योजना छनोटको अधिकार वडालाई दिँदै पोखरा महानगर

समाधान संवाददाता २०७६ वैशाख २९ गते ८:५५

ईश्वर देवकोटा

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६-०७७ को वार्षिक कार्यक्रममा समावेश हुने योजना तथा कार्यक्रम छनोटको जिम्मेवारी वडालाई सुम्पिएको छ ।

चालु वर्षको अन्त्य अगावै सार्वजनिक हुने वार्षिक कार्यक्रममा वडा तहबाट प्राप्त योजना तथा कार्यक्रमलाई प्राथमिकतामा राखी बजेट कार्यक्रम ल्याउने तयारी महानगरले गरेको हो । पोखराका ३३ वटै वडामा आवश्यक र सम्भावित महत्वपूर्ण योजना छनोट गरी पठाउन पत्रमार्फत सर्कुलर गरिसकिएको छ । योजना छनोटका लागि महानगरले फाराम वडामा पठाई योजना लिस्टिङ गर्न आउँदो जेठ १० गतेसम्मलाई समयसीमा तोकिदिएको हो ।

Advertisement

एकल वा बहुवर्षीयसम्मका आयोजना तोक्न वडालाई अधिकार दिइएको महानगरपालिकाका मेयर मानबहादुर जिसीले जानकारी दिए । ‘यसअघि वडाका योजनालाई सिलिङ तोकेर बजेट दिँदा सबै कार्यक्रम प्रभावकारी हुन सकेनन् भन्ने गुनासो सुनियो,’ उनले भने, ‘अबदेखि महानगरले बजेट अनुसारको योजना÷कार्यक्रम नभई, योजना अनुसारको बजेट विनियोजन गर्ने नीति अनुरुप वडालाई महत्व दिने अभ्यास गरिएको हो ।’

वडाबाट छनोट भएर आउने योजना संघ, प्रदेश सरकारसम्मलाई सिफारिस गर्न सकिने रणनीति महानगरको छ । योजनामा बजेट डुप्लिकेसनको समस्याले कतिपय आयोजना कार्यान्वयनमै समस्या देखिरहेको सन्दर्भमा वडाबाट संकलित योजनाको लगतमा आगामी वर्ष त्यस्तो समस्या नदोहो¥याउन सचेतना अपनाइने भएको छ । प्रस्ताव हुने योजनाको पृष्ठभूमि वडाले खुलाई महानगरमा पठाउन निर्देशन दिइएको हो ।

Advertisement

योजनाको कार्यान्वयनका लागि बोलपत्र मार्फत, उपभोक्ता समिति वा सहकारी वा गैरसरकारी मार्फत कसरी कार्यान्वयन गराउने सो उल्लेख गरी प्रस्ताव पठाउन निर्देशन दिइएको मेयर जिसीले जानकारी दिए । उनले भने, ‘छनोट हुने योजनाको लागत स्टिमेट गरेर पठाउन भनेका छौं, त्यसमा बहुवर्षीय प्रणालीमा सम्पन्न गर्न सकिने योजनासमेत पठाउन सक्नेछन् ।’

चालु वार्षिक कार्यक्रममा सामान्यतया एउटा वडामा १ देखि डेढ करोडसम्मको योजना अनुसारको बजेट विनियोजन भएको थियो । सिलिङ तोकेर बनाइएका योजनाले समग्र महानगरकै विकासमा गति नलिएको महसुस भएपछि वडाका प्राथमिकतालाई ध्यान दिँदै यस्तो अभ्यास गरिएको मेयर जिसीले बताए । सार्वजनिक हुने बजेटमा योजनाले माग गरेअनुसारको बजेट प्राप्त हुने सक्ने संकेत देखिएको छ ।

प्रचलनमा रहेको अभ्यास अत्यन्तै परम्परागत भएकाले वडाध्यक्ष नै फाइल बोकेर दिनहुँ महानगर धाउनुपर्ने अवस्थाको अन्त्य गर्न पनि यस्तो नीति अपनाइएको मेयर जिसीको भनाइ छ । ‘आगामी वर्षको बजेटमा समावेश हुनुपर्ने योजना माग गरिसकेकाले, जति समेटिन्छन् त्यति कार्यान्वयनमा जान्छन् । छुटेकालाई वर्ष दिन नै पर्खनुपर्ने हुन्छ । त्यसपछिको आगामी वर्षमा त्यस्ता योजना वडाबाट नै समावेश हुनेछन्,’ मेयर जिसीले भने । सानातिना योजनासहित समग्र सबै आयोजना वडाबाटै प्राप्त हुने हुँदा जनताका गुनासा र आवश्यकता उक्त योजनामै समावेश हुने मेयर जिसीले विश्वास व्यक्त गरे ।

योजना छनोटका लागि महानगरले खाका कोरेको छ । जसमा पूर्वाधार निर्माण अन्तर्गत सडक निर्माण तथा मर्मत, ढल तथा नाली निर्माण, पुल तथा झोलुङ्गे पुल निर्माण, भवन निर्माणका कामका योजना छन् । पूर्वाधार अन्तर्गत नै सार्वजनिक निजी साझेदारी सहमतिमा गर्न सकिने योजना पनि प्रस्ताव गर्न भनिएको छ । ५०-५० को अवधारणमा सञ्चालन हुने ‘हामी बनाउँछौ हाम्रो नगर’ कार्यक्रमलाई समावेश छ ।

सामाजिक विकास तर्फ स्वास्थ्य, शिक्षा, खानेपानीलाई महत्वका साथ राख्न भनिएको छ । आर्थिक विकासतर्फ कृषि, पशु, संस्कृति तथा पर्यटन प्रमुख आधार हुनेछन् ।
वातावरण योजना अन्तर्गत पार्क, खुला क्षेत्र संरक्षण तथा सार्वजनिक जग्गा संरक्षणका लागि समेत योजना बनाउन वडालाई आग्रह गरिएको छ । चौतारो तथा पोखरी संरक्षण, जल प्रकोप तथा बस्ती संरक्षणमा समेत वडाले काम थाल्न सक्नेछन् ।

सुशासन तथा संस्थागत सेवा प्रवाहमा छरितोपना ल्याउन सूचना तथा प्रविधिको कार्यक्रम प्रस्ताव गर्न भनिएको छ । क्षणिक वा दूरगामी महत्वका योजना महानगरमा समावेश गराउन वडाले प्रस्ताव लेखी पठाउनुपर्नेछ । त्यस्ता योजनालाई महानगरले समग्र मूल्यांकन पश्चात्त वार्षिक कार्यनीतिमा समावेश गर्ने तयारी थालिएको हो ।

वडा नम्बर २१ का अध्यक्ष खगराज आचार्यले वडाबाट योजना माग्ने अभ्यासले आगामी वर्ष बन्ने वार्षिक कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे । उनले भने, ‘एउटै योजना करौडौंका हुन्छन्, वडालाई निश्चित बजेट तोकिदिँदा भइरहेको अड्चन हट्ने अपेक्षा छ ।’

योजना छनोटसहित लागत स्टिमेट विवरण पनि पठाउनु पर्ने हुँदा समयसीमा अपुग भएको उनले बताए । एक इन्जिनियरले ३ वटासम्म वडा हेर्नुपर्ने हुँदा समावेश गर्नुपर्ने बग्रेती योजना सबैको लागत स्टिमेट गर्न समय नपुग्ने वडाध्यक्ष आचार्यको भनाइ छ । पहिलोपटक महानगरले थालेको अभ्यासले वडाका जनप्रतिनिधिहरुको कार्यदक्षता मूल्यांकन समेत हुने हुँदा गम्भीर भएर योजना निर्माणको प्रक्रियामा लागिपरेको अध्यक्ष आचार्यले जानकारी दिए ।

तपाईको प्रतिक्रिया