मुस्ताङमा जलवायु परिवर्तनको असर

समाधान संवाददाता २०७६ वैशाख २६ गते १२:३९

समाधान संवाददाता, जोमसोम

पछिल्लो समय मुस्ताङको तापक्रम वृद्धि हुन थालेको छ । जलवायु परिवर्तनकै कारण वातावरण असन्तुलित भई विभिन्न प्रकारका प्रकोप देखिएका छन् । हिमालको सौन्दर्य बिग्रन थालेको छ । कृषि व्यवसाय पनि संकटमा पर्ने डर देखिएको छ ।

१ दशकदेखि मुस्ताङमा पनि जलवायु परिवर्तनको असर महसुस गर्न थालिएको हो । ५ वर्षअघि बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको तिरी गाउँमा हिमताल फुट्दा केही घर विस्थापित भए भने थुप्रै चौपाया मरे ।

Advertisement

लोघेकरको ध्येमा पानीको मुहान सुक्दा गाउँ नै विस्थापित भयो । कालिगण्डकी करिडोर छेउछाउका बस्तीहरु डुबानको जोखिममा छन् । यस वर्ष बेमौसी हिउँ पर्दा उपल्लो मुस्ताङमा ठूलो संख्यामा चौपाया मरे ।

तापक्रम बढेकाले हिमालहरु संकटमा पर्न थालेको घरपझोङ गाउँपालिकाकी महिला सदस्य भुवन शेरचनले बताइन् । जलवायु परिवर्तनकै कारण मुस्ताङमा धेरै परिवर्तन देखिन थालेको जनहित मावि जोमसोमका प्रधानाध्यापक रामचन्द्र अधिकारी बताउँछन् ।

Advertisement

१५ वर्षको मुस्ताङ बसाइका क्रममा आफूले कहिल्यै पानी पर्ने अनुभव नगरेको तर केही वर्षयता भारी वर्षा हुन थालेको सुनाए । मुस्ताङमा २२ वर्षदेखि कार्यरत घरपझोङ गाउँपालिकाका कार्यालय सहयोगी विष्णु पौडेल पहिले र अहिलेको वातावरण प्रतिकूल बन्दै गएको बताउँछन् ।

उनले मुस्ताङमा गर्मीको मात्रा वृद्धि भएको अनुभव सुनाए । घरपझोङ गाउँपालिका ५ ठिनीकी महिला अगुवा जमुना थकालीले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न वृक्षरोपण तथा फोहोरमैला व्यवस्थापन गर्नुपर्नेमा जोड दिइन् ।

तपाईको प्रतिक्रिया