सम्झन थालिएको पुरानोकोट
बद्रीविनोद प्रतीक
आकाश छोएर उभिएको छ पुरानोकोट । के भएर हो कुन्नी यति बेला नाम जस्तै पुरानो हुँदै गएको छ पुरानोकोट । कुनै बेला कोटको पनि कोट थियो पुरानो कोट । लमजुगेले नयाँ राजा ल्याएर पुरानोकोटमा स्थापित गरेपछि पुरानोकोट चुलिएको थियो । यशोब्रह्मा शाहको दरबार बनेपछि वरिपरिका कोट फुच्चे देखिएका थिए ।
आफ्नो वरिपरि तुर्लुगकोट, तान्द्रागकोट, राईनासकोट, लिगलिगकोट राखेर उचाईबाट हेथ्र्यो पुरानाकोट । ती कोट अहिले पनि त्यही छन् । तत्कालीन दरबार र गडीका भग्नावशेषले पुरिएर रहेका छन् । यति ठूलो राजनीतिक परिवर्तन भइसक्यो तर तिनको खोजी भएको छैन । खोजी हुनुपथ्र्यो इतिाहासको, पुरातात्तिक सम्पदाको, खै यो सोच जन्मेको देखिँदैन । पर्यटनका कुरा गर्ने विद्धानले समेत यो कुरा बिर्सेका छन् ।
अहिले पुरानाकोट गाउँ विकास समिति छैन । राज्य पुनः संरचनाले पुरानाकोटलाई वेसीसहर नगरपालिकामा लगेर गाभिदिएको छ । वेसीसहर नगरपालिका नक्सा हेरेर बसेको छ । उसको नकसामा कुनै नयाँ योजना छैन, वडा नं ४ पुरानाकोट बाहेक । पुरानाकोटबाट चालिएको पहिलो पाइलोले नेपालको नक्सा बद्लेको इतिहाास सम्झने कोसिस गर्नुपथ्र्यो, गरेनन् ।
नेपाल एकीकरणको जग बसाल्ने कोट हो, पुरानाकोट । यसो भन्दा उता गोर्खालीको मन दुख्ला । मन दुखे पनि वास्तविक सत्य यही हो । हुन त एकीकरणको लालपुर्जा गोर्खालीसँग मात्रै छ । उनीहरु भन्छन्, पृथ्वीनारायण शाह नै नेपाल एकीकरणको नायक हुन् । उनीहरु भन्न रुचाउँदैनन् यशोब्रह्मा शाह कै सन्तानलाई ल्याएर गोर्खाको गद्धिमा राखेको हो ।
पृथ्वीनारायण शाहको पुर्खा को थियो ? कसरी राजा भए ? त्यसको नालीवेली तिर नलागौं, लमजुङेहरुले घलेहरुको राज्य खोसेर शाह वंशका राजा ल्याएर गद्धिमा बसाएको इतिहास भने नभुलौं । तुर्लुगकोटका दुराले घलेराजा हटाएर कालु शाहलाई राजा बनाए । घले राजाका सेनाले कालु शाहको हत्या गरे ।
खजे दुराको नेतृत्वमा पुनः कालु शाहकै भाइ यशोब्रह्मा शाहलाई राजा बनाए । तुर्लुगकोटबाट राजधानी पुरानाकोट सारे । त्यही पुरानाकोट दरबार स्थायी भयो । त्यहीबाट राज्य विस्तारको पाइलो चालियो । आफ्नै भाइभारदारलाई राजा बनाउनु र पछि मिलेर राज्य कब्जा गर्दै जानु कम बुद्धिमानी काम थिएन । यो कुरा इतिहासले छुटाएको छ । हुन त सत्ताको चकटीमा बसेर लेखिएका इतिहासले यो भन्दा फरक लेख्नै सक्दैन । धन्य यत्ति भए पनि लेखेर छोडेका छन् । यसलाई सच्चाउँदै जानुपर्छ ।
अहिले गाउँगाउँमा सरकार छन् । खोजी उनीहरुले पनि गर्लान् । पुरानाकोट पुग्न हिजो जसरी पसिना चुहाउनु पथ्र्यो, अहिले पर्दैन । वेसीसहरबाट १७ किमी ग्राबेल सडकमा गाडी कुदिरहेका छन् । जाने मन भए पुगी हालिन्छ । हलुका झोला भिरेर पैदल गए पनि वेसीसहरबाट ३÷४ घन्टाको पैदल यात्रा हो ।
