कास्कीकी कामना क्यानाडामा क्याप्टेन

समाधान संवाददाता २०७६ जेठ ६ गते ८:००

विनुप भट्टराई

हिजो उनी टेक्सस् थिइन्, आज टोरन्टो । भोलि र पर्सी छुट्टी, घरै बस्छिन् । शुक्रबार टोरन्टोबाट शिकागो लाग्छिन्, फर्केर फेरि न्युयोर्क । शनिबार टोरन्टोदेखि अटोवा, भोलिपल्ट फेरि अटोवाबाट बोस्टन पुग्छिन् ।

महिनामा १६ दिन बाहिर, १४ दिनमात्रै घर । त्यसमा सयौं घन्टा त उडेको उ्डयै आकाशमै । हिउँ परोस् या पानी, तालिका उही । घाम लागोस् या बादल, जिम्मेवारी उही । यो एक ३२ वर्षीया नेपालीमूलकी युवतीको व्यस्त दिनचर्या हो, जो क्यानडाको टोरन्टोस्थित पिअर्सन एअरपोर्टलाई आधार बनाएर उत्तर अमेरिकी सहर पुग्न आकाशलाई यसैगरी फन्को मार्छिन् ।

हवाईजहाजमा यसरी घुम्ने उनी व्यस्त सेलिब्रिटी या व्यापारी होइनन्, ३ ‘क्रु मेम्बर’ सहित ९७ यात्रुको अगुवा भई आफैं जहाज उडाउने हँसिली ‘क्याप्टेन’ हुन्, त्यो पनि नेपालीमूलकी ।

जन्मस्थानः पोखरा, कास्की ।
शिक्षाः फ्लाइट डिग्री ।
रुचिः हवाई उड्डयन ।
हालको बसाईः टोरन्टो, क्यानडा ।
नोकरीः एअर क्यानडा ।
नामः कामना सुवेदी ।
पदः क्याप्टेन ।

इन्जिनियरिङ पेसामा रहेका बुबा ध्रुव र आमा कल्पना सुवेदीको कोखबाट जन्मिएकी कामना उड्डयन क्षेत्रमा लागेको झन्डै १ दशक भयो । तर, क्यानडाको राष्ट्रिय ध्वजाबाहक विमान एअर क्यानडामा क्याप्टेनको महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै उत्तर अमेरिकी सहरमा उडान भर्न थालेको चाहिँ लगभग २ वर्ष मात्रै । सुवेदी परिवारमा कान्छी छोरीका रुपमा जन्मिएकी हुन्, कामना । उनकी दिदी सञ्जिना अमेरिका छिन् । न्युयोर्क्िस्थत विङ्हम्टन युनिभर्सिटीमा प्रोफेसर । भाइ कुसल चाहिँ बुवाआमासँग क्यानडामै ।

पोखरामा जन्मिएर १० कक्षासम्म त्यहींको विन्द्येश्वर बोर्डिङ स्कुल पढेकी कामना अहिले ‘एअर क्यानडा’ को ‘एम्ब्राएर १९०’ जहाजकी क्याप्टेन छन् । यो ब्राजिलियन विमानलाई उनले सन् २०१७ देखि उडाइरहेकी छन् ।

देश–विदेशका २ सय २२ गन्तव्यमा उडान भर्ने एअर क्यानडामा ४ हजार जति पाइलट छन् । त्यसमा करिब ५ प्रतिशत मात्रै महिला । तर, त्यो ५ प्रतिशतमा पर्न सफल ‘क्याप्टेन’ कामना दैनिकजसो उडान भर्दैछिन् । ३६ हजार फिटमाथि उड्दै लोभलाग्दा दृश्य नियाल्नुको मजा आम मानिसले देख्न र भोग्न मुस्किल पर्ने उचाईको दैनिक यात्रा ।
‘हो, मैंले जो कसैले देख्न नपाउने दृश्य र महसुस गर्न नसक्ने क्षण आकाशमा देख्ने–भोग्ने गरिरहेकी हुन्छु’ कामनाले पिअरर्सन एअरपोर्ट परिसरमा मंगलबार ब्रेक एन्ड लिंक्सलाई आफ्नो उड्डयन अनुभव सुनाइन्, ‘र, कहिलेकाहीं बिजुली चम्किँदै चट्याङ पर्दै गरेको डरलाग्दो क्षण, बादल जम्मा भएर वर्षा हुँदै गरेको कालो आकाश र हिउँ नै हिउँ झर्दै गरेको सेताम्य धर्ती जहाजबाटै देख्न पाउँछु ।’

प्रकृतिसँग त्यसरी पौंठेजोरी खेल्दै यात्रु र जहाजलाई गन्तव्यमा सधैं सकुशल अवतरण गराउनसक्नु पक्कै लरतरो काम होइन, जो उनी कुशलतापूर्वक पूरा गरिरहेकी छन् । तर, यो सफलता र जिम्मेवारी एकैपल्ट मिलेको भने होइन, वर्षौंको अध्ययन, अथक मेहनत र कहिले नडगमगाउने आत्मविश्वासले आर्जन भएको हो ।

कामनाको पाइलट बन्ने रहर बुझ्न पोखरा फर्कौं । यो उनी ४-५ वर्षकी छँदाको कुरा हो । नर्सरी कक्षामा दोस्रो हुँदा बुबाले घरमा सानो ‘पार्टी’ गरेको रहेछ । छतमा बसेर खानेकुरा खाँदै गर्दा पोखराबाट जोमसोमतर्फ जाँदै गरेको हवाईजहाज नजिकैबाट उडेछ ।

‘बुवा, यो कसले उडाउँछ ?’ कामनाको प्रश्न । ‘यो पाइलटले उडाउँछ’ बुबाको उत्तर ।
त्यसपछि कामनामा छतमा निस्किँदै दिनका दिन ‘पाइलट हुने’ बालहठ पलाएछ । त्यो कुरा कामनाले सम्झेकी छन् या छैनन्, बुबा ध्रुवले भने ‘छोरीको सफलतापछि बच्चैदेखि लुकेको हुटहुटी’ का रुपमा त्यसलाई सम्झिरहेका छन् ।

त्यस्तै, कामनाले हजुरबुवा रुद्रनाथसँग ‘पाइलट हुने’ जिद्दी कसेको प्रसंग पनि रोचक रहेछ । पोखराबाट काठमाडौं जाँदा हो या काठमाडौंबाट पोखरा, ४-५ वर्षकी उनी हजुरबुबाको काखमा थिइन् । त्यसबेलाका हवाईजहाजमा ककपिट खुल्लै हुने । पछाडिका यात्रुले पाइलटलाई सजिलै देख्नसक्ने ।

त्यसैको फाइदा लिँदै नातिनी र हजुरबुबाबीच संवाद भएछ, ‘ती अगाडिका मान्छे को हुन् ? कामनाको प्रश्न । ‘ती जहाज उडाउने पाइलट हुन्’ हजुरबुबाको जवाफ ।
हजुरबुबासँग हवाइयात्रा गरेको त्यही दिनदेखि ‘पाइलटै भएर छोड्छु’ भन्ने जिद्दी गरेकी उनले त्यो बालहठ कहिल्यै छोडिनन् । चाहे परिवारमा कोही हवाई क्षेत्रमा लागेको र जानकारै किन नहोस्, चाहे त्यसबेला नेपालमा सजिलै पाइलट हुनसक्ने अवस्था किन रहोस् ।

‘मेरो जिन्दगीमा पाइलट हुनेबाहेक कुनै विकल्प नै थिएन, त्यो जसरी पनि भएरै छोड्नुथ्यो’ सन् २००२ मा परिवारसहित क्यानडा आएकी कामनाले सुनाइन्, ‘जसका निम्ति परिवारको पूरै सपोर्ट त भयो नै, आफूले गर्ने मेहनत र परिश्रममा पनि कुनै अल्छी गरिनँ ।’

