५३ बालबालिकाको स्वास्थ्य परीक्षण
समाधान संवाददाता
पोखरा
पोखरा महानगरपालिका– ६ स्थित शिशु विकास तथा स्याहार केन्द्रले बुधबार बालबालिको निशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण एवं बालबालिका लक्षित जनचेतना कार्यक्रम गरेको छ । केन्द्रले आफ्नै प्रांगणमा गरेको स्वास्थ्य परिक्षणमा ५३ जना बालबालिकाको स्वास्थ्य परीक्षणसहित निशुल्क औषधी वितरण गरिएको स्वास्थ्य संयोजक तथा हेल्थ कोअर्डिनेटर धर्मराज थापाले बताए ।
कार्यक्रममा वडाध्यक्ष जगतबहादुर पहारीले शिशु विकास तथा स्याहार केन्द्र हुने खानेको भन्दा पनि हुँदा खानेको भएको हुँदा केन्द्रको स्तरोन्नतिका लागि सबै लाग्नु पर्ने बताए । केन्द्रको स्तरोन्नति र विकासका लागि आफू महानगर पालिकासँग छलफल गर्दै आएको समेत बताए ।
पर्यटन व्यवसायी तथा बटरफ्लाई फाउन्डेसनका अध्यय गोविन्दराज पहारीले लेकसाइडमा मजदुरहरुको बसोबास बढी भएको र उनीहरुका बालबालिकालाई रेखदेख गरेको भन्दै खुसी व्यक्त गरे । संस्थाले समाजमा रहेका आर्थिक अवस्था कमजोर भएका अभिभावकका बालबच्चालाई पहिचान गरी सेवा गर्ने आयोजकलाई आग्रह गरे ।
बालबालिका लक्षित सचेतना कार्यक्रममा युथ एक्टिभ नेपाली सदस्य स्मृति बरालले कार्यपत्र प्रस्तुत गर्दै अचेलका युवा र बालबालिकालाई ल्यापटप र मोबाइलले निम्ताएको दुरुपयोगले युवा तथा बालबालिकालाई हत्या र आत्महत्या जस्तो बाटो रोज्ने गरेको बताइन् ।
अध्यक्ष अनिल थापाले यस्ता किसिमका कार्यक्रमले युवा बालबालिकालाई नकरात्मक बाटो छोडेर सकरात्मक बाटोमा हिडन प्रेरित गर्ने बताए । उपाध्यक्ष विष्णु केसीले स्वागत गरेको कार्यक्रममा सचिव मीना ढकाल, सदस्य विनीत बराल, नागरिक समाज पोखराका अध्यक्ष विष्णुहरि अधिकारी, नगर बालबालिका अध्यक्ष मंगलबहादुर नेपाली, रेडक्रस उपशाखाका अध्यक्ष गिरिराज अधिकारी, सल्लाहकार गणेशबहादुर ढकाल र वडासदस्य विष्णुबहादुर भट्टराई लगायतले बालबालिकको संरक्षणका लागि गरेको कामको प्रसंशा गरे ।
तपाईको प्रतिक्रिया