डोजर चलाएर मेयरको बदनामी, फिर्के उस्तै दुर्घन्धित

समाधान संवाददाता २०७६ वैशाख ३० गते ८:५८

अमृत सुवेदी

पोहोर साल असार १ गते देशभर एउटा समाचार फैलियो । त्यो के थियो भने, ‘पोखराका मेयर मानबहादुर जिसीले डोजर चलाउँदा पत्रकारसहित ५ जना घाइते ।’ फुटट्र्याक शिलान्यासका क्रममा डोजरको अपरेटर बस्ने ठाउँमा बसेर मेयरले उपकरण चलाइदिँदा रेलिङ भाँचियो । पत्रकारसहित शिलान्यास कार्यक्रममा सहभागी घाइतेसमेत भएपछि देशभर चर्चाको विषय बन्यो ।

शिलान्यासअघि मेयर मानबहादुर जिसीको उद्घोष थियो, ‘अब फुटट्र्याक बन्छ । मापदण्डभित्र बनेका संरचना कानुन बमोजिम हट्छ, प्रदूषण रोकिन्छ र फिर्केमा कलकल पानी बग्छ ।’ फुटट्र्याक निर्माण शिलान्यासमा मेयरको डोजरकाण्ड हिट भयो तर फुटट्र्याक निर्माण भने त्यसै अलपत्र बन्न पुग्यो ।

Advertisement

फिर्के खोलामा पैदल मार्ग फुटट्र्याक निर्माण गर्ने अभियानको मेयरले उद्घाटन त गरे तर न फुटट्र्याक निर्माण हुन सक्यो न फिर्केखोला नै संरक्षण हुन सकेको छ । पैदलमार्ग, रिटेलिङ र फिर्के संरक्षण गर्ने नाममा केही दिन डोजर लगाएर छोडियो । पैदलमार्ग बनाउने नाममा केही दिन डोजर लगाउँदा निकालिएको माटो अव्यस्थित फालिएको छ । जुन माटो पानीले बगाएर फिर्के हुँदै फेवा तालसम्मै पुगेको छ ।

‘मेयर साब कामको परिणाम दिने गरी योजना बनाएर एक्सनमा जानेभन्दा पनि तत्काल प्रचारमा रमाउनुहुन्छ । फिर्के त्यसैको एउटा उदाहरण हो,’ पोखरा महानगर कार्यपालिका र उनकै नेकपा पार्टीको एक कार्यकर्ताले भने, ‘हचुवाको भरमा शिलान्यास गर्न पुग्दा मेयर आफैं बद्नाम भएका छन् ।

Advertisement

पोखरा–१८ को अँधेरी कुनादेखि, वडा नम्बर ४, ५, हुँदै ड्याम साइडसम्म पैदलमार्ग बनाउने योजना महानगरको थियो । फोहोर र अतिक्रमणको चपेटामा परेको फिर्के खोलाको संरक्षण गर्न र खोलाको तिरैतिर पैदलमार्ग बनाउन महानगरका जनप्रतिनिधि, नागरिक समाज, विभिन्न संघसंस्थाको उपस्थितिमा भव्य रुपमा उद्घाटन गरिएको थियो । तर, अहिले त्यही फिर्केबाट ढल र फोहोर फेवाताल मिसिइरहेको छ ।

फिर्के खोलाको मापदण्डभित्र उद्योगी, व्यवसायीदेखि संघ, संस्था, सरकारी कार्यालय र राजनीतिक दलका नेताका घर तथा संरचनासमेत बनेका छन् । फिर्के खोलाको मापदण्ड लागु गर्दा र पैदलमार्ग निर्माण गर्न डोजर लगाउँदा अप्ठेरो पर्ने भएकाले मेयर जिसीले योजनलाई अगाडि नबढाएको स्थानीयको आरोप छ ।

