दर्शन दृष्टिः महानगरमा पाकेको खिचडी र चलेको वास्ना

समाधान संवाददाता २०७६ वैशाख ३१ गते ८:५८

दर्शन लामा

संसारमा यति धेरै चिज छन्, जसले आफ्नो पहिचान र अस्तित्व बचाइ राखेका छन् । जसको नामले लिने बित्तिकै हाम्रो मानसपटलमा त्यसले गर्ने काम आइहाल्छ । जस्तो कि जहाज उड्छ, कार गुड्छ, आर्मी देशलाई सुरक्षा प्रधान गर्छ । त्यसैगरी म आफू जुन क्षेत्रमा छु, त्यसको पहिचान पनि त्यस्तै क्लियर छ । म हुँ १ राजनीतिज्ञ, यानेकी नेता ।

नेता भन्ने बित्तिकै तपाईंहरुको मनमस्तिष्कमा यसको चित्र भनेको घुसिया, भ्रष्टाचारी, झुटिया कोरिन्छ । जनमानसमा यति धेरै क्रोध नेताप्रति । भए माफ गर्नुहोला । कसैको घरमा बुहारी सुत्केरी नहुनुको कारण बाहेक सबै दुखको कारण नेता नै हो । यो सबैको कारण भनेको बहुमत नेताज्यूहरुले आफू सत्तामा रहँदा राष्ट्र विकासमा भन्दा आफ्नै विकासमा समय खर्चिनु हो ।

Advertisement

राजनीतिप्रति यति धेरै नकारात्मक चिन्तन हुँदा हुँदै पनि राजनीतिक मैदानका खराब खेलाडीलाई विस्थापित गर्न, युवालाई आफ्नो भविष्य आफैं निर्माण गर्ने अवसरबाट नचुक्न आव्हन गर्दै मेरो मनले राजनीति पेसालाई रोजेको हो । जनता भएर मैले देखेको–भोगेका कुरालाई आफू राजनीतिमा लागेर जनताको भावना अनुरुप जनताकै लागि इमान्दार भई काम गर्ने, समाज प्रगतिमा जीवन समर्पित गर्ने अठोटका साथ मैले राजनीतिक जीवनको अध्याय पल्टाए ।

०७४ साल वैशाख ३१ गतेको स्थानीय निर्वाचनमा पार्टीले मलाई उम्मेदवारीको अवसर प्रदान गर्‍यो । जनताको प्रगाढ मायाले मलाई वडाको प्रमुख नेताको रुपामा स्थापित गर्‍यो । जेठ १४ गते १३ नं वडाको अध्यक्ष अनि समग्र नगर विकासमा नगर प्रमुखलाई सघाउन नगर सदस्यको रुपमा जिम्मेवारी बहन गरे । यो लेखको सार भनेको आजको मितिसम्म जनताको मनमा एउटा राजनीतिज्ञप्रतिको जुन दृष्टिकोण छ, त्यसलाई सुधाार गर्न हामीले पाएको अवसर कसरी सदुपयोग गर्‍यौं भन्ने हो ।

Advertisement

पदस्थापनासँगै हामी नयाँ आर्थिक वर्षको योजना संकलनमा लाग्यौं । ०७४-०७५ का लागि वार्षिक योजना तयार पनि गर्‍यौं तर समय सीमाका कारण दीर्घकालीन योजनाको विषयमा व्यापक छलफल गर्न भने सकेनौं । संघीयताको पहिलो स्थानीय सरकार, स्थानीय ऐन, नियमावली, निर्देशिका जस्ता सरकार सञ्चालनका साध्य निर्माण गर्नुपर्ने प्रारम्भको दायित्व थियो । जुन लक्ष्यमा पुग्न विधान समिति गठन गरियो । समितिले कार्यापालिकामा छलफल नगरी ऐन, नियमावली दोस्रो सभामा प्रस्तुत गर्‍यो ।

सभासद्ले छलफलमा भाग लिने समय अनि पहिलो अनुभव भएका कारण संघीय सरकारले पठाएको नमुनालाई त्यतिसारो गोडमेल, कलमी गर्न सकिएन । फलस्वरुप नमुनालाई नै मुनाको रुपमा उम्रार्ने प्रयत्न ग¥यौं । चौथो सभासम्म पनि लागिराखेका छौं । अझै पूर्णरुपमा उभिन भने सकेका छैनौं । जुन महानगरकको प्रमुख मन्त्र थियो । यसको तयारीमा समितिले आफ्नो भूमिकालाई महत्व दियो । यो प्रशंसायोग्य कुरा हो तर अन्य सहकर्मी तथा सरोकारवालासँगको सहकार्यको औचित्यलाई महत्व दिएको भए अझ राम्रो हुन्थ्यो कि भन्ने मेरो मनमा खट्किएको छ ।

