चट्याङले हानेपछि पाेखरा महानगरमा टोकन प्रणाली ठप्प

समाधान संवाददाता २०७६ जेठ ४ गते ८:४१

समाधान सम्वाददाता

सेवाग्राहीको सजिलोका लागि पोखरा महानगरपालिकाले सुरु गरेको टोकन प्रणाली २ महिनादेखि अवरुद्ध छ । कर तिर्न जानेहरु टोकन लिन्थे र पालोमा बस्थे । तर अचेल टोकन बक्स गायब छ ।

शुक्रबार, अपराह्न ११ बजे पोखरा महानगरपालिकाको कार्यालय परिसरमा भेटिएका एक सेवाग्राहीले भने, ‘टोकन हुँदा सजिलो भाथ्यो । नम्बर लिएर लाइनमा बस्न पाइन्थ्यो । अहिले त लाइनमै उभिनुपर्छ ।’

Advertisement

महानगरको राजस्व शाखाको टोकन बक्स नहुँदा मर्का परेको सेवाग्राहीको गुनासो छ । राजस्व शाखा अधिकृत छविलाल शर्माले आफूले टोकन बक्स नै नरहेको ध्यान नदिएको प्रतिक्रिया दिए । ‘१-२ हप्ताअघिसम्म यहीं थियो । अहिले कता गएछ थाहा भएन,’ उनले भने । शर्माले टोकन बक्स के कारणले बिग्रिएको हो आफूले बुझ्ने बताए ।

पोखरा महानगरपालिकाका सूचना अधिकारी गंगालाल सुवेदीका अनुसार चट्याङले ‘टोकन बक्स’को प्रिन्टर खाइदिएपछि मर्मतका लागि पठाइएको छ । ‘२ महिनाअघि चट्याङले बक्सको प्रिन्टर खाइदिएको थियो,’ उनले भने, ‘मर्मतकालागि काठमाडौं पठाइएको छ ।’

Advertisement

यसअघि पनि टोकन बक्स सञ्चालनमा ल्याएको, बिग्रिएपछि प्रयोगमा नआएको उनले जानकारी दिए । एउटा टोकन बक्स मूल्य ४ लाख रुपैयाँको हुने उनले बताए । सेवाग्राहीले महानगरको प्रविधि बिग्रिएको लामो समयसम्म मर्मत नगरिनु लापरबाही भएको बताए ।

तपाईको प्रतिक्रिया