पहिचान भर्सेस इन्जोय जोन

समाधान संवाददाता २०७६ जेठ १ गते १४:४७

सुरज उपाध्याय

आज गण्डकी प्रदेशको पहिचान खोज्ने काम हुँदै छ । इन्जोय जोनको अवधारणालाई गण्डकी सरकारले अघि सारेको छ । यो अवधारणासँगै पर्यटन विकासका लागि इन्जोय जोन चाहिन्छ भनेर पर्यटनमन्त्री विकास लम्साल भाषण गर्दै हिँडेका छन् ।

के पोखरामा आउने पर्यटक रमाइलोका लागि मात्रै आउँछन् । उनीहरुको लक्ष्य यौन प्यास मेटाउनु हो ? के पोखरामा अरु केही छैन ? पोखराको पहिचान भनेको सेक्स टुरिजम हो ? बहस गर्ने बेला आएको छ । पोखरा जाग्ने बेला पनि आएको छ । पोखराको कला, साहित्य, संस्कृति, संगीत र उत्पादनसँग जोडेर पर्यटन विकास गर्न सकिँदैन ? हाम्रा चेलीबेटीको तिघ्रा देखाएर पर्यटक बोलाउनुको विकल्प हामीसँग छैन ।

तत्कालीन माओवादीले पहिचानको मुद्दालाई अगाडि सार्‍यो । त्यतिबेला लगभग सबै राजनीतिक दल माओवादीको लाइनमा आए । पहिलो संविधान सभाको चुनावमा माओवादी ठूलो राजनीतिक दल बन्यो । पहिचानका लागि जनताले माओवादीलाई साथ दिए । अहिलेका हाम्रा मुख्यमन्त्रीले समेत पहिचानको पक्षमा भाषण गर्दै हिँडे र त्यसैको आडमा मुख्यमन्त्री पनि बने । पछि पहिचानलाई छोडेर चुपचाप बसे । पहिचान छोडेर बसेको माओवादी सकियो ।

आफ्नो विचार छोडेर माओवादी एमालेसँग एकीकरण गर्न पुग्यो । अहिले माओवादी जनयुद्ध र आन्दोलन चियापसलमा बहस गर्ने विषय बनेको छ । हेपिएका, दबिएका, पछाडि पारिएका वर्गको उत्थानका लागि माओवादीले हतियार उठायो । देशमा सामन्तवाद हट्यो । नेता नवसामन्त भएर निस्के । क्षेत्री र बाहुनकै वर्चश्व रहेको माओवादी पार्टी पनि एमाले र कांग्रेसकै लाइनमा आयो । पहिचानको आन्दोलनमा माओवादीले धोका दियो ।

४ नम्बर प्रदेशलाई तमुवान प्रदेश बनाउने बहसलाई जातीय राज्यसँग तुलना गरियो । हाम्रै बडे बडे नेता, जो आफूलाई पहिचानवादी मान्थे, उनीहरु नै पहिचानको विरुद्धमा लागे । जगमान गुरुङ जस्ता बेसारे विद्वान पहिचानको विरुद्ध खनिए । आज गण्डकी सरकारले इन्जोय जोनमा आफ्नो पहिचान स्थापित गर्न खोज्दै छ ।

पहिचान भनेको के हो ? प्रदेश सरकारलाई अहिले पहिचानको खाँचो छ । आफ्नै पहिचान बिर्सेर गण्डकी सरकार आफ्नो पहिचान खोज्दै छ । देश संघीयतामा गएपछि प्रत्येक प्रदेश सरकारले आफ्नो आफ्नो मौलिक पहिचानलाई स्थापित गर्नुपथ्र्याे ।

पहिचानको अस्तित्व नै स्वीकार गर्न नसक्नेको हालीमुहाली छ अनि कसरी प्रदेशले आफ्नो पहिचान स्थापित गर्न सक्थ्यो ? पहिचानबिना प्रदेश सरकारको अस्तित्व नै बिस्तारै संकटमा पर्ने छ । कस्तुरीले आफ्नो बास्ना अन्त खोज्न भौतारिन्छ । हाम्रा मालिक पनि कस्तुरी जस्तै भएका छन् । पहिचानका लागि कहिले सय डलरमा फेवातालमा १ कप कफी बेच्ने कुरा गर्छन् । कहिले राष्ट्रिय झन्डालाई फेवातालको पानीमा छायाँ पारेर देखाउने चर्चा गर्छन् ।

सदियौंदेखि बस्दै आएका आदिवासी जनजातिको पहिचानलाई उनीहरू मान्दैनन् । उनीहरुको पहिचानलाई हामी जातीयतासँग जोडेर हेर्छौं । सांस्कृतिक पहिचानलाई मान्यता दिन हामीलाई हाम्रो वैचारिक अहमले दिन्न । यही अहमले हाम्रो संघीयता बिस्तारै संकटमा पर्ने छ । अब हामीले आवाज उठाउने बेला आएको छ । संघीयता किन र केका लागि ? सभासद र मन्त्री धेरै बनाउनका लागि ? प्रदेशको पहिचानको लागि ?

तपाईको प्रतिक्रिया