माथिल्ला सरकारले प्रष्ट गरेको व्यवस्थाबाहेक हरेक समितिको प्रमुख मेयर रहने व्यवस्था हामीले निर्माण गरेको ऐन र नियमावलीमा छ । स्थानीय सरकार अर्थात तह जुन किसिमको कल्पना गरी निर्माण गरिएको थियो, त्यसको भावना विपरीत ऐन, नियमावली निर्माण हँुदा सबै मन्त्रालयको जिम्मेवारी मेयरलाई छ । त्यसलाई फरक ढंगले लानुपर्छ भन्ने मत मैले राखें तर समितिका साथीहरुले मान्नु भएन । सबै जिम्मेवारीको दायित्व प्रमुखलाई, त्यसपछिको सदस्य सचिव जिम्मेवारी (कर्मचारी) लाई र यति धेरै विषयमा छलफलमा जुट्ने समय प्रमुखलाई नहुँदा निर्णयमा कर्माचारीको प्रभाव बढ्दो छ ।

प्रमुखलाई आफूमाथि बसेर तलका कामहरु नियाल्ने व्यवस्थाबाट बञ्चित गरायौं । निर्णयको अधिकार जनप्रतिनिधिलाई हुँदाहुँदै पनि हातको नरिवल व्यवस्थापन गर्ने मेसो नपाएको के हो जाति जस्तो हुँदा वडा अध्यक्षलाई वडामा मात्र सीमित गराइयो । अनि कार्यापालिकाका सदस्य छन् भन्ने बिर्र्सियौं । जसका कारण महानगरपालिकाको कार्यालयबाट हुने व्यवस्थापनमा जनप्रतिनिधिको भूमिका कमजोर बन्यो । यही निर हामी चुक्यौं । त्यही अवस्थाको लाभ उठाउँदै विस्तारै विस्तारै प्रमुखको टेवलभन्दा बाहिरबाट पनि अवैधानिक, असंवैधानिक निर्णय र आदेशहरु बर्जिए र बर्जिरहेका छन् ।

यसले तल वडाका कामहरुमा समेत प्रभाव परेको छ भने वडाका जनप्रतिनिधिका काम, कर्तव्य र अधिकारलाई कुल्चिदैछ । पश्चागामी कूटनीतिक लक्ष्य लिई कामै गर्न नसकोस् भन्ने ढंगले हातमा डोरी कसिलो गरी बाध्ने प्रयास गरिएको छ । यसमा हाम्रो भूमिका भने रक्षात्मक छ ।

स्मार्ट सिटीको बहसमा रहेका जनप्रतिनिधिको विश्वासमा रहेका आम जनताको सपना साकार गर्न विशेष गरी मेयरले प्रशासनिक सरलताको कदममा देखाएको आफ्नो दक्षता महानगरमध्ये नै पृथक छ । सम्पूर्ण वडाको कामकाजलाई कम्प्युटराइज गर्ने, १ हजार स्क्वायरसम्मका घरलाई वडाबाट सम्पन्न दिने, अधिकृत स्तरको वडा सचिव, वडामै इन्जिनियर र जुनियर इन्जिनियर, वडाबाटै कर संकलन, महानगरकै आफ्नै अप्टिकल फाइबर नेटवर्क विस्तार जस्ता कामले जनताको कामलाई सरल बनाएको छ भने मेयरले आफ्नो क्षमताको प्रर्दशन गर्नुभएको छ । गाविस अध्यक्षको अनुभव, सरल स्वभाव, इमान्दार छवि, आफ्नै पार्टी भित्र पनि केन्द्रीय सदस्यको बोल्ड हैसियतमा रहेका मेयर, महानगरको विकासमा उहाँको लगाब–चिन्तन वास्तवमै मनमा प्रतिशोध नराखी हेर्ने जो कोहीका लागि सम्मान योग्य छ ।

क्षेत्रफललाई हेर्ने हो भने देशकै सबभन्दा ठूलो महानगर (४ सय ६४. २४ किमी स्क्वायर) कालोपत्रे नै नछोएका थुप्रै साविकका गाविस पनि महानगरमा रुपान्तरण तथा साविकको पोखरा उपमहानगरकै पूर्वधारको पनि नाजुक अवस्था छ । यस्तो अवस्थामा महानगरको बजेट सीमालाई साविकको भन्दा धन्नै तेब्बर बनाउँदै विकासको गतिलाई त्यहीरुपमा अघि सारिएको छ । सबै क्षेत्रका जनतालाई सरल, सहज अनि पक्की सडकको पहुँच पु¥याउने आकांक्षाले कनेक्टिङ रोडको योजना अघि बढेको छ ।