एसएलसीको तयारी चल्दै गर्दा क्यानडा आएपछि कामनाले ग्रेड ९ बाट मिसिसागाको एउटा स्कुलमा पढाइ सुरु गरिन् । त्यहाँबाट १२ छिचोलेपछि उनी सेनेका कलेज भर्ना भइन्– ४ वर्षे फ्लाइट डिग्री कोर्समा। लक्ष्य निश्चित थियो– पाइलट हुने । घर सल्लाह गरेपछि कलेज छान्न समय लागेन ।

‘ब्राम्प्टनको घरबाट बसमा डेढ घन्टा जान, डेढ घन्टा आउन लाग्थ्यो । हिउँ पर्दा होस् या झरी–पानी बर्सिदा प्रायः क्लास बंक गरिनँ’ कामनाले लक्ष्यप्रतिको लगनशिलता सम्झिइन्, ‘भर्ना भएकामध्ये ६५ देखि ७० प्रतिशतले हिम्मत हारेर पढाई छोड्थे, मैले त्यसो गरिनँ, किन कि मलाई पाइलटै हुनुथ्यो ।’

सन् २००९ मा फ्लाइट डिग्री सकेपछि उनले आफू अध्ययनरत त्यही सेनेका कलेजमा ‘फ्लाइट इन्सटक्टर’ को जागीर पाइन् । हवाईजहाज उडाउन विधिबारे कक्षाकोठामा पढाउनुपथ्र्यो भने पढाएको कुरा जहाज उडाएर व्यवहारमा सिकाउनुपथ्र्यो ।
सिकाउनेक्रममा कलेजको एउटा जहाज दुर्घटना भएछ । उनले होइन, अरु नै कसैले उडाइरहेको । त्यो घटनापछि ‘जोखिमपूर्ण काम’ भनेर बीचमै पढाई छोड्ने धेरै भएछन् । तर, उनले कुनै पनि काम सयमा सय प्रतिशत सुरक्षित नहुने निक्र्यौल गर्दै त्यता ध्यान दिइनन् ।

‘म इन्सटक्टर रहेकै बेला २ नेपालीमूलका विद्यार्थी भर्ना भएका थिए, तर त्यस्ता घटनाहरु देखेर बीचमै छोडे’ कामनाले अनुभव सुनाइन्, ‘भाग्नुथ्यो भने मलाई पनि कति हो कति बहाना थिए, तर मैले पाइलटै हुनुथ्यो जो भागेर सम्भव थिएन, संघर्ष नै गर्नुपथ्र्यो ।’

२ वर्षपछि उनको बायोडाटामा १ हजार घन्टा उडान अनुभव थपियो । आफूले पढ्दा र विद्यार्थीलाई सिकाउँदा उनले त्यति समय आकाशमा बिताएकी थिइन् । त्यसै आधारमा उनी सन् २०११ म ‘कार्गोजेट’ कम्पनीमा सेकेन्ड अफिसर भइन् ।

त्यसक्रममा बोइङ ७ सय २७ मा उनी रातभर उडेर क्यानडा र अमेरिकाका विभिन्न सहर पुग्थिन् । १ वर्षपछि त्यही विमानमा फस्ट अफिसर अर्थात् को–पाइलट भएर उडान भर्थिन् । सामान ढुवानी गर्ने हवाईजहाज भएकाले त्यो राति–राति उडाउनुपथ्र्यो ।

उनी रोकिनेवाला थिइनन्, जो अनुभवलाई आधार बनाउँदै अझ माथि पुग्न आतुर थिइन् । सन् २०१३ देखि १६ सम्म उनले स्काई रिजनल एअरलाइन्समा काम गरिन् । त्यसपछि एअर क्यानडा एक्सप्रेसमा । सबैतिरको उडान अनुभव २५ सय घन्टा पुगेपछि उनी २ वर्षदेखि एअर क्यानडामा ‘क्याप्टेन’ को जिम्मेवारीमा पुगेकी हुन् ।

‘लक्ष्य त अझ ठूलो जहाज लामो दूरीमा उडाउने नै हो, अहिले पाएको जिम्मेवारी पनि ठूलो र चुनौतीपूर्ण हो’ जसजति सबै स्टाफमा बाँडिने तर केही छिरिक्क भए अपजसजति आफ्नोमा आइपर्ने क्याप्टेन–कर्मबारे उनले भनिन्, ‘लामो दूरीमा उडान भर्न यी सबै अनुभव आवश्यक छन्, त्यसै अन्तिम लक्ष्यमा पुगिन्न ।’ कामनालाई त्यो अन्तिम लक्ष्य चुम्न अब मुस्किल नपर्ला ।

मोफ्ट पनि पाइलटै हुन्, जो एअर क्यानडामै छन् । उनीहरुबीच इन्गेज्मेन्ट भइसकेको छ । आगामी नोभेम्बरमा विवाह हुँदैछ । नेपालमा विवाह गर्ने इच्छा राख्दैछन् । त्यो अझै टुंगो छैन तर उनी ‘पोखरा गएको खण्डमा काम लाग्ने’ सोचेर प्याराग्लाइडिङसमेत सिक्दैछन् ।
नेपालमा सिभिल इञ्जिनियर रहेका ध्रुव नजिकका शुभचिन्तकको सल्लाहमा छोराछोरीको भविष्यकै लागि क्यानडा सरेका थिए । त्यसबेला इन्जिनियरजस्तो मान्छे विदेश गयो भनेर कुरा काट्नेको कमी थिएन । अहिले तिनै सन्तानको प्रगति देख्दा ध्रुवलाई ‘जे भयो राम्रै भयो’ लाग्छ ।

‘छोरी क्याप्टेन हुँदा खुसी त छँदैछु, निश्चित लक्ष्य बनाई मेहनत गरे सफल भइन्छ भन्ने कुराको पनि साक्षी भएको छु’ टोरन्टोमा सरकारी नोकरी गर्ने उनले भने, ‘छोरीले देखेको सपनामा हामीले मलजल गरिदियौं, सपनाको आकार फैलाउँदै उनी अझ अघि बढ्दै गइन् ।’ क्यानडाको नेपाली समुदाय कामनाको सफलताप्रति गौरव गर्दैछ ।

डेढ दशकदेखि टोरन्टो कर्मभूमि बनाएका एनआरएनए क्यानडाका पूर्वअध्यक्ष अनिल थापा भन्छन्, ‘विदेश बस्ने नेपालीलाई हेर्ने जुन संकुचित दृष्टि छ, त्यसलाई कामनाले गलत सावित गरिदिइन् । विदेशमा सफल हुने नेपाली पुस्ता यसैगरी बढ्नुपर्छ ।’ उड्डयन क्षेत्रमा महिला पाइलटलाई बढी चुनौतीपूर्ण हुने उल्लेख गर्दै पूर्वपाइलटसमेत रहेका थापाले ‘कामनाको सफलता चानचुने कुरा नभएको’ बताए ।

५ हजार घन्टा उडान अनुभव बटुलिसकेकी कामना बचेखुचेको समयमा पोखरा बस्ने ८४ वर्षीय हजुरबुबालाई आकाशबाट खिचेका फोटा पठाउँछिन्, जसको काखमा लुटपुटिँदै उनले ‘पाइलट हुने’ सपना देखेकी थिइन् । कामनाले मुहारमा खुसी ल्याउँदै भनिन्, ‘ती फोटो देख्दा सबैभन्दा खुसी हजुरबुबा नै होइसिन्छ ।’

घर बसेका बेला यी कास्कीकी छोरी, क्यानडाकी क्याप्टेन नेपाली परिकार बनाउन रुचाउँछिन् । उनले बनाउने मःम हुनेवाला पति सेथले एकपल्टमै २० वटासम्म खाइदिन्छन् रे । अनि, स्कटल्यान्डबाट सन् १९९७ मा क्यानडा आएका सेथको नेपाली परिकारप्रतिको रुचि र नेपाल प्रेम सुनाउँदै कामनाले एउटा चाहना राखिन्, ‘क्यानडाबाट एक न एक दिन आफैं विमान उडाएर काठमाडौं पुग्ने धोको छ ।’
त्यो धोको छिट्टै पूरा होस्, कामनालाई शुभकामना ।

तपाईको प्रतिक्रिया