हेम्जामा साढे ५ सयकाे स्वास्थ्य जाँच सित्तैमा

समाधान संवाददाता २०७६ वैशाख २९ गते १४:४६

समाधान संवाददाता
पोखरा

पोखरा २५ हेमजामा स्थित हेमजा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो हेमजाको आयोजना एवं गरिमा विकास बैंक लिमिटेड हेमजा शाखाको सहआयोजना शनिबार भएको शिविरमा ५ सय ५० जनाको सित्तैमा जाँच गरिएको छ । पोखरा सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)पोखराको प्राविधिक सहयोगमा थाइराइड तथा रगतमा हुने खराब बोसो (टिजी) सित्तैमा जाँच गरिएको हो ।

पोखरा २५ का वडाध्यक्ष शोभाखर तिमिल्सिनाले सफल जीवन र समृद्धिका लागि रोगबाट बच्नुपर्ने उल्लेख गरे । वरिष्ठ थाइराइड, मधुमेह तथा हर्मोन रोग विशेषज्ञ डा. तारा कोइरालाले समयमा नै रोगको उपचार गर्नुपर्नेमा जोड दिए । उनले रोग लाग्नुअगावै लाग्ने सम्भावनालाई नै कम गर्न सके खर्च र सास्तीबाट जोगिन सकिने बताए ।

Advertisement

युआरएलले विभिन्न संघ, संस्थासँगको सहकार्यमा गरेको यो ७१ औं शिविर हो । युआरएलका प्रबन्ध निर्देशक ठाकुप्रसाद पन्तले सामाजिक दायित्व वोध गर्दै सर्वसाधारणलाई गुणस्तरीय सेवा सुलभ तवरबाट दिन शिविर आयोजना गरिएको बताए ।

कार्यक्रममा गरिमा विकास बैंक हेमजा शाखाका प्रबन्धक शंकरराज सापकोटा, गरिमा विकास बैंक लिमिटेड पोखराका कलस्टर प्रमुख भोलाप्रसाद तिवारी लगायतले बोलेका थिए ।

Advertisement

हेमजा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष मिनराज तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य कृष्णप्रसाद पौडेलल, उपाध्यक्ष अर्जुन पौडेल र सचिव नारायण बास्तोलाले पनि बोलेका थिए ।

तपाईको प्रतिक्रिया