कर्मयोगी पृथ्वीनारायण शाह र एकीकरण

समाधान संवाददाता २०७६ वैशाख २७ गते १२:४४

राजेन्द्र भण्डारी

Advertisement

भनिन्छ, ‘महान व्यक्ति सधैं जन्मदैन, बरु समयले कहिलेकाहीं जन्माउँछ’ ठीक त्यसै गरी गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावती देवीको कोखबाट कुलदीपकको रुपमा पृथ्वीनारायण शाहको जन्म भयो ।

उनको जन्मसँगै उनलाई दरबारी सुख सयल र विलासी जीवनबाट टाढा राखी नैतिकवान, धर्मप्राण, आदर्श विचारवान्, परिश्रमी, लगनशील र दृढ प्रतिज्ञा हुने किसिमको शिक्षा प्रदान गरी उनलाई निखार्ने काम उनकी जेठी आमा चन्द्रप्रभावतीबाट भएको थियो । उनी बाल्यकालदेखि नै अत्यन्तै शूरवीर, तेजवीर, बुद्धिमान तथा मेहनती थिए ।

Advertisement

उनी नरभूपाल शाहको मृत्युपश्चात विसं १७९९ मा राजा भए । एक कर्मयोगीले कर्तव्य पूरा गर्दै विसं १८३१ माघ १ गते नुवाकोटको देवीघाटमा करिब ५२ वर्षको उमेरमा चिर समाधी प्राप्त गरे । उनको पहिलो विवाह मकवानपुरकी राजकुमारी इन्द्रकुमारीसँग भएको थियो भने दोस्रो विवाह वनारसकी राजपुत अभिमानसिंहकी छोरी नरेन्द्रलक्ष्मीसँग भएको थियो ।

उनका २ छोरा प्रताप सिंह र बहादुर शाह थिए । नेपालको इतिहासमा करिब ३० वर्ष शासन गरेका राजा पृथ्वीनारायण शाहले सुसंगठित र सुदृढ नेपालको बिहानी आफ्ना उत्तराधिकारीमा हस्तान्तरण गरे ।

Advertisement

एकीकरण अघिको नेपाल
नेपालको अस्तित्व एक स्वतन्त्र राज्यको रुपमा प्राचीन कालदेखि नै कायम भएको देखिन्छ । प्राचीन कालदेखि वर्तमानसम्म भौगोलिक स्वरुपमा भने एकरुपता देखिँदैन । इतिहासको कुनै कालखण्डमा विस्तृत स्वरुपमा फैलिएको र कुनै समयमा खुम्चिएको देखिन्छ । लिच्छिविकालमा नेपालको प्रामाणिक क्षेत्रफल उपलब्ध भएको देखिँदैन ।

यक्ष मल्लको शासनकालमा नेपालको सीमाना मौरकादेखि पाल्पा शिकारजंग र गंगासम्म फैलिएको देखिन्छ । यक्ष मल्लको पतनसँगै नेपालको अस्तित्वमा विखण्डनको प्रक्रिया आरम्भ भएको देखिन्छ । १५ औं शताब्दीको प्रथम दशकतिर कर्णाली क्षेत्रमा बाइसी राज्य, गण्डकी क्षेत्रमा चौबिसी राज्य र १८ औं शताब्दीसम्म आइपुग्दा बाइसी, चौबिसी, सेनसहित उपत्यकामा ३ राज्य साथै पूर्वी क्षेत्रमा विजयपुर, चौदण्डी र मकवानपुर गरी ५४ राज्य रहन पुगे । परीणामस्वरुप पृथ्वीनारायण शाहको उदयको बेलामा नेपालमा ५४ राज्य अस्तित्वमा थिए ।
एकीकरणको आवश्यकता

