रतनपाण्डेको ६२ औं वार्षिकोत्सव

समाधान संवाददाता २०७६ वैशाख २७ गते १२:३०

समाधान संवाददाता
पोखरा

Advertisement

रतनपाण्डे मावि आर्वाको ६२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह भएको छ । समारोहमा चन्दादाता, उत्कृष्ट शिक्षक, विद्यार्थी तथा अभिभावकलाई सम्मान गरिएको छ । कार्यक्रमको प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले उद्घाटन गरे । कार्यक्रम उद्घाटनपछि सांसद अधिकारीले समय परिवर्तनसँगै विज्ञान र प्रविधिसँग जोडिएका विषय पढाउनुपर्नेमा जोड दिए । उनले नेपाली माटोमै श्रम र सीप खर्चिने ज्ञान सिकाउन सुझाव दिए ।

पोखरा १३ का अध्यक्ष दर्शन लामाले पोखराको वडा नम्बर १३ नमुना बन्ने अभियानमा अघि बढेको बताए । उनले वडाभरि एउटै शैक्षिक क्यालेन्डर, एउटै प्रश्नपत्रसहितको वार्षिक ४ वटा परीक्षा सञ्चालन हुने जानकारी दिए ।

विद्यालयमा शैक्षिक विकासमा सहयोग पुर्‍याउने चन्दादाता कृष्णकुमारी बराल र उनका पति कृष्णराज बराललाई सांसद अधिकारीले सम्मान गरे । बरालले ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ दान दिएका थिए ।

सिर्जनाचोकका विष्णु भण्डारीले २ लाख चन्दा प्रदान गरे । नमराज बराल, स्व. तुलसीदेवी बरालको परिवार, राजु सुनार, दिवाकर बराल र उनका बाबु कृष्णप्रसाद बरालले १÷१ लाख रुपैयाँ चन्दा दिएका छन् । हालसम्म करिब २० लाख रुपैयाँ संकलन भएको बताउँदै चन्दा अभियान आगामी दसैँसम्म चल्ने विद्यालय व्यवस्थापन समिति अध्यक्ष वसन्तराज बरालले जानकारी दिए ।

Advertisement

२ वर्ष अघि ७२ जना विद्यार्थी भएको विद्यालयमा अहिले ३१० जना विद्यार्थी छन् । विद्यार्थी सुविधालाई मध्यनजर गरी यही शैक्षिक सत्रबाट सञ्चालन हुने स्कूल बसको सांसद अधिकारीले उद्घाटन गरे ।

विद्यालय प्रअ डिल्लीराम बरालले शैक्षिक सत्र २०७५÷०७६ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे । उनले आगामी शैक्षिक सत्रमा १ सय विद्यार्थी थप गर्र्ने र यसै वर्षदेखि कक्षा ११ मा व्यवस्थापन संकायमा अध्यापन हुने जानकारी दिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष वसन्तराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा भूपू विद्यार्थी मञ्च अध्यक्ष श्रीनाथ बराल, आजीवन सल्लाहकार तोयनाथ बराल, शिक्षक महासंघ कास्की सहअध्यक्ष महेन्द्रमणि पौडेल, भद्रकाली मावि प्रअ घनश्याम रिजाल लगायतले बोलेका थिए ।

यसैबीच वर्ष शिक्षकबाट सुनीता बराल, वर्ष अभिभावकबाट विष्णुमाया पौडेल बराल, वर्ष विद्यार्थी विनीता भुजेल र एसइई उत्कृष्ट विद्यार्थी संगम सुनारलाई सम्मान गरिएको छ ।

तपाईको प्रतिक्रिया