नेपाल—अमेरिका सैन्य अभ्यास पोखरामा

समाधान सम्वाददाता
नेपाली सेना र अमेरिकी सैनिक प्यासिफिक कमान्डको संयुक्त आयोजनामा पोखरामा विपद् प्रतिकार्य सैन्य अभ्यास आइतबार सुरु भएको छ । सैन्य अभ्यासमा नेपाल, अमेरिका, श्रीलंका, माल्दिभ्स, इन्डोनेसिया, बंगलादेश र क्यानडाको सहभागिता छ ।
नेपाली सेनाका विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी जीतबहादुर गुरुङले ‘सप्ताहव्यापी कार्यक्रममा विपद् व्यवस्थापन’ विषयक प्रस्तुति, समूहगत छलफलका साथै विपद् प्रतिकार्यका विभिन्न अभ्यास गरिने जानकारी दिए । नेपाली सेना र युएस आर्मी प्यासिफिकको सहकार्यमा सन् २०११ देखि अहिलेसम्म ४ वटा विपद् प्रतिकार्य अभ्यास र सहयोग आदानप्रदान कार्यक्रम भइसकेको छ ।
उनले प्रादेशिक संरचनामा पहिलोपटक पोखरामा यस किसिमको अभ्यास गर्न लागिएको बताए । ‘विपत व्यपस्थापन सम्बन्धमा विभिन्न देशका घरेलु अनुभव र ज्ञानआदान–प्रदान हुनेछ,’ सहायक रथी गुरुङले भने, ‘भविष्यमा आउन सक्ने सम्भावित विपत्लाई कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।’
सहभागीले फेवाताल, चमेरे गुफा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मनिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेज, पोखरा विमानस्थल लगायत ठाउँमा प्रयोगात्मक अभ्यास गर्नेछन् । तालिममा सैद्धान्तिक कक्षासमेत हुनेछ । युएस आर्मी प्यासिफिकका मेजर जोनाथन सायरले कार्यक्रमबाट विपद् जोखिम न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्ने धारणा राखे । यस अभ्यासमा सरोकारवाला निकायका प्रतिनिधिसहित २२० जना प्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले भौगोलिक अवस्थितिसमेतका आधारमा नेपाल प्राकृतिकरुपमा विपद् जोखिमयुक्त क्षेत्र भएको बताउँदै यहाँका सम्भावित जोखीम न्यूनीकरणमा यस किसिमका अभ्यास उपयोगी बन्ने विश्वास व्यक्त गरे ।
नेपालले विसं २०७२ मा ठूलो भूकम्पको प्रकोप व्यहोरेको र त्यसका कारण सामाजिक, आर्थिक क्षेत्रमा ठूलो असर पारेको उल्लेख गर्दै उनले प्रादेशिकस्तरमा गरिएको यो प्रतिकार्य अभ्यासको कार्यक्रम उपलब्धिपूर्ण बन्ने विश्वास व्यक्त गरे ।
तपाईको प्रतिक्रिया