जननेता मदनको बाटोमा हिँड्ने तर बाटो नदेख्ने

समाधान संवाददाता २०७६ जेठ ३ गते १२:१५

विवेक देवकोटा

Advertisement

विसं. २०५० साल जेठ ३ गते दुई वटा दिप निभे तर दुई दिपको उज्यालो राप भने हराएन । आज पनि जेठ ३ गते जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितले चिर निद्रा लिएको दिन । हामी सधैँ यहीँ जेठ ३ मा हाम्रा प्रिय नेताहरुलाई सम्झन्छौँ । विशेष गरी मदन भण्डारी र जनताको बहुदलीय जनवाद (जबज)लाई विषय नै बनाएर मुक्तकण्ठले समयको बिना प्रवाह शृङ्गारिक ढंगबाट प्रवचन हुन्छ । त्यसको निरन्तरता आज पनि छ । अरु ३६४ दिन ।

जननेता मदनको बाटोमा हिड्ने तर बाटो नदेख्नेहरुले पनि आज भने मदन भण्डारीको विचार जनताको बहुदलिय जनवाद नेपाली समाजको निर्विकल्प मार्गदर्शन हो भनेर दर्शकदीर्घामा बस्नेहरुको समेत मनपेट खुशी बनाउँछन् । समय बदलिएको छ, नेपालका सबै कम्युनिष्ट पार्टीहरु (जबज)को बाटोमा हिँड्छन् तर बाटो देख्दैँनन् ।

Advertisement

त्यस्तै मध्येको एउटा ठूलो पार्टी १० वर्ष जनयुद्ध गरेर गणतन्त्रलाई योगदान पुर्‍याएको पार्टी माओवादी केन्द्रले पनि डेढ वर्ष अघिसम्म (जबज)को बाटोमा हिँडे पनि बाटो देखेको थिएन तर डेढ वर्ष अघि (जबज)को बाटो र बाटो हिड्नेहरुको साथ खोज्दै माओवादी केन्द्र पार्टी एमालेसँग एकसाथ चुनावमा होमियो ।

आजको १ वर्ष अघि २०७५ जेठ ३ गते दुईवटा पार्टीको बिचमा ऐतिहासिक एकता पनि सम्भव भयो । आज २०७६ जेठ ३ गते दुई पार्टी एकताबाट नवनिर्माण भएको नेपाल कम्युनिष्ट पार्टीले सम्पूर्ण मातहत कमिटीहरुको एकता लगभग टुङ्ग्याउदै छ तर मुख्य कुरा अझै पनि प्रश्नवाचक (?) मै रह्यो । त्यो के भने मदनको बाटोमा हिड्ने तर बाटो देख्ने कि नदेख्ने ? भन्ने विषय गम्भीर प्रश्न हो ।

Advertisement

समाजवादी सत्ता स्थापना गरी विना नतिजा गरल्याम्म ढलेको शोभियत संघको घटनाले विश्वभरीका कम्युनिष्टहरुलाई निरुत्साहित बनाएको बेला नेपालमा माक्र्सवादको सिर्जनात्मक प्रयोग गरी जनताको बहुदलिय जनवाद जस्तो व्यवहारिक कार्यक्रम प्रतिपादन नगरेको भए आज हामी कहाँ हुन्थ्यौं ? यो कुरा सयौं पटक नेताहरुको मुखारबाट सुनेको आधारमा लेखेको हुँ ।

यदि साँच्चै (जबज) बिना नेपाली कम्युनिष्ट आन्दोलन चल्दैन र नयाँ क्रान्तिमा थप भएका १४ विशेषताहरु (बहुदलिय खुल्ला समाज, शक्ति पृथकिकरणको सिद्धान्त, मानव अधिकारको रक्षा, बहुदलिय प्रतिस्पर्धाको प्रणाली, आवधिक निर्वाचन, बहुमतको सरकार र अल्पमतको विपक्ष, कानुनको शासन, जनताको जनवादी व्यवस्थाको सुदृढिकरण, विदेशी पुँजी र प्रविधि, क्षतिपूर्ति, विदेश नीति, नेतृत्व र अभिनायकत्व र जनताको बहुदलिय जनवाद)को विकल्प छैन भने किन ? (जबज)को बाटोलाई चक्ल्याउने, नाला खन्ने, कालोपत्रे गर्न तिर नलागेर भिरमा बाउसी चलाउने तर्फ बहस हुँदैछ ।

नेपालका लाखौं कम्युनिष्ट सर्मथक र हजारौ कार्यकर्ताहरुले मदन भण्डारीको विचार जनताको बहुदलिय जनवादलाई रुचाएको दृष्टान्तलाई किन नजर अन्दाज गरिदैँ छ । पार्टी