समुद्री सतहबाट १ हजार ९ सय ५० मीटर उचाइमा रहेको पुरानाकोट दर्शनीयमात्र छैन रमणीय पनि उत्तिकै छ । कोटको दक्षिण भेकमा पुरानाकोट गाउँ छ । करिब ११ सय जति जनसंख्या रहेको वस्तीमा गुरुङको बाहुल्यता छ । ब्राह्मण, क्षेत्री र दलितको संख्य थोरै छ ।
तथ्यांकमा जति लेखिए पनि गाउँमा पुग्दा शून्य लाग्छ, घरमा बुढाबुढीमात्र भेटिन्छन् । यति बेला अधिकांश घर–गाउँको नियत यस्तै छ । जसमा पुरानोकोट पनि अपवाद रहन सकेन ।
तुर्लुगकोटको दरबार अव्यवस्थित र दमनकारी थियो । घले राजाको दमन विरुद्ध सोझा र इमान्दार कहलिएका दुराहरु नै पहिले उत्रिएका थिए । त्यसको नेतृत्व खजे दुराले गरेका थिए । उनलाई माघे दुरा, लक्ष्मण दुरा, शुकराम क्याउसा र कुसुमाकर घिमिरेले साथ दिएका थिए ।
विसं १५५० मा कास्कीका राजा कुलमण्डन शाह कै कान्छा छोरा अर्थात कालु शाहका भाइ यशोब्रह्मा शाहलाई ल्याएर राजा बनाएको इतिहास छ । यसलाई बाइसे, चौबिसे राज्यको जग मानिन्छ । बाइसे र चौबिसे राज्यलाई एकीकरणको आधार स्तम्भ मानिन्छ । इतिहास पढनेले पढेमात्र त्यस बारे सुझाएनन् ।
शाहको शासनकाल व्यवस्थित हुँदै जाँदा घले राजाको निसानी मेटिदै गएको सत्य कहीं उल्लेख छैन । राम्रोले नराम्रो छोपी दिन्छ भनेको यही होला । यशोब्रह्मा शाहले गाउँ–सहर र वेसीसहरमा दरबार बानए । जसलाई हिउँदे र वर्षे दरबार भनिन्थ्यो । गाउँ–सहर दरबार अहिले पनि छ तर हिजो त्यो शानशौकात अहिले छैन ।
पुरानोकोट धार्मिक, ऐतिहासिक र पर्यटकीय हिसाबले महत्वपूर्ण छ । खुर्पामा श्रीखण्डको बीडहालेर खेलाउने खेलाउँदा त्यहाँबाट सुगन्ध थाहा नपाउने शासकले नजर कहाँकहाँ परेको छ कुन्नी थाहा पाउन सकिन्न । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पुरानोकोट दरबारको संरक्षण सम्वद्र्धन गर्छु भनेको उदारो वाक्यको भरमा पनि स्थानीयले लामो स्वास फेरेका छन् ।
निभ्न लागेको बत्तीमा तेल थपिदिएको महसुस गरेका छन् । त्यस क्षेत्रमा रहेका धार्मिक, ऐतिहासिक, पुरातात्तिक र पर्यटकीय स्थलको विकासमा जुटेका छन् । यो राम्रो पक्ष हो सुतेकालाई उठाउन थलिएको छ ।
तुर्लुगकोट र पुरानकोट कुम जोडेर उभिएका भाइभाइ जस्ता छन् । दुवैको ऐतिहासिक महत्व उत्तिकै छ । तुर्लुगकोट कालिकादेवीको मन्दिर, पुरानोकोटको जलदेवीको मन्दिरमा धेरैको आस्था जोडिएका छ । गाउँ छोडर गएकाले पनि दुख–बिमार हुँदा भाकल गर्ने र सन्चो भएपछि आएर पूजा गर्ने चलन अहिले पनि छ ।
यी देवीको शक्ति थाहा पाएका देशका कुनाकुनाबाट आउँछन् र पूजा गरेर मनको कालो हटाएर जान्छन् । यो क्रम बढ्दो छ । सरकारले भौतिक पूर्वाधारको राम्रो व्यवस्था मिलाउन सक्यो भने यो क्षेत्रको विकासले नयाँ मोड लिन सक्छ ।
पुरानोकोट गडी दरबारको भग्नावषेश उस्तै भए पनि जलदेवीको मन्दिर विसं ०५८÷०५९ जनसंख्या, महिला तथा वातावरणीय विकास संस्थाको पहलमा नेपाल सरकारले पुननिर्माण गरिदिएको थियो । संघीय, प्रदेश र पालिका सरकारले जिम्मेवारी दिएमा जनसंख्या, महिला तथा वातावरणीय संस्थाले पुरानोकोट दरबार र गडीको पुननिर्माणमा जुट्ने, संस्थाकी उपाध्यक्ष रश्मी अधिकारीको चाहना पनि बुझ्नुपर्छ ।
