मुस्ताङको हाइअल्टिच्युड स्पोर्टसमा आर्मी र एपीएफकाे बर्चश्व

समाधान संवाददाता २०७६ जेठ १ गते ८:४१

सुन्दरकुमार थकाली

मुस्ताङको जोमसोममा दोस्रो पटक प्रधान सेनापती हाइअल्टिच्युड ट्राइ एडभेन्चर राष्ट्रिय प्रतियोगिता भएको छ । नेपाली सेनाले यहाँ वर्सेनी एडभेन्चर प्रतियोगिता गर्दै आएको छ । सोमबार भएको खेलमा २ विभागीय टोलीले वर्चश्व कायम गरे ।

प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पुरुष र सशस्त्र प्रहरीको एपिएफको महिला टोली च्याम्पियन भए । जोमसोमको पश्चिमतर्फ धाकार्जुङ डाँडा उक्लने १ सय मिटर रक क्लामिङ, धाकार्जुङ डाडोदेखि सशस्त्र प्रहरी क्याम्प, कालिगण्डकी नदी तर्दै पान्डाखोलासम्म दौडि ४.७५ किमी र पान्डाखोलादेखि जोमसोम, ठिनी, सम्ले, स्याङ हुँदै जोमसोमसम्म १५.३५ किमी साईकलिङ ३ विधामा एकैसाथ प्रतियोगिता भएको हो ।

Advertisement

पुरुष एडभेन्चरतर्फ त्रिभुवन आर्मी क्लब ए च्याम्पियन बन्यो । आर्मीका हिमाल टमाटा र वसन्त थारुले निर्धारित दुरी १ घण्टा १९ मिनेट ४२ सेकेन्डमा पूरा गरे । सशस्त्र प्रहरीको एपिएफ क्लबका खेलाडी लक्ष्मण मल्ल र किरण मल्लले १ घण्टा १९ मिनेट ५२ सेकेन्डमा पूरा गरी दोस्रो भए । पुरुषतर्फकै एडभेन्चरमा नेपाली सेनाको आर्मी बि तेस्रो भयो । आर्मी बिका प्रताप थापा र दीपकसिंह चौधरीले १ घण्टा २४ मिनेट १९ सेकेन्डमा निर्धारित दुरी पार गरेका थिए ।

पुरुषतर्फको एडभेन्चरमा एपिएफ क्लबका खेलाडी १० सेकेन्डले आर्मी एभन्दा पछि परे । अघिल्लो वर्ष जोमसोममा भएको एडभेन्चरमा च्याम्पियन बनेका आर्मी बिका खेलाडी थापा र भण्डारीले यसवर्ष तेस्रो स्थानमा चित्त बुझाए ।

Advertisement

महिला एडभेन्चरतर्फ सशस्त्र प्रहरीको एपिएफ क्लबकी सोनी गुरुङ र निर्जला भण्डारी च्याम्पियन भए । गुरुङ र भण्डारीले १ घण्टा ४५ मिनेट ५४ सेकेन्डमा निधारित दुरी पार गरे । गैरविभागीय गल्र्स टिमकी होमी बुढामगर र उषा खनाल १ घण्टा ५२ मिनेट ३० सेकेन्डमा दुरी पार गर्दै दोस्रो भए । यस्तै त्रिभुवन आर्मीकी लक्ष्मी मगर र केशरी थापामगरले १ घण्टा ५३ मिनेट १६ सेकेन्ड समय खर्चिएर तेस्रो भए ।

प्रतियोेगितामा २१ टिम मुस्ताङ आए पनि २ टिम मेडिकल परीक्षणबाट बाहिरीएका थिए । पुरुष एडभेन्चरतर्फ ११ टिम र महिला एडभेन्चरतर्फ ५ टिम सहभागी भएको प्रतियोगिता संयोजक राजीव चन्दले बताए ।

पुरुष एडभेन्चर च्याम्पियन टोलीले नगद ५० हजार, सिल्ड, प्रमाणपत्र र ट्रफी पाएको छ भने दोस्रो हुने टोलीले नगद ३० हजार प्रमाणपत्र, ट्रफी पाएको छ । तेस्रो हुने टिमले नगद २० हजार, प्रमाणपत्र र ट्रफी पायो । महिला एडभेन्चरतर्फ पहिलो, दोस्रो र तेस्रो हुने टिमले क्रमश १५ हजार, १० हजार र ५ हजार प्रमाणपत्र र ट्रफी जिते । विजेता टोलीलाई नेपाली सेनाका बलाधिकृत रथि सरद गिरी, गण्डकी प्रदेश सांसद महेन्द्रबहादुर थकाली, जिसस प्रमुख छिरिङ ल्हामो गुरुङ लगायतले पुरस्कृत गरे ।

सांसद थकालीले मुस्ताङमा पर्वतीय खेलहरुको प्रचूर सम्भावना रहेको बताए । उनले गण्डकी प्रदेशले यस प्रकारको खेल प्रर्वद्र्धन गर्न हाइअल्टिच्युट तालिम केन्द्रको तयारी गरेको जनाए । प्रतियोगिता संयोजक राजीव चन्दले साहसिक खेलहरु नेपाली सेनाको तालिमसँग सम्बन्धित भए पनि नेपाली सेनाले एडभेन्चर प्रतियोगिता प्रर्वद्धन गर्न खोजेको बताए । एपिएफकी च्याम्पियन सोनी गुरुङले मुस्ताङमा रक क्लामिङको नयाँ अनुभव प्राप्त गरेको बताइन् ।

तपाईको प्रतिक्रिया