‘नासै छ्याँबा’को म्युजिक भिडियो

समाधान संवाददाता २०७६ जेठ २ गते १५:४६

समाधान संवाददाता, काठमाडौं

‘नासै छ्याँबा मनो ह्योल’ अर्थात् ‘गाउँहरूमध्येमा मनाङको गाउँ राम्रो’ । अनि चेलीबेटीलाई सम्बोधन गर्दै अर्को लाइन जोडिन्छ ‘हो रिमै जो’ । गुरुङ भाषाको यो पहिलो अन्तरासँगै सुरु हुने नेपथ्यको चर्चित गीत ‘नासै छ्याँबा’ अब म्युजिक भिडियोमा उपलब्ध भएको छ ।

ब्यान्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ सन् २००४ ताका ट्रेकिङ गर्दै थोराङ पास नाघ्ने बेला मनाङकै परिवेशमा बसेर यसको रचना गरेका थिए । यसको रेकर्ड भने त्यसको ४ वर्षपछि अर्थात् सन् २००८ मा तयार भएको ‘ऐनाझ्याल’ एल्बमका निम्ति गरिएको थियो ।

Advertisement

पदयात्रीहरुका निम्ति प्रसिद्ध यो मार्ग लमजुङबाट सुरु भएर मनाङ हुँदै थोराङ ला नाघेपछि मुस्ताङ पुग्छ । बाटैमा मुक्तिनाथ पनि पर्छ । स्थानीयहरुका निम्ति भने यही मार्गले साँस्कृतिक सामाजिक महत्व पनि समेटेको छ । मनसुनको बेला लमजुङ र कास्कीका मानिस मनाङ हुँदै मुस्ताङ सम्म पुग्छन् । बाटोमा मुक्तिनाथ दर्शन गर्छन् । त्यसैगरी जाडोमा मुस्ताङ र मनाङका मानिस लमजुङ आउँछन् । यसरी ओहोर दोहोर गर्नेहरुको भावनालाई आधार बनाएरै यो गीत लेखिएको हो । ‘मलाई धेरै अघिदेखि गुरुङ गीत गाउने इच्छा थियो,’ अमृत भन्छन्, ‘त्यसै हिसाबले यसको रचना थालेको थिएँ ।’ तर, गीत पूरा हुने बेलामा भने नेपाली अन्तराहरु थपिए ।

‘त्यो बेला भाषा र जातका कुराले मुलुकको सामाजिक सद्भाव नै खलबलिने अवस्था देखेपछि मलाई असाध्यै नरमाइलो लाग्यो,’ अमृतले थपे, ‘त्यसैले गीतको पछिल्लो भाग चाहिँ नेपालीमै पुरा गरेको हुँ ।’ यो गीत विशेषतः पहाड र हिमालका बासिन्दाको बीचमा संवाद पनि भएको अमृत सुनाउँछन् ।

Advertisement

नेपाली संगीतमा संलग्न भएर नेपथ्यले २५ वर्ष बिताइसकेको छ । गत वर्ष रजत महोत्सवका अवसरमा ब्यान्डले आफ्ना गीतहरुलाई म्युजिक भिडियो बनाउँदै शृंखलाबद्ध रुपले सार्वजनिक गर्ने घोषणा गरेको थियो । त्यसैलाई निरन्तरता दिँदै यो म्युजिक भिडियो तयार पारिएको हो । पुराना गीतहरुलाई युट्युब दर्शकको निम्ति पुनः ताजा गर्ने उद्देश्यले यसको भिडियो तयार पारेको नेपथ्यलाई व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया