भारतमा फेरि पनि मोदी सरकार!

समाधान संवाददाता २०७६ जेठ ६ गते १३:५१

एजेन्सी, भारत

संसारकै सबैभन्दा ठूलो लोकतन्त्र भारतमा लोकसभा चुनाव सकिएको छ । सात चरणमा भएको मतदान आइतबार साँझ सकिएको हो । मतदान सकिएसँगै विभिन्न सञ्चारमाध्यम र संस्थाहरूले गरेको मत सर्वेक्षणका नतिजा सार्वजनिक भएका छन् ।

ती मत सर्वेक्षणले सवा अर्ब जनसंख्या भएको भारतमा  फेरि नरेन्द्र मोदी प्रधानमन्त्री बन्ने देखाएका छन् किनकी २०१४ मा बहुमत ल्याएको भारतीय जनता पार्टीको गठबन्धन नेशनल डेमोक्रयाटिक अलाइन्स (एनडिए)ले नै यसपालि पनि बहुमत ल्याउने सम्भावना बढेको छ ।

Advertisement

एनडिएमा भाजपासँगै शिव सेना, शिरोमणि अकाली दल, लोक जनशक्ति पार्टीलगायत पार्टी छन् । पाँच वर्षअघि भाजपाले २६७ सिट पाएको थियो भने गठबन्धनले २८२ सिट जितेको थियो । त्यतिबेला कंग्रेस आई ४४ सिटमा खुम्चिएको थियो । कंग्रेसले बनाएको युनाइटेड प्रोग्रेसिभ अलाइन्सले ६९ सिट पाएको थियो ।

त्यतिबेला १० वर्षलगातार सत्ता चलाएको कंग्रेस आईविरूद्ध मोदीले विकास र राष्ट्रवादको नारा दिएका थिए ।

Advertisement

अघिल्लो चुनावमा हर हर मोदी घर घर मोदीको लहर ल्याएको भाजपाले यसपालि ‘फिर एकबार मोदी सरकार’को नारा ल्याएको छ ।

कतिपयले मोदी सरकारले गरेका वाचा पुर्‍याउन नसकेको, विकासमा  डेलिभर गर्न नसकेको र नोटबन्दीका कारण जनतालाई दु:ख दिएकाले सत्तामा दोहोरिन उनलाई हम्मेहम्मे पर्न सक्ने विश्लेषण गरेका थिए ।

तर मत सर्वेक्षणले भने भाजपा नेतृत्वको एनडिएले सजिलै बहुमत ल्याउने देखाएका छन् । यदि यी मत सर्वेक्षणअनुसार नै जेठ ९ गते निर्वाचन आयोगको परिणाम आए भारतमा फेरि मोदी सरकार बन्ने पक्कापक्की जस्तै छ ।

तपाईको प्रतिक्रिया