करिडोर सडक मापदण्ड बिस्तारमा सहयोग गर्न लेतेबासी राजि

समाधान संवाददाता २०७६ जेठ ५ गते १४:५४

सुन्दरकुमार थकाली
मुस्ताङ

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर अन्तर्गतको बेनी–जोमसोम सडक स्तरोन्नतिमा आवश्यक सहयोग पूर्‍याउन थासाङ गाउँपालिका लेतेका स्थानीयले राजी भएको आयोजनाका ईन्जिनीयर जगत प्रजापतिले जानकारी दिए ।

करिडोरको ११ मिटर सडक मापदण्डका बारेमा स्थानीयबासी संग शनिबार भएको बृहत छलफलमा गाउबासीले यस्तो बताएको ईन्जिनीयर प्रजापतिले उल्लेख गरे । करिडोरले साविक सडकको मध्यभागबाट दाया–बाया ५।५ मिटर कायम गर्ने गरी सडक मापदण्ड कायम गरेको हो ।

Advertisement

ईन्जिनीयर प्रजापतीले करिडोर सडक मापदण्डमा पर्ने गाउबस्तीका जनतालाई जानकारी गराएर सडक बिस्तार अघि बढाउने तैयारी गरेको खुलाए । सडक मापदण्डबारेमा थासाङ गाउपालिकाका अध्यक्ष बुद्धिप्रसाद शेरचनसहितको उपस्थितीमा भएको गाउ भेलामा स्थानीयले मापदण्ड अनुसार काम गर्न अवरोध नपूर्‍याउने बचन दिएका हुन् । उनीहरुले सडक बिस्तारले मात्र जिल्ला समृद्ध हुने उल्लेख गर्दै विकासका लागि आवश्यक सहयोग गर्न राजी भएको गाउलेहरुले जनाएका छन् ।

करिडोर सडक आयोजनाले बेनी–जोमसोम सडकमा मापदण्ड बारे स्थानीय स्तरमा पुगेर सहमति खोज्ने प्रयास गरेको हो । यसअघि करिडोरको पहलमा मुस्ताङ सदरमुकाम जोमसोममा सरोकारवालाहरुसंग छलफल गरिसकेको छ । जोमसोममा पुनः प्रि सर्वे गर्ने सहमति भएपछि पुनः सर्वे गरिएको ईन्जिनीयर प्रजापतिले बताए । करिडारले मुस्ताङको जोमसोममा १ वर्षअघि मापदण्ड रेजा लगाएको हो । स्थानीयको आग्रहपछि सर्वे भएको र बिवाद समस्या सुल्झिएको उनले जानकारी दिए ।

Advertisement

करिडोरको मापदण्ड अन्तर्गत मुस्ताङको जोमसोममा धेरै घर टहरा पर्ने देखिएको छ ।यस्तै, स्याङ, मार्फा, कोवाङ, लेते र घासा लगायतका स्थानमा पनि केही घर टहरा मापदण्ड अन्तर्गत पर्ने ईन्जिनीयर प्रजापतिले उल्लेख गरे । तर,मुस्ताङको थाक टुकुचेको सडक मापदण्ड बिचाराधिन रहेको प्रजापतिले बताए ।

थाक टुकुचेको सिरान टोलका २८ घर धुरी मापदण्डले बिस्थापित हुने देखिएपछि बैकल्पिक मार्गको अवधारणा उठेको छ । स्थानीयले टुकुचे बस्ती बाहिरबाट सडक बिस्तार गर्न करिडोरलाई अनुरोध गरेका थिए ।यो समस्या सडक बिभाग सम्म पुगेकाले मन्त्रालयको निर्णय अनुसार टुङ्गो लाग्ने उनको भनाई छ ।

यस्तै करिडोरले म्याग्दी जिल्लामा पनि सडक मापदण्डबारेमा लगत सर्वेक्षण गरेको जनाईएको छ ।आयोजनाले म्याग्दीका १ दर्जन गाउँलाई सडक मापदण्डले छोएपछि त्यसको डाटा म्याग्दी प्रशासनमा बुझाएको ईन्जिनीयर प्रजापतिले जनाए ।

उनका अनुसार म्याग्दीको बहुचर्चित तातोपानी कुण्डमा पनि सडक मापदण्डमा पर्ने देखिएको भएपनि हाललाई सोही अनुसार थाती राखेर अन्य स्थानमा मापदण्ड पहिचानको प्रक्रिया अघि बढेको उल्लेख गरे । करिडोर आयोजनाले म्याग्दीमा पनि स्थानीय स्तरमा छलफल अघि बढाउने जनाएको छ ।

तपाईको प्रतिक्रिया