खाद्यको रासन मदिरा र कुखुराको दानामा प्रयोग

समाधान संवाददाता २०७६ जेठ २ गते १५:३१

सुन्दरकुमार थकाली
जोमसोम

नेपाल खाद्य संस्थान मुस्ताङ शाखाले बिक्री गर्ने खाद्यवस्तु घरेलु मदिरा र कुखुराको दानामा प्रयोग भएको पाइएको छ । खाद्यले उपलब्ध गराउने चामल र गहुँ सर्वसाधारणले खानका लागि नभई व्यावसायिक प्रयोगमा लगाइरहेको पाइएको हो ।

सडक सञ्जाल जोडिएपछि जोमसोममा खाद्य संस्थानले नै खाद्यवस्तु उपलब्ध गराउनुपर्ने बाध्यता हटेको छ । संस्थानका मुस्ताङ शाखा कार्यालय प्रमुख विनोद चन्द खाद्य संस्थानको औचित्य मुस्ताङमा समाप्त भइसकेको बताउँछन् । ‘जोमसोम बजारका बिक्रेताले ५० बोरा चामल बिक्री गर्दा संस्थानको १ बोरा चामल बिक्री गर्न पनि मुश्किल छ,’ उनले भने, ‘किन्न आउनेहरु पनि मदिरा बनाउने, कुखराको दाना बनाउने चामल र गहुँ लिन आउँछन् ।’

खानाकै लागि चामल र गहुँ किन्न आउनेहरु जिल्लाबाहिरबाट आएका विपन्न मजदुर रहेको जानकारी चन्दले दिए । चन्दका अनुसार संस्थानबाट हप्तामा १० बोराजति खाद्यान्न बिक्री हुन्छ । खाद्य संस्थानले हिमाली तथा विकट जिल्लाका बासिन्दालाई खाद्य सामग्री सहज पु¥याउने भनेर जोमसोममा पनि शाखा खोलेको हो । बेला खाद्य संस्थानबाट सामान किन्न प्रशासनको सहयोग लिनुपथ्र्यो । ऊ समय संस्थानको मुस्ताङ शाखाले घोडा खच्चडमार्फत सामान ढुवानी गथ्र्यो । ल्याइएका खाद्य सामग्री हप्ता दिनमा बिक्री हुन्थे । उपल्लोदेखि तल्लो मुस्ताङका बासिन्दा खाद्यवस्तु किन्न जोमसोम ओइरिन्थे ।

मुस्ताङमा खाद्य संस्थानको शाखा २०३१ सालदेखि सुरु भएको हो । हुम्ला, जुम्ला लगायत कर्णालीका जिल्लामा खाद्य संस्थानको सेवा प्रभावकारी छ भन्छन् चन्द । तर मुस्ताङमा १० वर्षअघि सडकले छोएपछि संस्थान सुनसान छ । घरपझोङ र थासाङ गाउँपालिकाबाट खाद्य सामग्री किन्न आउने सेवाग्राहीले दाना र मदिराकै लागि अर्डर गर्ने गरेको शाखाका कर्मचारी बताउँछन् ।

संस्थानमा पोल्टी फर्म
नेपाल खाद्य संस्थान सम्बन्धी कानुनले खाली जमिन लिजमा दिन पाउने व्यवस्था गरेको छ । तर, लिजमा लिएको संस्था वा व्यक्तिले जग्गा लिजमा लिएर वातावरण प्रतिकुल हुने गरी काम गर्न नपाइने उल्लेख छ । तर, मुस्ताङ शाखाको परिसरभित्र १ व्यक्तिले लामो समयदेखि कुखुरा पाल्ने र काट्ने अड्डा चलाइरहेको पाइएको छ ।

खाद्य संस्थान मुस्ताङको क्षेत्रफल करिब ५ रोपनी छ । खाली जग्गा तत्कालीन कार्यालय प्रमुख भरतराज खनियाले जोमसोममा व्यवसाय गर्ने धर्मदत्त पौडेललाई लिजमा दिएका थिए । खनियाले २ वर्षका लागि पौडेललाई लिजमा दिएका हुन् । व्यापारी पौडेलले लिजमा लिएको जग्गामा कुखुरा पालेका छन् । पौडेलले खनियासँगको मिलेमतो गरेर संस्थानको गोदामलाई जोडेर पोल्टी फार्म खोलेका हुन् । त्यतिमात्र होइन उनले उत्पादित कुखुरा त्यही काटरे पसलमा लैजान्छन् ।

पोल्टी उद्योगले वातावरण प्रदूषित बनाएको विगतमा कार्यरत कर्मचारीको गुनासो थियो । कुखुरा फार्मले फोहोर बनाएको सेवाग्राहीले पनि गुनासो गरेका छन् । मासिक ४ हजार ३ सय ९२ रुपैयाँ भाडा बुझाउने सम्झौता गरेर खाद्यको ४० फिट मोहडा र ६० फिट पिछाड जग्गा पौडेलले प्रयोग गरेका छन् । उनको सम्झौता अवधि २ वर्षबाट बढाइएको छ । खाद्यको उक्त जग्गामा देव तामाङले पनि स्टोर टहरा निर्माण गरेका छन् ।

तपाईको प्रतिक्रिया