चितुवा आतंकः एकै रात १० बाख्रा मारिए

समाधान संवाददाता २०७६ वैशाख २६ गते १२:१३

मोहसिन अलि मियाँ
गोरखा

गोरखाको भीमसेन थापा गाउँपालिका २ को काउलेमा चितुवाबाट स्थानीय आतंकित बनेका छन् । साविकको तान्द्राङ गाविसमा मंगलबार राति १ किसानले पालेका १० वटा बाख्रा चितुवाले मारेपछि स्थानीयमा त्रास पैदा भएको हो । काउलेका नेत्रबहादुर बस्ताकोटीको एउटा खोरका १३ मध्ये १० वटा बाख्रा चितुवाको आक्रमणमा परेका छन् भने ३ वटाले भागेर बाँचेका छन् ।

व्यावसायिक बाख्रापालनको तयारीमा रहेका बस्ताकोटी एकै दिन १० बाख्रा मारिएपछि निराश बनेका छन् । १० मध्ये ५ वटा मरेको अवस्थामा सग्लै र ५ वटालाई भने चितुवाले केही भाग खाएको अवस्थामा भेटिएको स्थानीय रमेश बस्ताकोटीले बताए । घरसँगै जोडिएकोे खोरको ढोका फोडेर चितुवाले बाख्रा बाहिर निकालेको अनुमान गरिएको छ ।

Advertisement

बिहान उठेर बाख्रा निकाल्न जाँदा खोरको ढोकाभरि रगत देखेपछि मात्रै बस्ताकोटीले थाहा पाएका थिए । त्यसलगत्तै गाउँका केही जम्मा भएर वरपर खोज्दा झाडीमा ३ वटा जिउँदै, ५ वटा मरेको अवस्थामा र ५ वटाको शरीरका केही टुक्रा मात्रै भेटिएको बस्ताकोटीले बताए ।

१ महिना अघि पनि गाउँ नजिकै चितुवाले १ गाई खाएको थियो । त्यस यता नजिकैको जंगलमा चितुवा र तिनका डमरु देखिएकोे स्थानीय बताउँछन् ।

Advertisement

चितुवाको आक्रमणमा बस्ताकोटीले पालेका ७ वटा पाठा, १ बाख्रा र २ वटा पाठी मारिँदा डेढ लाखभन्दा बढीको क्षति भएको बताइएको छ । एकै रात झण्डै १ दर्जन बाख्रा मारिएपछि गाउँमा चितुवाको बथान नै हुन सक्ने अनुमान गरिएको छ ।

‘एउटा बाघले यत्रा बाख्रा कसरी एकैचोटि मार्न सक्छ’ रमेशले भने । घटना थाहा पाए लगत्तै प्रहरी र स्थानीय जनप्रतिनिधिलाई खबर गरेपछि प्रहरीले घटनास्थलको मुचुल्का उठाएको बस्ताकोटीले बताए ।

तपाईको प्रतिक्रिया