झोलुंगे पुल प्रयोगमा समस्या

समाधान संवाददाता २०७६ वैशाख २७ गते १३:१६

समाधान संवाददाता, पर्वत

पर्वतमा अग्ला र लामा पुल बने पछि पुराना पुल प्रयोगमा आएका छैनन् । मोदीखोला, मल्याङ्दीखोला, कालीगण्डकी, चिर्दीखोला, लुङदीखोला र पैयुँखोलाका झोलुङ्गे पुल प्रयोगविहिन बनेका हुन् ।

लाखौं खर्चिएर निर्माण भएका पुल अहिले अलपत्र जस्तै छन् । २०६६ सालमा सदरमुकाम कुश्मालाई ज्ञाँदी क्षेत्रसँग जोड्ने गरी ३ सय ४४ मिटर लामो पुल बनेपछि मोदीबेणीका २ र झाँप्रे बगरको १ पुल प्रयोगमा छैन ।

Advertisement

कुर्घालाई फलेवास जोड्ने गरी ३ वर्ष अघि लामो पुल बनेपछि चिर्दीखोलाको पुल प्रयोगविहिन बन्न पुगेको हो । मल्याङ्दीखोलामा पक्की पुल बनेपछि बगुवाको पुल प्रयोगमा आएको छैन । कालीगण्डकीमाथि ३ सय ४७ मिटर लामो कुश्मा–कैया पुल बनेपछि मोदी र कालीगण्डकीका पुल पनि प्रयोगमा आउन छोडेको हो ।

यता फलेवास, पैयुँ, विहादी, मोदी र जलजला गाउँपालिकामा पनि नयाँनयाँ पुल बनेपछि र मोटरबाटो दैलो दैलोमा पुगेपछि पुराना पुलहरु अलपत्र परेका छन् । पुलमा प्रयोग भएका फलामका लठ्ठा, तार, फलेकहरु कवाडीले चोरी गर्न थालेका छन् । संरक्षणमा कुनै निकायले ध्यान नदिएपछि चोरी हुन थालेको हो ।

Advertisement

कतिपय पुलहरु खिईँदै जाँदा प्रयोग भएका सामग्री काम नलाग्ने भएका छन् । झाप्रे बगरको पुल खिइएर नदीमा लठ्ठा, तार र डेकहरु झरेर बग्ने गरेको स्थानीय दण्डपाणी शर्माले बताए । जलजलास्थित लुङ्दीखोलामै ३ वटा पुल बेकामे छन् ।

प्रयोगकर्ताले पुल प्रयोग गर्न छाडेपछि पुलको अस्तित्व संकटमा परेको धाईरिङका वडाध्यक्ष टुंगनाथ शर्मा बताउँछन् । रतीखोला, जहरेखोला, लमायखोला, कालीगण्डकी, लुङ्दीखोला लगायतका खोला र नदीका पुराना पुलहरु अहिले बेकामे बन्दै गएको जिल्ला समन्वय समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया