कास्की पत्रकार भन्छन्ः प्रेस विरोधी प्रावधान संशोधन गर्

समाधान संवाददाता २०७६ जेठ १ गते १८:३७

समाधान संवाददाता

नेपाल पत्रकार महासंघ कास्कीले प्रस्तावित मिडिया काउन्सिल विधेयकको प्रेस स्वतन्त्रता विरोधी प्रावधानका बारेमा सरोकारवालासंग बुधबार अन्तक्र्रिया गरेको छ ।

मिडिया काउन्सिललाई सरकार नियन्त्रित अंगकारुपमा स्थापित गर्नुका साथै स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने मिडिया काउन्सिल विधेयकको प्रेस स्वतन्त्रता विरोधी प्रावधानका विरुद्ध पत्रकारहरुले कार्यक्षेत्रमा कालोपट्टी बाँधेर कार्य सम्पादन गरेका छन् ।

Advertisement

कार्यक्रममा वरिष्ठ पत्रकार तथा पत्रकार महासंघका पूर्व उपसभापति बद्रीविनोद प्रतिकले पत्रकार महासंघ, प्रेस काउन्सिल सहित सरोकार पक्षसँगको छलफल र सहमति विना संसदमा दर्ता गरिएको विधेयकका प्रावधानहरु खारेज गर्न माग गरे । ‘प्रेस काउन्सिलको सट्टामा बन्न लागेको मिडिया काउन्सिल नियमनकारी र मेलमिलाप केन्द्रको रुपमा खडा गर्नु पर्छ,’उनले भने, ‘काउन्सिललाई जरिवाना गर्ने अदालत बनाउन हुदैन ।’ उनले सञ्चार मन्त्रालयको सचिवको संयोजकत्वमा मिडिया काउन्सिल गठन गर्न नमिल्ने तर्क गरे ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले मिडिया काउन्सिलका प्रेस स्वतन्त्रता विरोधी प्रावधानलाई अहिले खारेज नगरे ऐन बने पछि संशोधन गर्न कठिन हुने बताए । राज्यसत्ताले जानेर नजानेर नेपाली पत्रकारितालाई कमजोर बनाउन आरोप लगाउदै उनले पछिल्लो समयमा सामाजिक सञ्जाललाई मिडिया बुझेर नकारात्मक धारणा बढ्दै गएको तर्क गरे । उनले पत्रकारहरु राजनीतिक रुपमा विभक्त भए प्रेस स्वतन्त्रताको मुद्दा कमजोर हुने बताए ।

Advertisement

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेलले मिडिया काउन्सिलले सबै प्रकृतिका सञ्चार माध्यमलाई समेट्ने भए पनि केही प्रावधान गलत भएको बताए । उनले न्यायाधिशलाई पठाउन पर्ने प्रेस काउन्सिलमा कानुन व्यवसायीलाई पठाउनु गलत भएको धारणा राखे ।

कार्यक्रममा पत्रकार महासंघ कास्कीका पूर्र्व अध्यक्ष नारायण कार्कीले सत्ताको मुल चरित्र प्रेस स्वतन्त्रताको विरोधी हुने दावी गरे । चुनावमा ठुला ठुला आश्वासन दिने र सरकारमा गए पछि राम्रोकाम गर्न नसक्दा प्रेस माथी बक्रदृष्टि पर्ने उल्लेख गर्दै उनले सत्तामा जाँदा र वाहिर रहँदा राजनीतिक दलको मिडिया प्रतिको नीतिमा एकरुपता हुन नसकेको बताए ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले मिडिया काउन्सिल पत्रकारलाई दण्ड जरिवाना गर्न भन्दा पनि सचेत, क्षमायाचना र नसीहत दिने मात्र हुनु पर्ने बताए ।

कार्यक्रममा कास्कीका प्रहरी उपरिक्षक ओम राना, नागरिक समाज पोखराका पूर्व संयोजक रामबहादुर पौडेल, पत्रकार महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारी, सचिव रामप्रसाद तिमिल्सिना, अग्रज पत्रकार नवराज सुवेदी, डा चन्द्रबहादुर गुरुङ, प्राडा वलराम रेग्मी लगायतले वोलेका थिए ।

तपाईको प्रतिक्रिया