१८ औं शताब्दीको मध्यभागसम्म आइपुग्दा लिच्छिविकालको जस्तो नेपाल थिएन । एकातिर कर्णाली, बाइसी राज्य, गण्डकी प्रदेशमा चौबिसी राज्यका बीचको आपसी प्रतिस्पर्धाका लागि चल्दै आएको संघर्षले देशको उद्योग व्यापार खेतीपाती आदिलाई नोक्सान पुर्‍याएको थियो र उपत्यकामा शासन गर्ने एकै वंशका राजा ३ राज्यमा विभाजित भई एक अर्कोलाई दबाउन, सिध्याउन र समाप्त पार्ने खेलमा लागेर अराजकता फैलाउने कार्यमा संलग्न थिए । अर्कोतर्फ दक्षिणतर्फ कहिल्यै सूर्य अस्त नहुने देशको रुपमा चिनिएको बेलायत सरकारले अधिकार जमाउँदै आएको थियो ।

नेपालको हरियाली, सुन्दरता र खानीमा उनीहरुको आँखा गढिसकेको थियो । व्यापारको निहुँमा धर्म र स्रोत साधनमाथि जर्बजस्ती प्रभाव फैलाउन खोजेका देखिन्छ । अनादिकालदेखि रहँदै आएको हाम्रा सनातन सांस्कृतिक, धार्मिक, जातीय, भाषिक एकताका धरोहरमाथि नै संकटको बादल मडारिन लागेका थियो । हाम्रा अनुपम स्रोत र साधनको अधिकारलाई जोगाउनु परेको थियो ।

नेपालको स्वतन्त्र अस्तित्व कायम रहने वा नरहने, हाम्रा आस्था र विश्वासका धरोहर जोगिने वा नजोगिने साथै प्रकृतिका अनुपम स्रोतसाधन सुरक्षित हुने वा नहुने साथै दास भएर बस्ने वा स्वतन्त्र भएर बाँच्ने विषम परिस्थितिका बीचबाट एकीकरणको यात्राको सीमांकन गर्ने काम गोर्खा राज्यको अगुवाइमा पृथ्वीनारायण शाहले गरेका थिए ।

जुन बेला इटाली, जर्मनी र बेलायतको एकीकरण भएको थिएन, त्यस समयमा नेपाल एकीकरणको महान अभियानको नेतृत्व लिनु, त्यसलाई एउटा गन्तव्यसम्म पु¥याउन मृत्युपर्यन्त समर्पित हुनु आफैंमा एउटा कठिन, दुरदर्शी र साहसिक कार्यमात्र नभई तत्कालीन समय र परिस्थितिको उपजको साथै भविष्यको आवश्यकता रुपमा लिन सकिन्छ ।

एकीकरण प्रारम्भ
मकवानपुर ससुरालीबाट फर्कदा चन्द्रागिरीको उकालीबाट पहिलोपटक उपत्यकाको मनोरम दृश्यलाई देखेर पृथ्वीनारायण शाहको मनमा उपत्यका विजय प्राप्त गर्ने इच्छा जागेको, तत्कालीन बाह्य आवश्यकता र आफ्ना बुबाको हारको बदला लिन विसं १८०० मा नुवाकोटमाथि आक्रमण गरेर नेपालको एकीकरण अभियानको थालनी पृथ्वीनारायण शाहले गरेका थिए ।

हारलाई शक्तिको रुपमा लिई, विकेन्द्रित सैनिक शक्तिलाई एकीकृत बनाउँदै, आर्थिक र कूटनीतिक सुदृढीकरण गर्दै उनले हरेक चुनौतीका विकटभन्दा विकट पहाडलाई चिरेका थिए । विसं १८०१ मा नुवाकोट विजय गरेपछि प्रारम्भ भएको नेपाल एकीकरण अभियानको खाँडो कीर्तिपुर, मकवानपुर, कान्तिपुर, पाटन, भक्तपुर, पूर्व विजय र पश्चिम विजय प्रयास स्वरुप नेपालको सीमानालाई पूर्वमा इलाम र पश्चिम पाल्पा पुगेर रोकिएको थियो ।