अबको २ वर्षमा पहाडी भेगका जनतालाई समेत महानगरको अनुभूति दिलाउनेछ । विकास निर्माणमा हुने चुहावटलाई न्यूनीकरण गर्दै सडक निर्माणमा भएको प्रगति हेर्ने हो भने साविकको भन्दा ५ गुनाको रफ्तारमा पक्की सडक निर्माण भएका छन् । सहरका गल्ली धूलो मुक्त भएका छन् । वडा कार्यालय निर्माणधीन छन्, छाडा चौपया व्यवस्थापनमा महानगर लागिपरेको छ, काहुँमा खानेपानी लिफ्टिङ, पालिखे चोकको व्यवस्थापन, नाजुक रहेको महेन्द्रपुल–चिप्लेढुंगा सडक बिहान पिचमा रुपान्तरण हुँदा मेयर तीव्र गतिमा काम हुनुपर्छ भनी लागिपरेको देखिन्छ । यहाँसम्म आउँदा पाइलट प्रोजेक्टको रुपमा स्मार्ट कार्डको माध्यमद्वारा नागरिकका सेवा प्रवाहका काम सरल बनाउन नेपालमै पहिलो प्रयास यसै नगरबाट भएको छ ।

आजको मितिसम्म आउँदा हामीले आकाशको तारै झा¥यौं भन्ने मेरो दाबी छैन । जे ग¥यौं यो क्षणमा सक्नेसम्मको काम गरेका छौ । पछिल्लो पुस्ताका लागि सरल मार्ग निर्माण गर्ने प्रयास गरेका छौ । १५ वर्षसम्म जनप्रतिनिधि बिनाको अभ्यासमा रहेको स्थानीय तहमा जनप्रतिनिधिको प्रवेश सरल थिएन । केही माथिल्ला तहका कर्मचारीका लागि असामान्य थियो । अनि निजामति कर्मचारीको प्रवेशले त स्थानीय तथा निजामति कर्मचारीबीचको अन्तरसम्बन्धमा असहजता सिर्जना भयो । जसका कारण कार्य सम्पादनमा समस्या पैदा भएको छ । जनतालाई नगरभित्रका सबै काम महानगर कै हो भन्ने छ । उनीहरु विकास अस्तव्यस्तका कारण महानगरनै हो भन्ने सोच्छन् । यसले कहिलेकाहीं महानगरप्रति नकारात्मक भाव पैदा गर्छ ।

खासमा महानगरभित्रका थुप्रै यस्ता विषय छन्, जसको कार्य अधिकार महानगरसँग छैन । जस्तोकी खानीपानी व्यवस्थापनको जिम्मा खानेपानी संस्थानलाई छ । मजुवादेखि चाइनापुलसम्मको सडकले महानगरको कामलाई जिस्काइरहेको छ । यसलाई निर्माण, मर्मत तथा सम्भार गर्ने जिम्मेवार सडक विभागलाई छ । तर जनतालाई यस्तो विषय थाहा नहुन सक्छ । तथापि सबै क्षेत्रसँग समन्वय गरेर यस्ता समस्याको शीघ्र समाधान गरी महानगरलाई स्थापित गर्न महानगर लागिपरेको छ । प्रमुख सडक अस्पाइल कंक्रिट, आकासे पुल, कृषि पकेट क्षेत्र स्थापना, शिक्षामा एकरुपता, १ वडा १ खेल मैदान, महिलाका लागि विषेश कार्यक्रम, अपांगमैत्री पूर्वधारमा जोड, होमस्टे सञ्चालन, फेवा तथा बेगनासमा साहसिक जल खेल सञ्चालन जस्ता योजना महानगरले प्रक्रियागतरुपमा अघि बढाइसकेको छ ।

आलोचनाले हामीलाई छुँदै नछुएको होइन, बजारमा सकारात्मक–नकरात्मक दुवै वासना फैलिएका छन् । केही बुझाइका कारण केही परम्पराका कारण । यी प्रश्न, विश्लेषण पोखरा महानगरलाई मात्र हेरेर एकल ढंगबाट भएका छन् । तुलानात्मक रुपमा अध्ययन गरी विश्लेषण हुन जरुरी छ । त्यसरी अध्ययन गरी विश्लेषण गर्ने हो भने यो नगर काममा अग्रपंक्तिमा छ । तर यही अवस्थाको कार्यले हामीले सोचेको लक्ष्य प्राप्त हँुदैन भन्नेमा म सहमत छु । त्यसै गरी नगरप्रमुख पनि सहमत हुनुहुन्छ । जे होस्, कदम कदममा जनमैत्री नभएको महानगरका क्रियाकलापलाई यो २ वर्षमा आंशिक रुपमा भए पनि सुधार गर्न सकिएको छ । पूर्णरुपमा सुधार गर्ने लक्ष्य लिएका छौ ।

अबको ३ वर्ष परिणामको वर्ष हुनुपर्छ । आऊ हामी सबै मिली यो सहर निर्माण गरौं । आ–आफ्नो कर्तव्य निष्ठावान भएर पालन गरौं । विकास हुन्छ, जुन हाम्रै पालामा सम्भव छ ।
लामा पोखरा १३ का वडाध्यक्ष हुन् ।

तपाईको प्रतिक्रिया