खाद्य संस्थान मुस्ताङकाे चामल रक्सी पार्न र कुखुरालाई खुवाउन प्रयाेग

समाधान संवाददाता २०७६ जेठ १ गते १८:०८

सुन्दरकुमार थकाली, मुस्ताङ

मुस्ताङको जोमसोममा अवस्थित नेपाल खाद्य संस्थान मुस्ताङ शाखाले बिक्री बितरण गर्ने खाद्य बस्तु घरेलु मदिरा र कुखुराको दानामा प्रयोग भएको पाईएको छ । खाद्यले उपलब्ध गराउने चामल र गहुँ आदी जस्ता सामाग्री पछिल्लो समय सर्वसाधारणले खानका लागि नभई व्यवसायिक प्रयोजनमा खरित्ने गरेको शाखाको बुझाई छ ।

कुनै समय स्थानीय सेवाग्राहीलाई खाद्य बस्तु उपलब्ध गराउन भ्याई नभ्याई हुँने संस्था पछिल्लो समय सडक संञ्जाल जोडिएपछि एकाएक ओझेलमा पर्न थालेको हो । खाद्य संस्थान मुस्ताङ शाखाका कार्यालय प्रमुख बिनोद चन्दले खाद्य संस्थानको औचित्य मुस्ताङमा समाप्त भईसकेको दुखेसो पोखे ।उनका अनुसार जोमसोम बजारका बिक्रेताले ५० बोरा चामल बिक्री गर्दा यहाँ १ बोरा चामल बिक्री गर्न पनि मुश्किल परेको खुलाए ।

Advertisement

मुस्ताङ खाद्य शाखामा दशैमा भेडाच्याङग्रा खरिद तथा खाद्य सामाग्री बिक्री गर्ने गरेको भएपनि पछिल्लो समय खाद्यले बिक्री गर्ने बस्तुको मुनाफामा कार्यालय खर्च धान्न समेत समस्या पर्ने जनाए । ‘सेवाग्राहीले खाद्य बस्तु कुखुरा र मदिराको लागि सोध्छन् ।खानाका लागि भने जिल्ला बाहिरका बिपन्न मजदुरले मात्र सोध्ने गर्छन् । हप्तामा १० बोरा चामल बिक्री गर्न सकिदैन’ उनले भने ।

नेपाल खाद्य संस्थानको उद्देश्य हिमाली तथा बिकट दुर्गम जिल्लाका बासिन्दालाई खाद्य सामाग्री सहज गराउनु हो । तर ,मुस्ताङमा खाद्य संस्थानको गतिबिधि सुन्य अवस्थामा छ । कुनै बेला खाद्य संस्थान मुस्ताङ शाखामा सामान खरिद गर्न प्रशासनको सहयोग लिनु पथ्र्यो । उ समय संस्थानको मुस्ताङ शाखाले घोडा खच्चड मार्फत सामान ढुवाानी गथ्र्यो ।ल्याइएका खाद्य सामाग्री हप्तादिनमा बिक्री हुन्थे । उपल्लो मुस्ताङ देखि तल्लो मुस्ताङका बासिन्दा खाद्य बस्तु खरिद गर्न जोमसोम ओईरिन्थे ।खाद्य शाखा उ समय हाई हाई थियो । तर ,सडक जोडिएपछि खाद्य शाखालाई वेवास्ता गरिएको छ । त्यहाँ कार्यरत कर्मचारी कार्यालय कुर्ने सिवाय थप कारोवार गर्न सकिरहेको देखिदैन ।

Advertisement

शाखाका प्रमुख चन्दले अबको अवस्थामा खाद्यको कार्यालय मुस्ताङमा आवश्यकता नदेखिएको उल्लेख गरे । उनले खाद्यमा अन्न खरित्न आउनेलाई जय जय गर्नेपर्ने अवस्था आएको जनाए । मुस्ताङमा खाद्य संस्थानको शाखा स्थापना २०३१ साल देखि सुरु भएको हो ।हुम्ला,जुम्ला र कर्णाली जिल्लामा खाद्य संस्थानको सेवा प्रभावकारी छ,सेवाग्राहीमा कमी छैन ।

