सामुहिक खेतीतर्फ आकर्षित हुँदै व्यास नगरपालिकाका किसान

समाधान संवाददाता २०७६ जेठ ६ गते १२:३४

कृष्ण न्यौपाने
दमौली

Advertisement

तनहुँको व्यास नगरपालिका वडा नं ५ का किसान बगर खेतीतर्फ आकर्षित भएका छन् । छुट्टाछुट्टै भन्दा समूहमा खेती गर्न सहज हुने भएपछि यहाँका कृषकले सामूहिक रुपमा बगर खेती सुरु गरेका हुन् ।

मादी नदी किनारमा बाँझो रहेको जग्गा सदुपयोग गर्दै ३ वर्षदेखि बगर खेती गरिएको एकराज अधिकारीले बताए । तत्कालीन जिल्ला कृषि विकास कार्यालयको प्रेरणा र सहयोगले यहाँका कृषकले बगरमा तरकारी खेती थालेका हुन् । उनले भने, ‘बाँझो जग्गा त्यसै फालिएर बसेको थियो । यहाँको माटो राम्रो रहेको प्राविधिकबाट थाहा पाएपछि कृषकसँग सल्लाह गरेर सामूहिक रुपमा खेती सुरु गर्‍यौं ।’ पहिलो वर्ष तर्बुजाबाट लगाइएको सामूहिक खेती अहिले लहरे बालीसम्म पुगेको छ ।

Advertisement

बगर खेतीका लागि कृषकले हरियाली कृषि समूह दर्ता गरेका छन् । समूहमा ४५ जना आबद्ध छन् । ४५ रोपनीमा खेती गरिएको छ । पहिलो वर्ष तर्बुजा खेतीका लागि कृषि विकास कार्यालयले बीउ उपलब्ध गराएको थियो ।

उत्पादन भएको तर्बुजा दमौली बजारमा नै बिक्री हुने गरेको छ । १ तर्बुजा ५० देखि १ सय ५०सम्ममा बिक्री हुने गरेको छ । दोस्रो वर्ष भने असिनाले क्षति पुगेपछि उत्पादन राम्रो नभएको कृषक अधिकारीले बताए । यो वर्ष करेला, घिरौला, तर्बुजा, लौका लगाइएको छ । तरकारीमा सिंचाइ सुविधाका लागि प्लास्टिक पोखरी निर्माण गरिएको छ । प्रत्येक बारीमा पानी पुर्‍याउन पाइप जडान गरिएको छ ।

तरकारी खेती सामूहिक भए पनि बिक्री भने कृषकले छुट्टाछुट्टै गर्ने गरेका छन् । अधिकारीले भने, ‘तरकारी लगाउन सामूहिक रुपमा सबै जना खटिन्छाैं, तर बिक्री भएको पैसा समूहमा भन्दा पनि व्यक्तिगत रुपमा हिसाब गर्ने गरेका छौं ।’ व्यास नगरपालिका वडा नं ५ का अध्यक्ष मोहनकुमार श्रेष्ठले बगर खेती गर्ने कृषक समूहलाई ५० हजार सहयोग गरिएको जानकारी दिए । नगरपालिकाले प्राविधिक सहयोगसमेत उपलब्ध गराएको छ ।

तपाईको प्रतिक्रिया