यस्तो चाहना धेरैले व्यक्त गरेका थिए । कस्लाई पाहियो ? हिजो जे कुराका लागि पनि केन्द्रमा धाउनु पथ्र्याे । अहिले त प्रदेशका मुख्यमन्त्री, सांसद र नगरका मियर घरघरै आएर सोध्न थालेका छन्, हामीले के गरिदिउँ ? यो अवसर गुमाउनु हुँदैन भन्छन् गाउँका वासिन्दा ।
विसं २००७ सालको क्रान्तिमा दुराडाँडाका श्रीकन्त अधिकारी निकै सक्रिय थिए । राणा विरोधी क्रान्ति सफल पनि भयो । गाउँगाउँमा विद्यालय खोल्ने लहर चल्यो । तयता तिरको जिम्मा श्रीकान्तलाई नै थियो । उनले एकै पटकमा १२ वटा विद्यालयको स्वीकृति ल्याएर बाडें । त्यही मेसोमा पुरानो कोटकोले पनि स्कुल पायो ।
गाउँमा सेवा सदन नाम भएको प्राइमेरी स्कुल खुल्यो । सेवा सदन अहिले मावि भएको छ । निम्न मध्यम वर्गका स्थानीय विद्यार्थी त्यही पढछन् । विद्यार्थीको रोजाइको विषय छैन । काम चलाउ शिक्षा भए पनि उनीहरु पढन बाध्य छन् । युग सापेक्ष विद्यालय शिक्षा हुनुपर्छ सबैले भन्छन् । सहयोगी भने कम छन् ।
केही वर्ष यता अमेरिकामा गएको बेलामा गोर्खा फाउन्डेसनसँग हात थापेर १० थान कम्प्युुटर ल्याएर विद्यालयलाई दिएको कुरा कृष्णप्रसाद खनालले खोले । हाल उनी काठमाडौंमा रहेर मुद्रण व्यवसाय गर्छन् र पनि गाउँ बनाउने हुटहुटोले छोडेको छैन ।
विद्यालयमा दिइएका कम्प्युटर अहिले कुन हालतमा छन् थाहा छैन । यस्तो सहयोग अरुसंग पनि लिएको छ विद्यालयले । जनसंख्या , महिला तथा वातावरणीय विकास नामक गैरसरकारी सस्थाले विद्यालयमा सौचालय निर्माण गरिएको थियो । गाउँ छोडर बाहिर बसेकाले बेला मौकामा गरिदिएका यस्ता कामले विद्यालय चलेको छ ।
सेवा सदन माविमा कम्पुटरको पढाइ हुन्छ । जसले बाहिर जाँदा सहयोग पुगेको छ । गाउँ छोडेर बाहिर बसेकाले गरेको सहयोगले विपन्न वर्गका विद्यार्थी पढेका छन् । यो पुनित कार्यलाई अब प्रदेश र पालिका सरकारले अगाडि बढाउने नै छ । पुरानाकोट गाउँबाट १ घन्टा हिँडेपछि कोट गडी पुगिन्छ । त्यहाँबाट देखिने माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ हिमाल, गंगापूर्ण, मनास्लुदेखि बुद्ध हिमालसम्मका हिम शृंखला गडीबाटै हेर्न पाउँदा कसको मन नरमाउँला र । मानिसको मन यस्तैयस्तै दृश्यमा रम्न चाहन्छ ।
त्यो मनमोहक दृश्यमा सबजना हराउँछन् । नयाँ वर्ष ०७६ को पहिलो र दोस्रो दिन तुर्लुगकोटमा थियौं । दोस्रो दिन सर्वोदय हाई स्कुलको छेउमा निर्मित खजेदुरा पार्कले पुरानोकोट तिर हेर्न लगायो । त्यहाँबाट पुरानोकोटको चुली खुब हेरियो । चुलीमुनीको रक क्लाइमिङमा सबैका आँखा रोकिए ।
