नीलकमल अपहरण काण्डः ३ भारतीय थुनामा

समाधान संवाददाता २०७६ जेठ ५ गते ११:१९

पृथ्वीचोकस्थित होटल नीलकमलका सञ्चालक शालिग्राम पौडेल अपहरणमा संलग्न ३ भारतीय नागरिकलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश कास्की अदालतले दिएको छ ।

न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले उक्त आदेश गरेको छ । थप अनुसन्धानका लागि उनीहरुलाई थुनाको आदेश भएको छ ।

विहार बनारपुरका ३९ वर्षीय सुनीलकुमार तिवारी, सोही ठाउँका सुन्दरम तिवारी र अविजित राय बिहीबारै कास्की कारागार पठाइएका छन् । उक्त दिन अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीश अधिकारीले पुर्पक्षका लागि थुन्ने आदेश दिएका हुन् ।

Advertisement

ती भारतीयमाथि बुधबार जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले अपहरण र शरीर बन्धक एवं डाकाचोरीसम्बन्धीको मुद्दा दर्ता भएको थियो । अपहरणमा परेका पौडेलको अहिले पोखराको फिस्टेल अस्पतालमा उपचार भइरहेको छ । उनको दुवै हात र खुट्टामा चोट लागेको छ ।

भारतको विहारबाट पोखरा आएका सुनील, सुन्दरम र अविजित १७ वैशाखमा पृथ्वीचोकको होटल नीलकमलमा बसेका थिए । उनीहरुले होटलमा खाएको पैसा नभएका कारण एटिएमबाट पैसा निकालेर दिन्छु भन्दै भोलिपल्ट पौडेललाई कारमा लगेका थिए ।

Advertisement

पहिला सुरुमा सिर्जनाचोक लगे पनि उनीहरुले राष्ट्रबैंक चोक हुँदै ड्यामसाइड पुगेर होटल केसीमा चिया खाएको प्रहरीले अनुसन्धानमा खुलेको छ । उनीहरुले पौडेलसँग भएको मोबाइल खोसेको र मुख बाँधेर पिट्दै स्याङ्जातिर लगेको प्रहरीले बताएको छ ।

पौडेल कारभित्र नै छटपटाएपछि कारको ढोका खोलेर उनी सडकमा बजारिएका थिए । बाटोमा हिँड्दै गरेको ट्याक्सी चालकले घटना थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । स्थानीय युवाले उक्त गाडीको पिछा गरेका थिए । स्याङ्जाको फेदीखोला पुगेपछि फेदीखोलामा स्याङ्जा प्रहरीको समन्वयमा कार र अपहरणकारी पक्राउ गरिएको थियो ।

त्यसरी अपरहण गरेको हुँदा ती भारतीयलाई पक्रेर कास्की प्रहरीले अनुसन्धान गरेको थियो । प्रहरीले बैंक खाता र उनीहरुको सम्बन्धबारे अनुसन्धान गरेका थियो ।

तपाईको प्रतिक्रिया