३ दिनसम्म भारतसँग जाेडिएका सीमा नाका बन्द हुने

समाधान संवाददाता २०७६ वैशाख २६ गते १४:५०

समाधान संवाददाता, काठमाडाैं

नेपालसँग सीमाना जोडिएका भारतका विभिन्न जिल्लाहरूमा हुन लागेको निर्वाचनलाई लक्षित गर्दै सीमा नाकाहरू बन्द गरिने भएको छ ।

भारतमा हुन लागेको निर्वाचनको सुरक्षाबारे दुई देशका सुरक्षा अधिकारीहरूको बैठक बसी निर्वाचनको अघिल्लो दिनदेखि निर्वाचनको दिनसम्म र सीमा नाका बन्द गर्ने निर्णय गरिएको बताइएको छ ।

Advertisement

सोही अनुरूप भारतको उत्तरप्रदेशको सिद्धार्थनगरको सीमाना जोडिएको कपिलवस्तुमा शुक्रबार बिहान ७ बजेदेखि आइतबार साँझ ५ बजेसम्म सीमा नाका बन्द गरिने भएको छ ।

कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालका अनुसार दुई देशका अधिकारीबीच भएको सहमतिअनुसार नाका बन्द गर्न लागिएको हो ।

Advertisement

अर्यालले सूचना प्रकाशित गरी शुक्रबार बिहान ७ बजेदेखि आइतबार साँझ ५ बजेसम्म सीमा नाका बन्द हुने जानकारी दिए । सो क्षेत्रमा शनिबार र आइतबार निर्वाचन हुँदै छ ।

नाका बन्द हुँदा बिरामी बोकेका एम्बुलेन्स र अत्यावश्यक काममा दुवै देशका सुरक्षाकर्मीको समन्वय गरी आवतजावत गर्न भने अनुमति दिइने बताइएको छ ।

रुपन्देही र नवलपरासीका सीमा नाका भने जेठ ३ देखि ५ गते सम्म बन्द हुने छन् । रुपन्देही र नवलपरासीसँग सीमा जोडिएको महाराजगञ्जमा जेठ ४ र ५ गते निर्वाचन हुँदै छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले भारतको महाराजगञ्जमा हुन लागेको निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै दुवै देशका सुरक्षा अधिकारीको बैठकले जेठ ३ गते बिहानदेखि ५ गते साँझसम्म सीमा नाका बन्द गर्ने निर्णय गरिएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया