—सम्पादकीय— सडक बालकको संरक्षण गर

समाधान संवाददाता २०७६ जेठ ५ गते १६:०६

पोखरा महानगरपालिकामा पोखरामा ७९ जना बालबालिका र ८ जना युवा सडकमा रहेको तथ्यांक हालै सार्वजनिक भएको छ । तर भनिन्छ सडक बालबालिकासँग सम्बन्धित रहेर काम गर्ने भनेर खुलेका संस्था पोखरा महानगरपालिकामा झन्डै सयवटै छन् । एक सडक बालक बराबर एउटा संस्था जो छ ।

तर किन सडक बालबालिकाहरुको व्यवस्था हुन सकेको छैन त ? कि सडकमा बालबालिका भइरहे आफ्नो खेती फस्टाइरहन्छ भनेर ती गैससहरु चुप छन् । के ती गैससको साँच्चीकैको नियत सडक बालबालिकाको हितमा काम गर्ने हो ? कि तिनीहरुको बहानामा आफ्नो ?

गण्डकी प्रदेश सरकारले सडक बालबालिकाको संरक्षणमा पोखरा महानगरपालिकाले हातेमालो गर्ने भनेको छ । सामाजिक विकास मन्त्रालयले सडक बालकालिकाको संरक्षणका लागि ८५ लाख रुपैयाँभन्दा धेरै बजेट छुट्टाएको छ । यसो हेर्दा एकजना सडक बालकका लागि १ लाख रुपैयाँकै बजेट पर्छ ।

Advertisement

त्यसमा अझै महानगरपालिकाले पनि थप्ला । सडकमा आएका बालबालिकाहरुलाई सुरक्षित आश्रय प्रदान गर्ने, तिनका परिवारसँग मिलन गराउने काम हुनुपर्छ । सकेसम्म त बालबालिकाहरु सडकमै आउने वातावरण बन्न दिनु हुँदैन । आएकाहरुलाई तुरुन्तै आश्रयस्थलमा राख्ने र पढाइलेखाइमा लगाउने वा उमेर पुगेको छ भने व्यावसायिक तालिम दिएर दक्ष बनाउनुपर्छ ।

युवा अवस्थामा पुगेका उनीहरुलाई त्यस्तो सिप दिऔं जसबाट उनीहरु श्रम गरेर जीविकोपार्जन गर्न सकून् । १८ वर्षभन्दा कम उमेरका भए पढाइलेखाइमा लगाएर साक्षर त बनाउनु पर्छ नै । रुचि राख्छन् भने उच्च शिक्षासम्म जाने गरी पढ्ने अवसर दिनुपर्छ । नियमित स्कुल गएर आपूmसँग उमेर नमिल्नेहरुसँग सँगै बसेर पढ्न अप्ठेरो मान्छन् भने सडक बालबालिकालाई छुट्टै प्रकारले पढाउने व्यवस्था महानगरपालिकाले मिलाउनुपर्छ ।

Advertisement

प्रायः सडक बालबकालिका पृथ्वीचोक, शान्तिवन, महेन्द्रपुल, न्युरोड र लेकसाइड क्षेत्रमा देखिन्छन् । मागेर खाने र पिँढीहरु सुत्ने गर्छन् । कतिपयले दिनभर फोहोर बटुल्छन् र बेचेर आम्दानी पनि गर्छन् । तर आम्दानीको सदुपयोग गर्दैनन् । लागुऔषध सेवन गर्छन् । पोखराको सुरक्षामा पनि सडक बालकहरु चुनौती बनेका दृष्टान्त छन् । चोरीमा उनीहरुको संलग्नता देखिएको प्रहरी बताउँछ ।

माघ १० गते बगालेटोलमा १ विवाहमा आएकी बागलुङकी महिलाको सुनको सिक्री, १५ हजार नगद र मोबाइल चोरीमा सडक बालकको संलग्नता देखियो । भदौ ३१ गते पोखरा सिर्जनाचोकस्थित जनएकता बचत तथा ऋण सहकारीबाट ९ लाख रुपैयाँ चोरी, गत भदौ १६ गते पोखरा ६ लेकसाइडस्थित एभरेस्ट मनी एक्सचेन्जरबाट ९६ हजार चोरी भएको थियो । ती घटनामा पनि सडकबासी बालकहरुको संलग्नता रहेको प्रहरी बताउँछ ।

लेकसाइडमा एकजना सडक बालकको हत्या अर्का सडक बालकले गरे । माघ २९ गते लेकसाइडमा पाल्पा स्थायी घर भएका १४ वर्षीय सचीन सिञ्जालीको हत्या गरेको आरोपमा उनका साथी पर्वतका २१ वर्षीय बेनिकाले भनिने कुमार गर्बुजालाई प्रहरीले पक्राउ ग¥यो । यी घटनाहरुबाट पाठ बेलैमा सिकिएन भने अझै ठूला दुर्घटना नहोलान् भन्न सकिन्न ।

यसै पनि कुनै व्यक्ति घरविहीन भएर सडकमा बरालिनु हुँदैन । राज्यको कर्तव्य हुन्छ, तिनलाई उचित व्यवस्था गर्नु । त्यही कर्तव्यलाई आत्मसात गरी स्थानीय र प्रदेश सरकारले सडक बालबालिकाहरुको उचित संरक्षणको पहल गरोस् । दीर्घकालीन नीति ल्याएर कोही पनि सडकमा आउन नपर्ने वातावरण बनाओस् ।

तपाईको प्रतिक्रिया