गुरगीन खाँनसँगको युद्ध, किनलकको पराजय र अंग्रेजसँगको मित्रतामा समेत सफलता प्राप्त गरी नेपालको एकीकरण गरेका थिए । पश्चिम विजय अभियानमा रहँदा रहँदै अस्वस्थ भई विसं. १८३१ मा देहान्तसँगै पहिलो चरणको नेपाल एकीकरण अभियान समाप्त भएको थियो । निरन्तर परिश्रम, अथक प्रयास, तत्कालीन आवश्यकता, भावना, लडाई, मित्रता, सन्धि, नाकाबन्दी, षड्यन्त्र साथै सम्झौताको जगबाट आधुनिक नेपालको प्रारुप पृथ्वीनारायण शाहले कोरेका थिए ।

एकीकरणको सन्देश
समय र नेपालीको चाहनामा आधुनिक नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाह नेपाल एकीकरण र राज्य विस्तारको बीचमा सामाजिक, सांस्कृतिक र राजनीतिक, जातीय र भाषाका पक्षमा गम्भीर र दूरदर्शी देखिन्छन् । उनले साच्चै नै गोर्खा राज्यको विस्तार गर्न मात्र खोजेका भए गोर्खालाई नै राजधानी बनाई त्यहींबाट नै शासन गर्ने थिए होलान् तर उनले त्यसो गरेनन् ।

उपत्यकामाथि पूर्ण विजय गरिसकेपछि आफ्ना भाइभारदारलाई त्यहाँको प्रमुख बनाएर शासन पनि गर्न सक्थे । उनले त्यसो पनि गरेनन् । जाति, धर्म र भाषाका आधारमा उपत्यकाको सनातनदेखि चल्दै आएको परम्परा, मूल्य र मान्यतामा कहींकतैबाट धावा पनि बोलेनन् र हस्तक्षेप पनि गरेनन् बरु उपत्यका विजयपश्चात सर्वप्रथम ज्यँुदादेवी कुमारीको दर्शन गरी समग्र उपत्यकावासीको आस्था र विश्वासमाथि सद्भाव प्रकट गरेका थिए ।

साथै त्यसबेला उपत्यकावासीले प्रयोग गर्दै आएको झण्डालाई राष्ट्रिय झण्डाको मान्यता प्रदान गरी राष्ट्रिय एकताको भावनलाई अझै बलियो बनाउँदै लगेका थिए ।

यसरी इतिहासले उनलाई राष्ट्र निर्माता र एकीकरणकर्ता राष्ट्रिय विभूतिको रुपमा चित्रण गरिएको देखिन्छ । एकीकरण अभियानले राष्ट्र र राष्ट्रियतालाई सुदृढ बनाउनुको साथै सिंगो राष्ट्र बन्नु, विदेशी राष्ट्रसँगको सम्बन्धमा सुधार, विदेशी चलखेल रोकिनु, बाह्य हस्तक्षेप नियन्त्रण हुनु, सुशासन कायम, समाज सुधारका क्षेत्रमा टेवा पुग्नु, राज्य सञ्चालनमा जनताको पहुँच र सहभागितामा वृद्धि हुनुको साथै जनताको राय र सुझावबाट शासन चल्ने कार्यको थालनी भएको देखिन्छ ।

धैर्य र साहसका साथ योजनाबद्ध ढंगबाट मिहिनेत गरी लागेमा लक्ष्यमा पुग्न सकिन्छ भन्ने कुरा एकीकरण अभियानका आरोह र अवरोहले वर्तमान र भविष्यलाई प्रेरणासमेत दिन्छ ।

दिव्योपदेश
करिब ३४ वर्षको निरन्तर परिश्रमले निर्माण गरेको नेपाल, राज्य संगठन र स्थायित्वको चिन्ता र कमजोर हुँदै गएको शारीरिक अवस्थाको कारणले पृथ्वीनारयण शाहले आफ्नो जीवनको अन्त्यतिर विसं १८३१ मा नुवाकोटमा सबै भारदारलाई बोलाइ २÷३ दिनसम्म आफू युवराज भएको अवस्थादेखि किरातमाथि गरिएको दखल, समग्र नेपालको भू–राजनीतिक अवस्था, राष्ट्रियता, सामाजिक जीवन, प्रतिरक्षा र विकासका सन्दर्भमा नेपाल २ ढुंगाबीचको तरुल जस्तो रहेछ, दक्षिणका वादशाह महा चतुर छ । जाइ कटक नगर्नु, झिकी कटक गर्नु, नेपाल ४ वर्ण ३६ जातको फूलबारी भन्ने अभिव्यक्ति दिव्योपदेशमार्फत दिएका थिए ।