करिब १५ सय मीटरको उचाईमा रहेको रक क्लाइमिङ ४ सय मीटर जतिको छ । यो उचाईमा यति सुन्दर रक क्लाइमिङ रहेको ठाउँ विरलै भेटिएला । जो प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । रक क्लाइमिङ सञ्चालन गरेर मनग्य आम्दानी हुन सक्ने सम्भावना भएर पनि यसको विकासमा राज्यको चासो कम परेको छ । व्यावसायिक शिक्षामा पठनपाठन गराउन पाए समृद्धिको आधार भेटिन सक्थ्यो ।
यति बेला स्थानीय सडक, बिजुली, पानी र बासको राम्रो प्रबन्ध मिलाउन लागेका छन् । सडकलाई वर्षैभरि अर्थात १२ रैै महिना सञ्चालनमा ल्याउन लागि परेका छन् । यो सकारात्मक कार्य हो ।
मध्यपहाडी लोकमार्गबाट नजिकै रहेको रक क्लाइमिङले लमजुङको परिचयमा थप योगदान पुर्याउन सक्ने छ । त्यसो त प्रदेश सरकारमा मुख्यमन्त्री सुब्बाले त्यहाँ पुग्ने सडक कालोपत्रे गर्ने वचन दिएका छन् । पुरानोकोट गाउँका जनताले ग्रामिण पर्यटन विकासका लागि घरबास (होमस्टे) सञ्चालनमा ल्याएका छन् ।
पुराना घरलाई मर्मत गरेर अहिले १२ घरमा ४४ बेड सञ्चालनमा ल्याइएको छ । प्रदेश सरकारको घरबास कार्यक्रमलाई सहयोग गर्ने नीति अनुरुप यसमा पनि लगानी भएको छ । गाउँलेले मुख्यमन्त्री गुरुङको सोच अनुसार चलाउन सकेको खण्डमा २÷४ वर्षमा नै गाउँको रुप फेरिन सक्छ । होमस्टेले गाउँको उत्पादनलाई प्रयोग गर्न सक्यो भने मात्र आयआर्जन गर्न सक्छ । बाहिरको उतपादनमा आधारित होमस्टेले गाउँलाई समृद्ध बनाउँदैन ।
पहिला गाउँ छोडेर फेरि गाउँमा नै फर्केका युवाले केही नयाँ अवसर देख्न थालेका छन् । उनीहरुले देखेका ती अवसरमा प्रदेश सरकार पनि सामेल हुन चाहन्छ । यो राम्रो लक्षण हो । स्थानीय जनता र सरकार एकाकार भएर काम गर्ने हो भने हामी सबैले कल्पेको समद्धि टाढा छैन । काम गर्ने क्रममा कसले कति ढंग पुर्याउँछ थाहा छैन, त्यो भोलिको परिणामले देखाउँला । यतिबेला गाउँमै बसेका ऋषिकान्त खनाल, कोमलनाथ खनाल समृद्धिको बाटो खोज्दै छन् ।
गाउँका बाझो जमिनमा कृषि, पशु, माछा र कुखुराका फार्महरु सञ्चालनमा ल्याउने तयारी गर्दैछन् । आराभाका कृष्णप्रसाद बजगाईको सल्लाहमा गाई फार्म सुरु र्भसकेका छ । दूध बजार लाने सडक तयार भइसकेको छैन । गाउँबाट केही परसम्म बोकेर लैजानु पर्दा समस्या आएको छ । त्यही समस्या लिएर मुख्यमन्त्री गुरुङलाई भेटेर निवेदन गरे ।
मुख्यमन्त्रीको आश्वासनले मात्र पनि सररर गुडने सडकमा ऋषिकान्तको मन गुडेको छ । उनको अनुहारमा देखिएको खुसी नै समृद्धिको राजमार्ग जस्तो लाग्छ ।
पुरानोकोट बारे वेसीसहर नगरपालिकाले पनि योजना बनाएकै होला । हिजोको इतिहासलाई सम्झेर यस क्षेत्रको विकास योजना बन्ने नै छ । मुख्यमन्त्रीले पनि आफूले बोलेको कुरा पक्कै बिर्सेका छैनन् होला । पुरानोकोट अब नयाँकोट बन्ने छ । भत्केका दरबार र गडीको जिर्णोद्धार चाँडै हुनेछ ।
ग्रामीण पर्यटनको गतिलो आधार बन्ने छ । जसले नेपालको एकीकरणको पहिलो पाइलो हेर्ने र अध्ययान गर्ने अध्यातालाई सहयोग पुर्याउने छ । बाइसे चौबिसे राज्यको सुरुआत नै नेपाल एकीकरणको आधार हो भन्ने कुरा सबैले सम्झने छन् ।
तपाईको प्रतिक्रिया