पोखरामा डाक्टर नर्ससहितको प्रहरी अस्पताल पनि छ, तर …

समाधान संवाददाता २०७६ जेठ १ गते ८:०१

सुरेशराज अधिकारी

पोखरा ९ मुस्ताङचोकनजिकै प्रहरी अस्पताल बनाउने योजना प्रदेश प्रहरीको २ वर्षअघिकै हो । प्रहरी अस्पतालका लागि १ डाक्टर, ३ जना नर्स र २ जना कर्मचारी नियुक्ति भएको पनि २ वर्ष भइसकेको छ । तर अस्पताल भवन बनेकै छैन ।

साविक पश्चिमाञ्चल विकास क्षेत्रका तत्कालीन डिआइजी कमलसिंह बमले ४ कोठे अस्पताल भवन शिलान्याससमेत गरेका थिए । १० रोपनी जग्गामा अहिले सानो टिनको टहरोमात्रै छ । डिबिसीमाथि वरिपरि पर्खाल नभएको उक्त टहरामा मानिसका कपडा र गाईवस्तु देखिन्छ ।

Advertisement

२ वर्षअघि ५ लाख विनियोजन भएको भए पनि अस्पताल निर्माणका लागि थप रकम सरकारले उपलब्ध गराएको छैन । भवन निर्माण रोकिएको ६ महिनाभन्दा बढी भइसकेको गण्डकी प्रदेश प्रहरी प्रवक्ता डिएपी गोविन्द पुरीले जानकारी दिए । उनले अस्पताल भवन निर्माणका लागि थप बजेट अर्थ मन्त्रालय र प्रहरी केन्द्रीय कार्यालयसँग माग गरेको जानकारी दिए ।

अस्पतालका लागि गण्डकी प्रदेशमा आएका डाक्टर, नर्सले पोखरा १७ को प्रहरी गणबाट सेवा दिइरहेका छन् । प्रहरीका अनुसार ठाउँ पर्याप्त नभएका कारण मेसिनरी उपकरण प्रयोग गर्न समस्या छ । बिरामीलाई बहिरंग सेवा दिइए पनि भर्ना गरेर राख्न मिल्दैन जसका कारण जटिल बिरामीको उपचार हुँदैन । त्यसैमाथि गणमा अस्पतालको वातावरण नै हुँदैन ।
‘ड्युटीमा खटिएको अवस्थामा नेपाली सेना घाइते भए सेनाकै अस्पतालमा उपचार हुन्छ,’ १ प्रहरीले भने, ‘तर ड्युटीमा खटिएको नेपाल प्रहरी घाइते हुँदा निजी अस्पतालमा जानुपर्छ, हाम्रो पैसा खर्च हुन्छ ।’

Advertisement

प्रहरी अधिकारीका अनुसार अहिले नेपाल प्रहरी सामान्य बिरामी भए पनि प्रहरी अस्पतालमा उपचार गर्न मिल्दैन । ‘हामी धेरै ठाउँमा जोखिम मोलेर काम गछौँ,’ १ प्रहरी अधिकृत भन्छन्, ‘उक्त समयमा चोटपट लागे आफ्नो अस्पतालमा उपचार गराउन पाइँदैन ।’ निशुल्क उपचार गराउन प्रहरी अस्पताल काठमाडौं नै जानुपर्ने बाध्यता रहेको उनले सुनाए । पोखरामा बन्न लागेको अस्पताललाई स्तरीकरण गरी उपचार व्यवस्था गरे प्रहरीको काम गर्ने मनोबल पनि बढ्ने उनको भनाइ थियो ।

गण्डकी प्रदेशमा ७ हजार १७ प्रहरी दरबन्दी छ । उनीहरु उपचारका लागि प्रदेशभरिमा अस्पताल नहुनु नै दुखद् भएको बताउँछन् । प्रहरी अस्पताल निर्माण भए उक्त अस्पतालमा सर्वसाधारणले पनि उपचार गर्न पाउने व्यवस्था हुन्छ । यसबाट सर्वसाधारणलाई पनि फाइदा हुने प्रहरी अधिकारी बताउँछन् ।

तपाईको प्रतिक्रिया