एकता लगत्तै केही भुत्ते तर्क
राख्ने व्यक्तिहरुले (जबज)को औचित्य सकिएको ठहर गर्नु, (जबज)माथि परिचर्चा नगरिनु, (जबज)को सारमा भन्दा पनि नाममा विवाद गरिनु, पार्टीका व्यानरहरुमा (जबज) शब्दले स्थान नपाउनु र भुत्ते तर्कहरुको झाङ बढ्दै जानु (जबज)को विकल्प खोज्नु हो । (जबज)को विकल्प खोज्नु भनेको जनताले नेकपा कै विकल्प खोज्नु हो भन्ने कुरा नेतृत्वले बुझेकै होलान् । विचार र सिद्धान्तहरु कसैका पेवा हुँदैनन् ।

त्यसैले (जबज) एमालेको हो वा माओवादीको होइन भनिरहनु पर्दैन । (जबज)लाई अन्तर मनमा बोकेर निर्माण भएको संविधान के मात्र नेकपाको हो ? (जबज) कै मर्ममा बन्ने अबका विभिन्न ऐन तथा कानुनहरु के मात्र नेकपाका हुन्छन् ? जब संविधान ऐन कानुनहरु नै सबै पार्टी सबै जाति समुदाय र सारा नेपालीहरुको हो भने (जबज) नेकपाको मार्गदर्शक सिद्धान्त नहुनु पर्ने किन ? सिद्धान्तको वस्तुगत विश्लेषण नगरी शब्द लेख्ने र नलेख्ने भन्ने जुङ्गे लडाइबाट मुक्त भएर (जबज) माथिको बहस र यसमा गरिनुपर्ने विकास तिर सबैले ध्यान पुर्‍याउदा समाजवादको यात्रा परिपक्क होला ।

मैले यति कुरा लेखिरहदा पार्टी एकताको बिचमा सिद्धान्तको कुरा नगरिएकै राम्रो सिद्धान्त पार्टी महाधिवेशनले टुङ्ग्याउछ भन्नेहरुलाई पनि सम्झिएको छु । उनीहरुलाई मेरो केही भन्नु छैन । मात्र नेपाली उखान सम्झिए पुग्छ ‘खाली दिमाग सैतानको घर’ यत्तिकै त नेता कार्यकर्ताहरुमा विचारको खडेरी छ । झन् त्यसमाथि महाधिवेशन कुर्ने कुरुवा दुई वर्षले दिमागलाई शुन्य नबनाउला भन्न सकिदैँन । अर्को तिर भिरमा बाउसी चलाउनेहरुले दाउ कुरिरहेकै छन् । (जबज) माथिको प्रहार निरन्तर चलिरहने भएपछि पार्टीका सम्पूर्ण कार्यकर्ताहरुलाई जनताको बहुदलिय जनवादको सैद्धान्तिक मर्म, औचित्य र आवश्यकताका बारेमा प्रशिक्षित गराइएन भने भुत्ते विचारका झाङहरुले आफ्नो आकार बढाउँदै लैजान्छन् ।

त्यसै कारण पार्टीका सम्पूर्ण कमिटीहरुको एकता टुङ्गिए लगत्तै (जबज)लाई केन्द्रमा राखेर विचारको बहस आवश्यक छ । आजभोलि (जबज)को बाटोमा हिड्ने तर विचारको बाटो नदेख्नेहरुका पछि लाम लाग्ने केही मन्द बुद्धिहरुलाई सोध्दा बाटो किन देखिएन ? भन्यो भने चश्माले गर्दा भन्छन् । यस्ता उल्टा मुखका मन्द बुद्धिहरुलाई पार्टीका बफादार कार्यकर्ताहरुका बिचमा पुग्न नदिन पनि पार्टी र जनसंगठनका आधिकारिक फोरमबाट बैचारिक बहस र प्रशिक्षणका कार्यक्रमहरु चलाउनु पर्छ ।

नेपालको माटो, भाषा, संस्कृति र दुई ठूला अर्थतन्त्र भएका देशहरुको बिचमा भुपरिवेष्ठित हुनुको यथार्थ बोकेको देश नेपाल सुहाउँदो विचार जनताको बहुदलिय जनवादले गर्दा नै आज कम्युनिष्ट पार्टीको नेतृत्वमा दुई तिहाई बहुमतको सरकार संचालन गर्ने अवसर प्राप्त भएको हो ।

यो यथार्थलाई कुल्चेर हिड्ने प्रयत्न गरियो भने नेपाललाई आफ्नो स्वार्थको क्रृणा स्थल बनाउने अमेरिका, युरोपियन र उत्तरी मुलुकहरुको चाहना पूरा हुन्छ । त्यसो त सम्पूर्ण सचेत नेता कार्यकर्ता र समर्थकहरुले नेकपाको वैचारिक लाईन (जबज)लाई स्थापित गर्ने अभियानमा आफ्नो भूमिका निर्वाह गरौं मदनको बाटोमा हिँड्ने तर बाटो नदेख्ने र दह्रो खुट्टा नटेक्नेहरुलाई पाखा लाउदै देश बचाऔं, पार्टी बचाऔं । अभिवादन

देवकोटा अनेरास्ववियू कास्कीका अध्यक्ष हुन्

तपाईको प्रतिक्रिया