के छ प्रस्तावित मिडिया विधेयकमा, एक पटक पढ्ने की

समाधान संवाददाता २०७६ वैशाख ३० गते १२:४१

परिच्छेद

आचार संहिताको पालना, अनुगमन तथा कारबाही

  1. उजुरी दिन सकिनेः (१) कुनै आमसञ्चार माध्यम, त्यसको प्रकाशक, सम्पादक, पत्रकार वा सम्वाददाताले काउन्सिलले जारी गरेको आचार संहिता उल्लंघन गरेको विषयमा जुनसुकै व्यक्तिले काउन्सिलमा उजुरी दिन सक्नेछ।

(२) उपदफा (१) बमोजिमको उजुरी लिखित रूपमा वा विद्युतीय माध्यमबाट समेत दिन सकिनेछ।

Advertisement

(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै आमसञ्चार माध्यम, त्यसको प्रकाशक, सम्पादक, पत्रकार वा सम्वाददाताले काउन्सिलले जारी गरेको आचारसंहिता उल्लंघन गरेको सूचना वा जानकारी काउन्सिललाई कुनै स्रोतबाट प्राप्त भएमा काउन्सिलले यस ऐन बमोजिम कारबाही  गर्न  सक्नेछ।

(४) उपदफा (१) बमोजिमको उजुरीको दर्ता तथा तत् सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

Advertisement
  • उजुरी उपर जाँचबुझ र निर्णय: (१) दफा १६ बमोजिममा परेको उजुरी वा काउन्सिललाई  कुनै स्रोतबाट प्राप्त आचारसंहिता उल्लंघनको सूचना वा जानकारी  उपर प्रारम्भिक जाँचबुझ गर्दा प्राप्त उजुरी, सूचना वा जानकारी काल्पनिक, आधारहीन वा झुट्टा देखिएमा काउन्सिलले आधार र कारण खुलाई त्यस्तो उजुरी, सूचना वा जानकारीलाई  तामेलीमा राख्ने निर्णय गर्न सक्नेछ। त्यस्तो निर्णयको लिखित जानकारी उजुरीकर्तालाई दिनु पर्नेछ।

(२) दफा १६ बमोजिम परेको उजुरी वा काउन्सिललाई  कुनै  स्रोतबाट प्राप्त आचार संहिता उल्लंघनको सूचना वा जानकारी  उपर उपदफा (१) बमोजिम प्रारम्भिक जाँचबुझ गर्दा आचार संहिता उल्लंघन गरेको देखिने आधार विद्यमान भएमा काउन्सिलले विस्तृत जाँचबुझ गर्नेछ । त्यसरी जाँचबुझ गर्दा काउन्सिलले सम्बन्धित आमसञ्चार माध्यम, प्रकाशक, सम्पादक, पत्रकार वा सम्वाददातालाई सोधपुछ गर्ने वा उजुरसँग सम्बन्धित प्रमाण बुझ्ने समेतका काम गर्न सक्नेछ।

       (३) काउन्सिलको विस्तृत जाँचबुझबाट आचार संहिता उल्लंघन गरेको देखिएमा आचार संहिता उल्लंघन गर्ने आमसञ्चार माध्यम, प्रकाशक, सम्पादक, पत्रकार वा सम्वाददातालाई काउन्सिलले देहाय बमोजिम कारबाही गर्न सक्नेछ:-

(क) उजुरी गर्ने पक्षसँग आमसञ्चार माध्यम, प्रकाशक, सम्पादक, पत्रकार वा सम्वाददातालाई मेलमिलाप गराउने,  निजको भनाई सञ्चार माध्यममा प्रकाशन वा प्रसारण गर्न लगाउने,

(ख) आचार संहिता उल्लंघन गर्ने आमसञ्‍चार माध्यम, प्रकाशक, सम्पादक, पत्रकार वा सम्वाददातालाई क्षमायाचना गर्न लगाउने वा काउन्सिलले निर्धारण गरे बमोजिमको सङ्ख्या, समय वा पृष्ठमा खण्डन प्रकाशन गर्न लगाउने,

(ग)  काउन्सिलले दिएको निर्देशन वा आदेश अवज्ञा गर्ने तथा आचार संहिता पटक पटक उल्लंघन गर्ने आमसञ्चार माध्यम, प्रकाशक, सम्पादक, पत्रकार वा सम्वाददातालाई निजले सरकारबाट पाउने सहुलियत, लोक कल्याणकारी विज्ञापन वा सुविधा तोकिएको अवधिभरको लागि आंशिक वा पूरै रोक लगाउन मन्त्रालय समक्ष सिफारिस गर्ने,