देशैभरि चर्चा भएको फिर्के संरक्षणको यो अभियानले महानगर र जनप्रतिनिधिलाई नै कुरीकुरी गरिरहेको नागरिक समाजका रामबहादुर पौडेल बताउँछन् । ‘मेयरसाबको डोजर काण्ड देशैभरि हिट भयो तर काम भने तुह्यो । त्यसका पछाडि विभिन्न कारण छन् । एक त मेयर दीर्घकालीन सोचेर एक्सनमा जाँदैनन्, दोस्रो, उनले रिक्स र दबाब खेप्न सक्दैनन्,’ समाजका अध्यक्ष पौडेलले भने ।

त्यसअघि पैदल मार्ग बनाउने भन्दै महानगरले फिर्केको वारीपारी रेखांकनसमेत गरेको थियो । फिर्केको दायाँबाँया ५ मिटर राइट अफ वे मानेर रेखांकन गर्दा १ सय ९२ भन्दा बढी संरचना मापदण्ड विपरीत बनेको प्रतिवेदनमा छ । इन्जिनियर महेन्द्र गोदारको संयोजकत्वको टोलीले रेखांकन गरेर प्रतिवेदन निकालेको थियो ।

फिर्केको मापदण्डअनुसार १० मिटर हुनुपर्ने थियो । तर, ५ मिटरभित्रका संरचनामा मात्र रेखांकन गरेर प्रतिवेदन बुझाएका थिए । १० मिटरभित्र कनेको संरचनामा रेखांकन गर्ने हो भने झन्डै दोब्बर संरचना पर्ने रेखांकनमा खटिएका प्रविधिककै भनाइ थियो ।

महानगरका इन्जिनियर महेन्द्र गोदारको संयोजकत्व गठन भएको समितिले १५ दिन लगाएर रेखांकनपछि बुझाएको थियो । समितिको प्रतिवेदनपछि मेयर जिसीले फिर्के मापदण्डभित्रका संरचना भत्काउने बताएका थिए ।

मेयर जिसीले भनेका थिए, ‘फिर्के खोलाको क्षेत्रफल कति हो, मापदण्ड पालना छ कि छैन, मिचेको हो भने कसले कति मिचेको हो भन्ने पत्ता लगाएर नमिचेकालाई धन्यवादसहित बधाइ र मिचेकालाई बिदाइ गरिन्छ ।’ तर, मेयरको भनाइअनुसार न कसैले धन्यवाद पाए न फिर्के मिच्नेको बिदाइ ।

‘फिर्के मापदण्डभित्रका संरचना भत्काउने गफ त मेयर दिए । तर, मापदण्डभित्र सबै अवैध रुपमा बनेका संरचनामात्र थिएनन्, लालपुर्जा भएका जग्गा पनि छन् । त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने नहरी मेयरले हचुवामा भाषण ठोके,’ पोखरा ८ का देवेन्द्र बास्तोलाले भने, ‘अहिले पोखराका मेयर भन्नेबित्तिकै डोजर काण्ड सम्झन्छन् तर फिर्केको हालत झन् खराब बन्यो ।’

फिर्केखोला संरक्षण र पैदल मार्ग निर्माणका लागि १ करोड ६० लाख रुपैयाँ छुट्याइएकोमा ३० लाख रुपैयाँ खर्च गर्ने महानगरले बताएको थियो । यस्तै अभियान ६ वर्षअघि पनि तत्कालीन पोखरा उपमहागरपालिकाले थालेको थियो । जनप्रतिनिधि आएपछि काम होला भन्ने धेरैको विश्वास थियो । यसपालि फिर्के संरक्षण गर्दै पैदलमार्ग मात्रै होइन, साइकल मार्ग पनि बनाउने महानगरको योजना थियो । तर, हचुवाको भरमा चर्चाका लागि थालिने अभियान कसरी तुहिन्छ र जनप्रतिनिधि कमजोर हुँदा कसरी बदनाममात्र हुन्छन् भन्ने यो एउटा उदाहरण बनेको छ ।

