हरिहर गुफालाई प्रदेश सरकारको पूर्ण सहयोग

समाधान संवाददाता २०७६ वैशाख ३० गते १२:२७

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री रामशरण बस्नेतले हरिहर गुफाको संरक्षणमा प्रदेश सरकारले पूर्ण सहयोग गर्ने बताएका छन् । पोखरा २० भलामस्थित हरिहर गुफा सन्यास आश्रमको १ सय ७० औं वार्षिकोत्सवको अवसरमा आयोजित सभामा मन्त्री बस्नेतले महानगरमै रहेर पनि ओझेलमा परेको गुफाको प्रबद्र्धन र संरक्षणमा प्रदेश सरकारले सहयोगमात्र होइन मन फुकाएर कामै गर्ने बताए ।

एउटै महानगर भित्र विकासका हिसाबले अत्यन्तै भिन्नता रहेको भन्दै ऐतिहासिक महत्व बोकेको हरिहर गुफाको संरक्षणमा महानगरको बिशेष चासो हुनुपर्ने उल्लखे गरे । मन्त्री बस्नेतले वडाकै महत्वपूर्ण धार्मिक स्थल बन्ने बताउँदै प्रचारप्रसारमा जोड दिन वडालाई आग्रह गरे ।

Advertisement

उनले मोटरबाटो र खानेपानीको समस्यालाई समाधान गरिहाल्नु पर्ने समस्या औंल्याउदै भने, ‘असार भित्रमा यहाँ पानी आउँछ, उनले थपे, ‘यो कुरा लेखेर राख्नुस्, म तपाईहरुको अगाडि उभिएर भनेको छु ।’ कार्यक्रममा वडा नं २० का अध्यक्ष सिम गुरुङले ओझेलमा रहेको हरिहर गुफाको ऐतिहासिक तथा धार्मिक महत्व रहेको उल्लेख गरे ।

उनले आगामी आर्थिक वर्ष २०७६÷०७७ मा बिशेष योजनासहित बजेट बिनियोजन गर्ने धारणा राखे । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापा र प्रभा कोइरालाले शुभकामना दिँदै सवैको आँखा नपुगेको धारणा राखे ।

Advertisement

कार्यक्रममा धरहरा आमा समूह पोखरा महानगरपालिका ११ फूलबारीद्वारा हरिहर गुफा संन्यास आश्रममा आश्रित वृद्धालाई खाद्य तथा जिन्सी सामग्री सहयोग हस्तान्तरण गरिएको थियो ।

अनन्तश्री विभुषित महामण्डलेश्वर पीठाधीश आत्मानन्द गिरीको अध्यक्षतामा भएको कार्यक्रममा आश्रमका सदस्य विष्णुबहादुर खत्री, गुफाका सदस्य सचिव नारायणजंग खत्री लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया