गाउँमै काम, मनग्य दाम

समाधान संवाददाता २०७६ वैशाख २७ गते १३:०७

कुखुरा र्फममा काम गर्दै रसिला शाही

राकेश शर्मा
म्याग्दी

बेनी नगरपालिका ५ कुमाल्डीका अनुमान बानियाँ १४ वर्ष विदेश बसे तर विदेशमा भने जस्तो कमाइ भएन । निराश भएर नेपाल आए । उनलाई छोराछोरीको शैक्षिक खर्च, घरखर्च चलाउनसमेत गाह्रो भयो ।

Advertisement

उनले हिक्मत हारेनन् । आफ्नै बारीमा तरकारी खेती सुरु गरे । उनी अहिले वार्षिक ४ लाख आम्दानी गर्छन् । उनले गाउँमै माछा, तरकारी र भैसी पालेका छन् । बिहानदेखि बेलुकसम्म काममा नै व्यस्त हुन्छन् । ‘मैले १४ वर्ष बिना उपलब्धि खेर फालेको रहेछु,’ उनले भने, ‘अर्काको देश भनेको अर्काको देश रहेछ, त्यहाँ गर्ने दुःख यहाँ गर्ने हो भने त्यहाँभन्दा बढी पैसा कमाउन सकिन्छ ।

बानियाँमात्र होइन, उनका छोरासमेत खेतीमै लागेका छन् । ‘१२ को परीक्षा दिएर बसेका बेला बाबाले कुखुरा पाल्ने भन्नुभयो, कुखुरा हालेर अहिले घरमा बाबासंगै काम गरेको छु’, सञ्जनले भने । उनले साथी विदेश गए पनि गाउँमै केही गर्ने अठोट सुनाए ।

Advertisement

कुमाल्डीमा रिया पोल्टी फर्म सञ्चालन गरेर रशिला शाही बानियाँ पनि स्वावलम्बी भएकी छन् । ‘१ वर्षदेखि कुखुरा पालेर बसेको छु, राम्रै कमाइ भएको छ’, उनले भनिन्, ‘कुखुरा पालन गरेर नै छोराछोरीको विद्यालयको फिसमेत तिर्ने गरेको छु । उनका श्रीमान् विदेश छन् । नजिकैको सहकारीमा काम, खेतीपाती, भैसी, कुखुरा सबै उनले घरव्यवहार एक्लै धानेकी छिन् । पछिल्लो समय कुमाल्डीमा कृषिमा लाग्ने बढेका छन् । आँगनसम्मसडक पुगेपछि गाउँको उत्पादने बजार पाएको छ ।

तपाईको प्रतिक्रिया