दुबइको सीपबाट गाउँमै बाख्रापालन

समाधान संवाददाता २०७६ वैशाख २६ गते १३:५८

सुशील सुवेदी
स्याङजा

पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएर व्यवासायीक कृषी पेशामा आबद्ध हुने बढेका छन् । भीरकोट नगरपालिका ३ रानीडाँडाका ४० वर्षीय केशरजंग अधिकारी पनि यही समूहमा पर्छन् । ७ वर्ष दुबईमा पसिना बगाएर फर्किएका उनी अहिले नेपालमै रमाएका छन् ।

अधिकारी भन्छन् , ‘दुबईमा हुँदा दुबो खुवाएर व्यावसायीक बाख्रापालन गरेको देखें, खेर गएको दुबोको महत्व त्यहाँ बुझेपछि जन्मभूमीमा पसिना बगाउने अठोट गरेर नेपाल फर्कें ।’

Advertisement

विदेशमा बोटमा नै पैसा फल्छ भन्ने समाजमा स्वदेश फर्किएर बाख्रापालनमा लाग्दा सुरुमा उनलाई मगज बिग्रिएको भन्नेहरु पनि भेटिए । पछि विस्तारै समाज सकारात्मक बन्दै गयो । ‘अहिले त फोनमा अर्डर आउँछ । विदेशमा भन्दा स्वदेशमा पैसा बचाएको छु , त्यो पनि परिवारसँग रमाएर,’ उनले भने ।

बाख्रा पाल्नका लागि खोर निर्माण गर्नुभन्दा पहिले काठमाडौंको बाख्रा अनुसन्धान केन्द्र लगायत जिल्ला पशु कार्यालय, पशु सेवा केन्द्रबाट उनले परामर्श लिएका थिए । अधिकारीले आफ्नै गाउँमा २८ रोपनी जग्गा किनेर खोर निर्माण गरे । ०७१ सालमा लेकाली बाख्रा फार्म दर्ता गर्दा १८ वटा बाख्रा थिए ।

Advertisement

बाख्रापालन गर्नुभन्दा पहिले घाँसको व्यवस्थापन गर्न सके निकै सजिलो हुने उनको अनुभव छ । ५० वटा बाख्रा पाल्दा वार्षिक ४ लाख कमाउन सकिने उनले बताए । यसबाहेक करिब ७० हजारको उनी मल बिक्री गर्छन् । उनले ५ रोपनी जग्गामा नेपियर, भटमासे, मण्डेला लगायत जातको घाँस खेती गरेका छन् ।

झोलामा फर्म बोकेर अनुदान प्राप्त गर्ने दिन अन्त्य भएको उनी बताउँछन् । उनले फर्म सञ्चालन गरेको ५ वर्षमा नै गण्डकी प्रदेश सरकारबाट २ लाख ५० हजार अनुदान प्राप्त गरेका छन् । जिल्ला घरेलु विकास कार्यालयबाट कम्बाइन मिल, बोका खरिदका लागि ५० हजार, चापकटर लगायतका सामग्री एवं अनुदानमा प्राप्त गर्दा उनी उत्साहित छन् ।

नमुना बाख्रा गाउँ स्याङ्जाका सदस्यसमेत रहेका अधिकारी भन्छन् , ‘वैदेशिक रोजगारबाट फर्किएका कृषकलाई हरेक वर्ष प्राविधिक ज्ञान नमुना बाख्रा गाउँले प्रदान गर्छ । साच्चैका किसानले ज्ञान पाएपछि झोले किसान आफैं पाखा लाग्छन् ।’ स्याङ्जामा खसी बोका पाल्ने १ सय ३५ बढी फर्म दर्ता भएका छन् ।

तपाईको प्रतिक्रिया