१६ ओैं रोट महोत्सव सुरु

समाधान संवाददाता २०७६ जेठ ५ गते १५:१३

मोहसिन अली मियाँ
गोरखा

गोरखनाथ गुफामा १६ औं सवा लाख रोट महोत्सव सुरु भएको छ । सिद्धाश्रम शक्ति केन्द्र गोरखाको आयोजनामा सुरु भएको महोत्सव १४ गतेसम्म चल्नेछ । प्रसिद्ध धार्मिक स्थल गोरखाको गोरखनाथ गुफामा १५ वर्षदेखि महोत्सव हुँदै आएको छ ।

११ दिनसम्म चल्ने महोत्सवमा गुरु गोरखनाथलाई सधैका वर्षझैं यसपालि पनि १ लाख २५ हजार रोट चढाइने आयोजकले बताएको छ । रोट महोत्सवको पहिलो दिन शनिबार गोरखा बजारदेखि गोरखा दरबारसम्म रथ यात्रा आयोजना गरिएको छ । महोत्सवमा गोरखनाथलाई मन पर्ने खानेकुरा रोट चढाइने, भजनकीर्तन लगायतका कर्म गरिने बताइएको छ । नयाँ चामलको पीठोलाई घिउमा पकाएर गोरखनाथलाई चढाएरमात्रै स्थानीयले खाने र अरुलाई प्रसादका रुपमा खुवाउने प्रचलन छ ।

Advertisement

चामलको पीठोमा नरिवल, ल्वाँङ, अलैची, चिनी लगायत ३३ प्रकारका मसाला मिलाएर रोट बनाउने गरिन्छ । गुरु गोरखनाथलाई खुसी बनाउदा नेपाल र नेपालीको कल्याण हुने, गोरक्ष शक्तिको जागरणसँगै आध्यात्मिक युगको निर्माण हुने र देशको शान्ति र समृद्धिका लागि महोत्सव आयोजना गरिएको सिद्धाश्रम शक्ति केन्द्र गोरखाका संयोजक किशोरकुमार अकेलाले बताए ।

कार्यक्रम आयोजनाका लागि सिद्धाश्रम शक्ति केन्द्र पोखरा, काठमाण्डौ, चितवन लगायतबाट सहयोग जुटेको संयोजक अकेलाले बताए । हरेक वर्ष आयोजना हुने रोट महोत्सव अवलोकनका लागि भारतका बिभिन्न सहर लगायत देशभित्रका बिभिन्न जिल्लाका भक्तजनको भीड लाग्ने गरेको छ । ११ दिनसम्म चल्ने महोत्सवमा आउने भक्तजनका लागि खाना तथा आवासको समेत व्यवस्था आयोजकले नै मिलाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया