जस्ता स्वास्थ्य सचेतना कार्यक्रमको नेतृत्व उहाँले गर्नुभएको थियो ।

अन्तर्राष्ट्रिय सेवामुखी संस्था लायन्स क्लब पोखराको स्थापना, लायन्स भिलेज अभियान र ३ कार्यकाल अध्यक्ष भई पुर्‍याउनु भएको योगदानले आज पनि उहाँलाई लायन्स डिस्ट्रिक ३२५ नेपालको सर्वोत्कृष्ट अध्यक्ष सम्मान अन्तर्राष्ट्रिय रुपमा पाउने पहिलो व्यक्ति लोकबहादुर थापा सक्षम र उपयुक्त रहनु भएको उहाँका पूर्वगभर्नर साथी प्रेमबहादुर श्रेष्ठ बताउँछन् ।

सामाजिक कार्यलाई दीर्घकालीन र तुरुन्त सेवा पुग्ने गर्नुपर्छ भन्ने भावनाले अन्तर्राष्ट्रियरुपमा सहयोग संकलन गरी सराङ्कोटमा खानेपानी समस्यालाई उपयुक्त समाधानका लागि ग्यारजाती खानेपानी योजना, डाँडापारी भुमरेगैरा खानेपानी योजना, पधौली खानेपानी योजना, पुरुन्चौर सहकारी अभियान थापाकै नेतृत्वमा सफल भएको सराङ्कोटका अगुवा शमशेरबहादुर थापा बताउँछन् ।

शिक्षातर्फ जनजागृत मावि, रत्न प्रावि, शारदा प्रावि– तोरीपानी, सरस्वती प्रावि– सिमताल, शिशु स्याहार, हेल्थपोस्ट, सामुदायिक वन, वृक्षारोपण कार्यमा समेत उहाँको भूमिका महत्वपूर्ण छ । राजनीति र समाजसेवाको निस्वार्थ रुपमा सामाजिक स्वार्थमात्र लिने व्यक्ति सराङ्कोटको सच्चा पिता रहनुभएको पूर्व गाविस अध्यक्ष झपटबहादुर थापा बताउँछन् ।

स्वर्गीय थापाको त्यस बेला अन्तर्राष्ट्रिय दातृ निकायसँग राम्रो सम्बन्ध भएको कारण त्यहाँबाट प्राप्त हुने हरेक आर्थिक गतिविधिलाई सराङ्कोटमै जोड्दै ०५७ सालमा जनजागृत माविको भवन निर्माणका लागि २० लाख सहयोग गर्नुभएको थियो । उहाँले नै नेतृत्व गर्नुभएको लायन्स क्लबमार्फत तत्कालीन सराङ्कोट गाविसका ९ वटै वडामा खानेपानी योजनाले त्यसबेला घन्टौ लगाएर गाग्रीमा पानी बोकेर ल्याउने क्रमको अन्त्य भएको हाल वडावासी स्मरण गर्ने गर्छन् ।

सराङ्कोटसँग कास्कीका अन्य स्थान जोड्ने अभियानलाई सार्थक तथा मुख्य योजनाकारमार्फत पोखरा–सराङ्कोट, कास्कीकोट, नौडाँडा कृषि सडकको परिकल्पनाकै फलस्वरुप निर्माण कार्यको अन्तिम चरणमा छ ।

सोही समयदेखि सराङ्कोटलाई धार्मिक पर्यटकीय सम्भावनालाई सार्थक रुप दिन सराङ्कोट धार्मिक पर्यटन क्षेत्र विकास समितिको परिकल्पनासहित संस्थापक अध्यक्षको भूमिका उहाँकै नेतृत्वमा सराङ्कोटको टपमा विशाल शिव मन्दिरसहित विभिन्न पर्यटकीय, धार्मिक स्थलको परिकल्पनालाई आर्थिक संकलनलाई अगाडि बढाउन काठमाडौं, पोखरा र सराङ्कोटमा श्रीमद्भागवत ज्ञान महायज्ञ हुनु सराङ्कोटमा राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपमा सम्मानित गुरुलाई उपस्थित गराउनु चुनौती र अवसर दुवै थियो ।

तथापि स्वर्गीय थापाले कहींकतै कुनै स्रोत नहुँदा आफैंबाट सम्पूर्ण खर्च गरी हालको सराङ्कोट बनाउन महत्वपूर्ण योगदान दिनु आम सराङ्कोटलाई गौरव महसुस भएको सामाजिक अगुवा प्रेमबहादुर जिसी बताउँछन् ।
थापासँग मेरो नजिकको नाता भएकाले उहाँसँगको सामीप्यता ०५५ सालतिरबाट बढ्दै गयो । उहाँकै संलग्नमा रहेको संघसंस्थाको कार्यक्रममा म उपस्थित रहने गर्थे ।

यसै क्रममा मलाई पनि गाउँको नामबाट केही गरौं भन्ने भयो । यही सोचका साथ मेरो प्रस्तावमा उहाँकै नेतृत्वमा सराङ्कोट बहुउद्देश्यीय सहकारी संस्था ०६३ सालमा रेडियो तथा बचत तथा ऋणका लागि सराङ्कोट बहुउद्देश्यीय संस्थामार्फत रेडियो सराङ्कोट सञ्चालन हुँदै हाल रेडियो तथा बचत तथा ऋणमार्फत आफ्नै भवनबाट सेवा दिँदै आएको छ ।

थापाकै पहलमा आम क्षत्रीको साझा संगठन क्षत्री समाज नेपालको आर्थिक तथा सांगठानिक भूमिकाका लागि आयोजित श्रीमद्भागवत ज्ञान महायज्ञको अध्यक्ष भई नेपालकै उत्कृष्ट सहभागितासहित ७ करोड आर्थिक संकलन भएको समाजका केन्द्रीय अध्यक्ष प्राडा दिलबहादुर क्षत्री बताउनुहुन्छ ।

थापाकै पहलमा लामिछाने थापा क्षत्री समाजमार्फत कुलमन्दिर निर्माण, वंशावली प्रकाशनमा उहाँको भूमिका महत्वपूर्ण छ । थापाले नेत्र स्मृति पुरस्कार गुठी, राष्ट्रिय शान्ति संस्था, दर्जनौं विराट ज्ञान महायज्ञको नेतृत्व, २१ औं शताब्दी विश्व शान्ति संस्था, रेडक्रस, बाल संगठन, कुष्ठरोग संघ, नेपाल क्यान्सर सोसाइटीका खेलकुद संस्थामा विभिन्न पदमा रही महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।

तत्कालीन अवस्थामा धेरै पटक राजनीति नियुक्ति पाउँदासमेत अस्वीकार गरी स्वतन्त्र रुपमा सामाजिक कार्य गर्नुपर्छ भन्ने भावनाका धनी थापा आफू रोगसँग लडिरहँदासमेत हात नफाली आस्थापूर्वक संघर्ष गरिरहनु भएको थियो ।

उपचारका क्रममा विदेश होस् वा स्वदेशमा हुने उपचारमा लाखौं रुपैयाँ आफ्नै छोरा र भाइ–बुहारी सबैको एकता र प्रयासले अन्तिमसम्म आस गर्न सक्ने बनाउनु भएको थियो । अस्पतालको बेडमा होस् वा घरको ओछ्यानमा सराङ्कोटको नाम सुन्ने बित्तिकै उठ्ने सक्रिय व्यक्तित्व थापाको योगदान यो आलेखमा केही अंशमात्र हुन जान्छ । अतः उहाँले दिनुभएको शतप्रतिशत योगदानलाई जीवन्त राख्न सराङ्कोट बहुउद्देश्यीय सहकारी संस्थाले स्मृति कोष स्थापना गरेको छ ।

अन्य संस्थाको पनि सहभागिता र प्रयास भएमा उहाँको स्मरण र सम्मानले जीवन्त पाउने निश्चित छ । होइन भने फेसबुकमा रिप लेख्ने, आफूलाई अगुवा भन्नेका लागि के हुन सक्छ ।

उहाँले राष्ट्रबाट प्रवल गोर्खा दक्षिणबाहु लगायत सामाजिक रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्नुभएको छ । थापाको योगदान स्मरण गर्दै सम्पूर्ण सराङ्कोटवासीले सराङ्कोटको वृहत्तर विकास, योजना अगाडि बढाउन एक हुनुपर्ने देखिन्छ ।

(थापा रेडियो सराङ्कोटका कार्यकारी निर्देशक हुन् ।)

तपाईको प्रतिक्रिया