सिद्धार्थ चोक र पस्र्याङ बीचको पुलदेखि बगालेटोल नजिकको पुलसम्म ३ सय मिटरमात्र पैदलमार्ग, रिटेलिङ लगायतका काम गर्न १ करोड ७२ लाख रुपैयाँ अनुमानित गरिएको थियो । जसमा ५ लाख ४५ हजार रुपैयाँ डोजर र सामान्य कामको मात्र खर्च भइसकेको छ भने फिर्केको विषयमा अहिलेसम्म लाखौं रुपैयाँ बालुवाको पानी बनिसकेको महानगरकै एक कर्मचारीले बताए ।

फिर्के अभियान ६ वर्षअघि पनि तत्कालीन पोखरा उपमहागरपालिकाले थालेको थियो । जनप्रतिनिधि आएपछि काम होला भन्ने धेरैको विश्वास स्थानीयमा थियो । यसपाली फिर्के संरक्षण गर्दै पैदलमार्ग मात्रै होइन, साइकल मार्ग पनि बनाउने महानगरको योजना थियो । तर, डोजर काण्ड हल्ला र मेयरको आलोचना सेलाएसँगै यो योजना पनि सेलाएको छ । फिर्केमा अहिले पनि घरदेखि सिधै ट्याइलेटको पाइप पु¥याउन क्रम अझै रोकिएको छैन ।
उपभोक्ता समिति नै झुक्कियो

पोखरा महानगरपालिकाले फिर्केमा पैदलमार्ग खोल्ने बतायो । महानगरकै अगुवाइमा उपभोक्ता समिति गठन भयो र त्यही समितिमार्फत फिर्के पैदलमार्ग खोल्ने कामको शिलान्यास गरिएको थियो ।

उपभोक्ता समितिमार्फत काम गर्दा अनिवार्य रुपमा जनसहभागिताको सुनिश्चित गर्नुपर्छ । तर, महानगरको योजनामा स्थानीयको २० प्रतिशत जनसहभागिता जुट्ने कुरै भएन । ‘महानगरको योजना हो । फिर्केको फुटट्र्याक खोल्ने योजनालाई स्थानीयले कसरी जनसहभागिता जुटाउन सकिन्छ?’ एक स्थानीयले प्रश्न गरे, ‘समुदाय र आफ्नो सुविधासँग नजोडिएको सरकारी कामका लागि कसैले आफ्नै घर भत्किने गरी जनसहभागिता दिन्छ ?’

पैदलमार्ग र रिटेलिङ निर्माणका लागि स्थानीय पुरुषोत्तम पराजुलीको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको थियो । तर, जनसहभागिता जुटाउन नसकेपछि समितिलाई फसाद नै प¥यो । रकम भुक्तानीका लागि समितिले आफ्नै पदाधिकारी र सदस्यको श्रम जोडेर सहभागिता जुटाएको कागजपत्र महानगरपालिकामा पठाएको छ । महानगरले डोजर लगाएको र केही रिटेलिङ गरेको ५ लाख ४५ हजार रुपैयाँ भुक्तानी त दियो तर उपभोक्ता समितिले अझै झन्डै एक लाख रुपैयाँ नपाएको बताएको छ ।
‘सुरुमा हामी नै चुकेछौं । उपभोक्ता समितिमार्फत काम गर्न सकिन्छ भनेर जिम्मा लिइयो तर पछि अप्ठेरोमा परियो,’ उपभोक्ता समितिका अध्यक्ष पुरुषोत्तमले भने, ‘महानगरसँग अझै झन्डै १ लाख रुपैयाँ लिनै बाँकी छ ।’ खोलाको ट्रयाक खोल्ने काम उपभोक्ता समितिमार्फत महानगरले कसरी दियो ? भन्ने कुराले पनि शंका उब्जाएको एक स्थानीयको भनाइ छ ।

मेयर हल्लाको पछाडि दौडिएः वडाध्यक्ष
फिर्के खोलाको योजना दीर्घकालीन रुपमा सम्पन्न गर्न सकिने भए पनि मयर जिसी हल्लाको पछाडि दौडिएको वडाध्यक्षहरुकै भनाइ छ । मेयर मानबहादुर जिसीलाई गलत मनसाय भएका व्यक्तिहरुले प्रयोग गरेको जनप्रतिनिधिकै आरोप छ ।

