विकासमा राजनीतिभन्दा माथि उठ्नु पर्दछः मुख्यमन्त्री गुरुङ

समाधान संवाददाता २०७६ वैशाख ३१ गते १३:५६

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विकास निर्माणका लागि राजनीतिभन्दा माथि उठ्नुपर्नेमा जोड दिएका छन् । पोखरा १४ देउराली टोलमा निर्माण गरिएको खानेपानी बोरिङ एवं पक्की भवनको सोमबार उद्घाटन कार्यक्रममा उनले स्वच्छ एवं शुद्ध पानी पिउन पाउने जनताको नैसर्गिक अधिकार भएको उल्लेख गरे ।

उनले प्रदेश सरकारको २ वर्षभित्र १ घर १ धारा पुर्‍याउने अभियानलाई बोरिङ सञ्चालनले सहयोग पुर्‍याउने बताए । प्रदेशमा ६ हजारभन्दा बढी नयाँ धारा जडान गरिसकेको मुख्यमन्त्री गुरुङे बताए । भौतिक योजना तथा पूर्वाधार मन्त्री रामशरण बस्नेतले बोरिङ खानेपानीको शुद्धीकरणका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए ।

Advertisement

सरकारको मुख नताकी जनस्तरबाट बोरिङको सञ्चालन गरी खानेपानीको व्यवस्था गर्नु महत्वपूर्ण कार्य भएको उल्लेख गर्दै मन्त्री बस्नेतले यस्ता कार्यले समाजलाई संगठित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । दुर्गा भगवती र देउराली टोलमा १÷१ वटा खानेपानी बोरिङ र पक्की भवनसहित ३२ लाख ७४ हजार १ सय ६६ खर्च भएको बोरिङ उपभोक्ता समितिका अध्यक्ष शिवप्रसाद पोख्ररेलले जानकारी दिए ।

खानेपानीको हाहाकार भएपछि २०६२ सालमा स्थानीयको सक्रियतामा १७ लाख लागतमा बोरिङ पानीको सुविधा पुर्‍याउँदै आएको बताउँदै उनले बस्ती विस्तारकासंँगै पानीको माग बढेपछि १८ लाख ८ हजार लागतमा नयाँ बोरिङ सञ्चालनमा ल्याइएको बताए ।

Advertisement

खानेपानी पाइप विस्तारका लागि पोखरा महानगरपालिकाबाट २० लाख रुपैयाँ प्राप्त भएको छ । २ वटा बोरिङबाट दुर्गा भगवती, देउराली, नयाँ शिवालय, माथिल्लो शान्ति, तल्लो नयाँ विकास, राधाकृष्ण, खाल्टे, मनकामना, शुभकामनाटोलका १ हजार ६७ घरपरिवारलाई खानेपानी सुविधा पुगेको छ ।

कार्यक्रममा बोरिङ सञ्चालनमा उल्लेखनीय सहयोग गरेबापत वडाध्यक्ष प्रेमबहादुर कार्कीलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो । उद्घाटन कार्यक्रममा गोकर्ण कार्की, डा. परमेश्वर पोखरेल, रेमश जिसी, मोतीबहादुर बानिया, नारायणप्रसाद भण्डारी लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया