—सम्पादकीय— भिसी शर्मा मुख खोल

समाधान संवाददाता २०७६ जेठ २ गते १४:५१

अराजकता अन्त्य होस्, अशान्ति अन्त्य होस्, दण्डहीनता अन्त्य होस् र विकास होस् भन्ने आशा राखेर नेपाली नागरिकले स्थिर सरकार चाहेका थिए । त्यही आशा पक्डेर नेपाल कम्युनिस्ट पार्टीले प्रचण्ड बहुमत प्राप्त गर्‍यो र समाजवादी पार्टीसँगको गठबन्धनमा उसले दुईतिहाईको सरकार बनाएको छ । के नागरिकका आशा पूरा भए त ? हुँदैछन् त ? उत्तर सजिलो छ— आशा गरेअनुरुप छैन ।

दण्डहीनता कतिसम्म छ भन्ने बुझाउन पोखरा पोखरा विश्वविद्यालयको एउटा घटना काफी छ । पोविविका उपकुलपति (भिसी) चिरञ्जीवी शर्मालाई वैशाख १७ गते एउटा समूहले मोसो दलेको त्यो घटना नै यहाँ किन सान्दर्भिक हो भने मुलुकको प्राज्ञिक व्यक्तित्वमाथिको मध्ययुगीन ‘कारबाही’ वर्तमान समयको कलंक सिवाय केही होइन । त्यस्ता कारबाही जोसुकैले र जुनसुकै बहानामा किन नगरेको होस्, भत्र्सना गर्नैपर्छ । निन्दा गर्नैपर्छ ।

प्राज्ञिक थलोको पनि उच्चतम पदमा आसिन व्यक्तित्वमाथि कुनै अज्ञात समूहले दिनदहाडै निकृष्ट हर्कत गर्छ र आजसम्म दोषी पक्राउ पर्दैन भने निम्सरो नागरिकको हालत के होला ? काठमाडौंको चोभार मञ्जुश्री पार्कमा परिवारसँग डुलिरहेका शर्मालाई त्यहाँको पार्किङस्थलमा जसले मोसो दल्यो, त्यो समूहको अभिष्टबाट के शर्माको मात्रै तेजोबध गर्न थियो होला ? अनुसन्धानकै विषय हो । तर त्यस घटनाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारलाई निकम्मा र अकर्मण्य देखाउन त्यो समूह सफल भयो ।

भागबन्डाकै आधारमा विश्वविद्यालयको उपकुलपति छनोट हुँदा चिरञ्जीवी शर्मा तत्कालीन नेकपा एमालेको कोटाबाट परेका हुन् । शर्माको आस्था रहेकै पार्टी नेतृत्वमा दुईतिहाईको सरकार छ । आफ्नै सरकार हुँदा एकजना प्राज्ञिक व्यक्तित्व असुरक्षित छ भने निस्सरो नागरिकले कसरी सुरक्षित महसुस गर्न सक्ला ? यो संवेदनशील प्रश्न हो । अरु प्राज्ञिक व्यक्तिहरु आफ्नो जिम्मेवारीको क्षेत्रमा कुनै आँट र साहसले डट्लान् ?

अनुसन्धानका लागि क्लु थुप्रै छन् । जस्तोः मोसो दलेर तुरुन्तै भिसी शर्माको तस्बिर फेसबुकमा पोस्ट भएको छ । मोसो दल्ने समूह मोटरसाइकलमा गएको छ । प्लस टुमा डी प्लस ल्याएर पनि स्नातकमा भर्ना भएका विद्यार्थीलाई परीक्षामा सामेल गर्न दिने कि नदिने भन्ने विवाद गर्दै विश्वविद्यालयमा आन्दोलन मच्चिएको छ । तर किन हुँदैन अनुसन्धान ? अनि किन गुहार माग्ने हिम्मतसम्म गर्दैनन् भिसी शर्मा ? आफूमाथिको अपमान र आपत्तिजनक हर्कतमा किन छैन उनकै आपत्ति ? यो शर्मामाथिको दुव्र्यवहार होइन, पोखरा विश्वविद्यालयका उपकुलपतिमाथिको गरिएको निकृष्ट कुकर्म हो ।

त्यसैले चासो र चिन्ता शर्माले मात्रै होइन, सिंगो प्राज्ञिक जगत र राज्यले नै किन देखाइरहेको छैन ? भन्ने प्रश्न अझै टड्कारो रुपमा खडा भएको छ । कुन अदृश्य शक्तिले भित्रभित्रै आतंकित पारेको छ भिसी शर्मालाई ? शर्मा र अरु कोही किन माग्दैन मोसो दल्नेमाथि कारबाहीको माग ? के राज्य त्यति कमजोर भइसक्यो र मोसो दल्नेहरु पनि समात्ने र कारबाही गर्ने तागत उसमा छैन ? कि मोसो काण्डको रहस्य अर्कै छ ? छ भने पनि त्यो खोजबिन र अनुसन्धान हुनुप¥यो । गरिमामय संस्थासँग जोडिएको यो घटना माफी दिने र बिर्सिदिने खालको होइन ।

भिसी शर्माले उक्त घटनाका विषयमा आजसम्म सार्वजनिक प्रतिक्रिया व्यक्त नगर्नु, उजुरवाजुर कतै परेको सार्वजनिक नहुनु, प्राध्यापक संघसंस्था मौन रहनुले पनि सन्देह पैदा गरेको छ र प्रश्न भिसी शर्मासँग पनि उठेको छ । त्यसैले मुख खोल भिसी । मुख अरुले पनि खोल र कम्तीमा पनि भन कि प्राज्ञिक व्यक्तिलाई मोसो लगाउनेलाई कारबाही होस्, दण्डहीनताको अन्त्य होस्, प्राज्ञिक क्षेत्र मर्यादित रहन पाओस्, विश्वविद्यालयको गरिमा उचो होस् ।

तपाईको प्रतिक्रिया