वडा नम्बर ४ का वडाध्यक्ष शंकर बास्तोला भन्छन्, ‘महानगरलाई राम्रो र विकासको बाटोमा लैजान दिल खोलेर सहयोग गरेका छौं तर मेयरसाबलाई गलत मनसाय भएका मान्छेहरुले प्रयोग गरेर काम हुनै दिँदैनन् ।’

वडाध्यक्ष बास्तोला एउटा एक्सन समूह बनाएर जानुपर्नेमा मेयर जिसी आफैं अगाडि सर्दा योजना बिफल भएको बताउँछन् । ‘फिर्केको समस्या समाधान गर्न मैले सम्बन्धित सबै वडाका अध्यक्ष बोलाएर बैठक राखेर एउटा निचोडपछि एक्सनमा जाँदै थियौं तर मेयरसाबले यो त मैले नै गर्न सक्छु भनेर होमिनुभयो,’ वडाध्यक्ष बास्तोलाले भने, ‘पछि योजना नै अगाडि बढेन ।’

हचुवाको भरमा चर्चाका लागि थालिने अभियान कसरी तुहिन्छ र जनप्रतिनिधि कमजोर हुँदा कसरी बदनाममात्र हुन्छन् भन्ने यो गतिलो उदाहरण बनेको स्थानीयको भनाइ छ ।

अब योजना अगाडि बढ्छः मेयर जिसी
शिलान्यासपछि पनि काम नरोकिएको महानगरका मेयर मानबहादुर जिसीको दाबी छ । ‘डोजर चलाएरमात्र कहाँ काम रोकिन्छ र?’ मेयर जिसीले हाँस्दै भने, ‘अब काम अगाडि बढ्छ ।’ मेयर जिसीले पैदलमार्ग बनाउन अर्को स्टिमेट तयार भएको बताए ।

‘वडाध्यक्षसहित स्थानीयको छलफल भएको छ । अब एक खालको स्टिमेट पनि तयार भएको छ । काम अगाडि बढ्छ,’ मेयर जिसीले भने । उपभोक्ता समितिमार्फत काम गर्दा समस्या भएको भन्दै अब टेन्डर आहवान गरि योजना अगाडि बढाउन लागि एक जनप्रतिनिधिले बताए ।

‘२ करोड ७१ लाख रुपैयाँको स्टिमेट गरी महानगरको कार्यालयमा पठाइएको छ । अब २÷३ महिनाभित्रै फेरि काम अगाडि बढ्छ ।’ पोखरा महानगरपालिकाका केही यस्ता घोषणा र थालिएका योजना छन्, जुन जहाँ हात हाल्यो, त्यही असफल देखिएका छन् ।
फिर्के खोला मिचेर कतिपय संरचना बनिसकेका छन् भने कतिपय बनिरहेका छन् ।

महानगरकै तथ्यांकअनुसार फिर्केखोलाको ५ मिटर मापदण्डबिपरीत झन्डै २ सय संरचना बनेको देखिएको छ । वडा नम्बर १८ को अँधेरीकुनादेखि वडा नम्बर १७ र ६ को संगम गौरीघाटमा पुगेर फिर्केखोला फेवातालमा मिसिन्छ । ८ किलोमिटर लम्बाई रहेको फिर्केको बढीमा १५ मिटरदेखि ५ मिटरसम्मको फरकफरक चौडाई छ । मानवीय अतिक्रमणबाट खुम्चिएर फिर्केखोला साँघुरो बनेको छ भने चर्पिदेखि ढलसम्म मिसिएर डम्पिङ साइट बनेको छ ।

फिर्केको मापदण्ड मिच्नेमा सामाजिक व्यक्ति, संस्थादेखि सुकुम्बासी, शैक्षिक संस्थासम्म देखिएका छन् । फिर्केको मापदण्ड मिचेर ठूलाठूला आरसिसी संरचनादेखि साना टहरासम्म खडा भएका छन् । फिर्के मिच्नेमा विभिन्न समाजघर, मठमन्दिर र सरकारी कार्यालयसम्म देखिएका छन् ।

तपाईको प्रतिक्रिया