तर ,मुस्ताङमा बिगत १० वर्षअघि सडकले छोएपछि खाद्य शाखाको सेवा नराम्ररी प्रभावित भएको हो । मुस्ताङ जिल्ला पर्यटकीय जिल्ला र स्थानीय जीवनशैली पनि समृद्ध देखिएकाले खाद्यले बिक्री गर्ने सामाग्री गुणस्तर कम हुँने बुझाई छ ।जसका कारण खाद्य संस्थान मुस्ताङ शाखामा सेवाग्राहीको उपस्थित सुन्य जस्तै देखिएको हो ।

घरपझोङ र थासाङ गाउँपालिकाबाट खाद्य सामाग्री खरित्न आउने सेवाग्राहीले दाना र मदिराकै लागि अर्डर गर्ने गरेको शाखाको भनाई छ । मुस्ताङ खाद्य शाखामा कुल ५ जनाको दरबन्दी रहेपनि हाल कार्यालय प्रमुख र १ कार्यालय सहयोगी मात्र छन् ।

खाद्य शाखामा पोल्टी फर्म

नेपाल खाद्य संस्थानको बिधानमा कार्यालय प्रयोजनको खाली जमिन लिजमा दिन पाउँने व्यवस्था गरेको छ । तर,लिजमा लिएको संस्था वा ब्यक्तिले जग्गा लिजमा लिदा वातावरण प्रतिकुल हुँनगरीे काम गर्न नपाईने उल्लेख छ । तर, खाद्यको बिधान बिपरित मुस्ताङ शाखाको परिसर भित्र एक व्यक्तिले लामो समयदेखि कुखुरा पाल्ने र काट्ने अड्डा चलाईरहेको पाईएको छ ।

खाद्य शाखा मुस्ताङको क्षेत्रफल करिव ५ रोपनी बढी छ ।तर,शाखाको खाली जग्गालाई तत्कालिन खाद्य कार्यालय प्रमुख भरतराज खनियाले जोमसोममा व्यवसाय गर्ने धर्मदत्त पौडेललाई लिज दिए । खनियाले २ वर्षको सम्झौतामा पौडेललाई लिजमा दिएका हुन् ।व्यापारी पौडेलले लिजमा लिएको खाद्यको जग्गामा कुखुरा पाल्ने अड्डा खोले । पौडेलले खनियासंग मिलेमतो गरेर खाद्य संस्थानको गोदामलाई जोडेर पोल्टी अड्डा खोलेका हुँन् ।

त्यति मात्र होईन उनले उत्पादित कुखुरा त्यही काटछाट गरेर पसलमा लैजान्छन् ।व्यापारी पौडेलले संञ्चालन गरेको पोल्टी उद्योगले वातावरण प्रदुषित बनाएको बिगतमा कार्यरत कर्मचारीको गुनासो थियो । यति मात्र दैनिक खाद्यान्न खरिद गर्न आउने सेवाग्राही तथा गोदाममा भएका खाद्य बस्तुलाई समेत फोहोर बनाएको जनगुनासो थियो । सेवाग्राहीको गुनासो भएपनि पुन फेरी व्यापारी पौडेलले नै पुन उक्त जग्गा पोल्टी फर्मका लागि पाएका छन् । उनले मासिक ४ हजार ३ सय ९२ रुपैयाँ भाडा बुझाउने लिखित सम्झौता गरेर खाद्यको ४० फिट मोहडा र ६० फिट पिछाड जग्गा लिजमा लिएका हुन् ।

पौडेलले लिएको जग्गामा कुखुराको फोहोर उस्तै छ भने कुखुरा भुत्ल्याउने स्थान पनि फोहोर देखिन्छ । खाद्यको उक्त जग्गामा अर्का व्यक्ति देव तामाङले पनि स्टोर टहरा निर्माण गरेका छन् । खाद्य शाखा प्रमुख चन्दले नेपाल सरकारले निषेध गरेका गतिबिधि संस्थानक्षेत्रमा उपयोग गर्न नपाईने बताए ।

उनले पौडेलको कुखुरा पालनले वातावरणलाई असर पुर्‍याएको सुनेपनि सो अनुसार नभएको जनाए ।संस्थानको बिधान अनुसार लिजमा दिईएको हो ।सरसफाईलाई वेवास्ता गरिएमा स्म्झौता खारेज हुन सक्ने छ ।व्यापारी पौडेलले खाद्यको अन्य जमिनमा पनि तरकारी खेती गरेको पाईएको छ ।खाद्य शाखाले कार्यालय परिसरमा ६० वटा स्याउको बोट लगाएको छ ।

तपाईको प्रतिक्रिया