दिव्योपदेशमा व्यक्त गरिएका अभिव्यक्तिलाई मनन गर्दा उनलाई केवल नेपाल एकीकरणकर्ताको रुपमा मात्र सीमित राख्न सकिन्न । उनका मृत्युपर्यन्त व्यक्त गरिएका ती उद्गार तत्कालीन राज्य र राष्ट्रियताको सवाल र वर्तमान भू–मण्डलीकरणको युगमा समेत उत्तिकै सान्र्दभिक देखिन्छ ।

राज्य र राष्ट्रियताका बृहत्तर विकासमा ती महत्वपूर्ण वाणीलाई राज्य सञ्चालन गर्ने हाम्रा जनप्रतिनिधिले यसलाई बुझेर मुलक सञ्चालन गर्न सकेमा साँच्चै नै नेपाल र नेपालीको भविष्य उज्ज्वल हुने थियो । दुर्भाग्य हाम्रा जनप्रतिधिले यसको प्रयोग गर्न सकिरहेका छैनन् ।

पृथ्वीनारायण शाह इतिहासका मूर्त पात्र र हाम्रा स्वाभिमानी पुर्खा पनि हुन् भन्ने कुरालाई स्मरण गर्न जरुरी छ । उनको समग्र जीवनको कालखण्डको पक्ष विपक्षमा कुरा गर्नुभन्दा हामीलाई कहिल्यै नझुकेको, कहिल्यै बन्धक नबनेको, पवित्र सिंगो राष्ट्र सुम्पेर गए र हजाराैं विशाल सपना दिएर गए भन्ने कुराको मनन जरुरी छ ।

राज्य सञ्चालनका क्रममा उनले देखाएका र उठाएका सकारात्मक साथै दूरगामी निर्णयलाई संवेदनशील तबरबाट मुलुकको राष्ट्रिय अखण्डता, सामाजिक एकता र आर्थिक समृद्धिको यात्रामा जोड्न आवश्यक छ । ताकी कमीकमजोरीका नाममा आफ्ना गौरवमय इतिहासका पानामा अंकित गाथालाई च्यात्नु बुद्धिमता हुन सक्दैन । पर्सियाबाट जर्मनी साम्राज्यको उदय, सर्दिनियाबाट इटालीको उत्पत्ति र ब्रेसेक्सबाट ब्रिटेनको निर्माण हुन सक्छ भने सानो राज्य गोर्खाबाट पृथ्वीनारायण शाहले विशाल नेपालको उदय गराएका हुन भन्ने कुरा भविष्यलाई बताउँदै हामी नेपाली हौ यही हाम्रो पहिचान हो ।

हाम्रा वास्तविक वीर र वीरंगानाहरु तिनै हुन् जसले आज हाम्रा लागि यो सुन्दर देश दिएर गए भन्ने कुरा वर्तमानलाई समेत बताउन सक्नुपर्छ । पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेका हुन् वा राज्य विस्तार गरेका हुन् भन्ने कुरामा विवादका शृंखला सिर्जना गरी जे–जस्तो अवस्था र परिस्थितिमा करिब ३ सय वर्ष अगाडि प्रतिकूल अवस्थालाई कुनै वास्ता नगरिकन गरिएको इमानदारी प्रयास र योगदानको भूमिमा निर्मित स्वतन्त्र र सार्वभौम सम्पन्न राष्ट्र आज राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपाल नामले चिनिएको छ । हामी सबै मिली नेपालको अटल स्वाभिमान र स्वर्णीम अभिमानको सौर्यलाई जोगाउँदैं समृद्धिको यात्रामा एकजुट हौं । यही आजको आवश्यकता हो ।

तपाईको प्रतिक्रिया