प्राचिन संस्कृति जोगाउन देउराली पूजा

समाधान संवाददाता २०७६ जेठ ५ गते १४:०२

समाधान संवाददाता
पोखरा

प्राचीन संस्कृति जोगाउने लक्ष्यका साथ सिलिंगे चेतना महिला समूहको आयोजनामा पोखरा ३३ हुडिकोट देउरालीमा शनिबार सामूहिक पूजा गरिएको छ । खडेरी परेको अवस्थामा धूमधामसँग पूजा गरी पानी माग्ने र सोही दिन पानी पर्ने गरेको वास्तविकता समेतका आधारमा श्रद्धाभक्तिपूर्वक पूजा गरिने देउराली मन्दिरमा संस्कृतिको निरन्तरताका लागि पूजा गरिएको हो ।

यस वर्ष खडेरीको समस्या नरहे पनि सबैको सुख, शान्ति र समृद्धिको कामना गर्दै देउराली पूजा गरिएको सिलिंगे चेतना महिला समूहकी अध्यक्ष लक्ष्मी पौडेलले जानकारी दिइन् । यसअघि बलि पूजा गर्ने गरिए पनि यस वर्ष नरिवल बलि दिएर पूजा गरिएको अध्यक्ष पौडेलले बताए । उनले समूहले देउराली पूजालाई निरन्तरता दिइने उल्लेख गरे ।

समाजसेवी लोकबहादुर महतले प्राचीन कालदेखि विशेषतः खडेरी परेका बेला देउरालीको विशेष पूजा गर्ने गरिएको जानकारी दिंदै पूजाका दिन पानी पर्ने गरेकाले यस शक्तिपीठप्रतिको आस्था बढ्दै गएको बताए । प्रचलन अनुसार प्रत्येक वर्षको वैशाख शुक्ल पूर्णिमाका दिन गरिने देउराली पूजा हुडिकोट देउरालीसहित यहाँका अन्य विभिन्न शक्तिपीठमा एकसाथ गर्ने गरिएको थियो ।

Advertisement

माझथरका वासिन्दाले हुडिकोट देउराली, धारपानीका वासिन्दाले भैरम थान, बरपौवाका वासिन्दाले व्यारथोक देउराली र मासवारी टोलका वासिन्दाले नाउरुङमा एकसाथ एकै दिन पूजा गर्दै आएका थिए । हुडिकोट देउराली यस क्षेत्रको महत्वपूर्ण शक्तिपीठ भएको बताउँदै बयोवृद्ध तीलकराम पौडेलले हाम्रो प्राचीन संस्कृतिलाई जोगाइराख्नु अपरिहार्य भएकामा जोड दिए ।

केही वर्ष अघिसम्म सामान्य चौतारोमा ढुंगाको शिलामात्र रहेको देउराली थानलाई सिलिंगे चेतना महिला समूहको सक्रियतामा मन्दिर सहित कम्पाउन्डिङ गरिएको समूहकी पूर्व अध्यक्ष कर्णकुमारी महतले बताइन् । महत्वपूर्ण शक्तिपीठ भएका कारण पूजाको निरन्तरताका साथै यसको संरक्षण र विकास अपरिहार्य भएको उनको भनाइ छ ।

Advertisement

तपाईको प्रतिक्रिया