(घ)  काउन्सिलको निर्णय वा निर्देशन पालन नगर्ने आमसञ्चार माध्यम र त्यसमा संलग्न प्रकाशक, सम्पादक, पत्रकार¸ सम्वाददाताको नाम सहितको सूची तयार गरी काउन्सिलको आदेश, निर्देशन वा आचार संहिताको उल्लंघनकर्ताको रुपमा सार्वजनिक गर्ने,

(ङ)  सम्पादक, पत्रकार वा सम्वाददाताको प्रेस पास निश्चित अवधिको लागि निलम्बन गर्ने,

(च) काउन्सिलले गरेको निर्णय वा आदेश सम्बन्धित आमसञ्चार माध्यममा प्रकाशन गर्न लगाउने, वा

(छ)  छापाका पत्रपत्रिका भए  वर्गिकरणमा निश्चित अवधिको लागि समावेश नगर्ने वा तल्लो स्तरको वर्गिकरणमा घटाउने।

(४) उपदफा (३) बमोजिम कारबाही गर्ने निर्णय गर्नु अघि काउन्सिलले सम्बन्धित आमसञ्चार माध्यम, प्रकाशक, सम्पादक, पत्रकार वा सम्वाददातालाई सफाइ पेश गर्ने मनासिब मौका दिनु पर्नेछ।

(५) काउन्सिलमा प्राप्त उजुरी उपरको जाँचबुझ सम्बन्धी अन्य कार्यविधि तोकिए बमोजिम हुनेछ।

  • जरिबाना गरी क्षतिपूर्ति भराइ दिन सक्ने: (१) काउन्सिलबाट जारी भएको आचार संहिता विपरीत कुनै सामग्री प्रकाशन वा प्रसारण गरेको कारण मर्यादा वा प्रतिष्ठामा आँच पुर्‍याएको भनी सम्बन्धित व्यक्तिले दफा १६ बमोजिम दिएको उजुरी उपर दफा १७ बमोजिम जाँचबुझ गर्दा कसैको मर्यादा वा प्रतिष्ठामा आँच पुर्‍याएको देखिएमा काउन्सिलले सम्बन्धित आमसञ्चार माध्यम, प्रकाशक, सम्पादक, पत्रकार वा सम्वाददातालाई पच्चीस हजार रुपैयाँ देखी दश लाख रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ।

(२) काउन्सिलबाट जारी भएको आचार संहिता विपरीत कुनै सामग्री प्रकाशन वा प्रसारण गरेको कारणबाट कुनै व्यक्ति वा संस्थालाई क्षति पुगेको भएमा काउन्सिलले त्यस्तो क्षति पुगेको व्यक्ति वा संस्थालाई मनासिव क्षतिपूर्ति भराइदिन सक्नेछ।

(३ उपदफा (२) बमोजिम क्षतिपूर्ति निर्धारणका आधार तोकिए बमोजिम हुनेछ ।

  • प्रचलित कानून बमोजिम कारबाही गर्न बाधा नपर्नेः (१) कुनै आमसञ्चार माध्यम, त्यसको प्रकाशक, सम्पादक, पत्रकार वा सम्वाददाताले गरेको आचार संहिता उल्लंघनसम्बन्धी  कुनै काम  अन्य प्रचलित कानून बमोजिम कसूर हुने रहेछ भने निज उपर त्यस्तो कानून बमोजिम आवश्यक कारबाही चलाउनका लागि काउन्सिलले सम्बन्धित निकायमा लेखी पठाउनु पर्नेछ।

(२) यस ऐन बमोजिम आचार संहिता उल्लंघन गरेको कुनै काम अन्य  प्रचलित कानून बमोजिम कसूर हुने भएमा आचार संहिता उल्लंघनमा कारबाही भएको कारणबाट मात्रै त्यस्तो कसूरमा प्रचलित कानून बमोजिम कारबाही चलाउन  र सजाय  गर्न बाधा पर्ने छैन।

  • पुनरावेदन दिन सक्ने:  दफा १७ वा १८ बमोजिम काउन्सिलले कारबाही गर्ने गरी गरेको निर्णय वा आदेशमा चित्त नबुझेमा चित्त नबुझ्ने पक्षले निर्णय वा आदेश भएको मितिले पैंतीस दिनभित्र सम्बन्धित उच्च अदालतमा पुनरावेदन दिन सक्नेछ।

तपाईको प्रतिक्रिया