फिर्केमा डाेजर नचलाउन उच्च अदालतकाे अन्तरिम आदेश

समाधान संवाददाता २०७६ जेठ ७ गते ११:५१
sdr

प्रदीप कुमाल
पोखरा

उच्च अदालत पोखराले फिर्केखोला किनारमा डोजर नलगाउन पोखरा महानगरपालिकाका नाममा अन्तरिम आदेश गरेको छ । स्थानीयले आइतबार दायर गरेको रिटमा न्यायाधीश जगतप्रसाद श्रेष्ठको एकल इजलासले सोमबार उत्प्रेषण मिश्रित परमादेशको अन्तरिम आदेश जारी गरेको हो ।

दुवै पक्षबीच छलफल गर्नुपर्ने देखिएकाले जेठ १३ गते सम्म निवेदकहरुको घरजग्गामा तत्काल डोजर लगाउने कार्य नगर्नु नगराउनु भनी विपक्षीहरुको नाममा आदेश जारी गरेको उच्चका उपरजिस्ट्रार पुष्प दाहालले जनाए । अदालतको आदेशमा भनिएको छ ‘यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिम आदेश किन जारी गर्नुनपर्ने हो ? जारी गर्नु नपर्ने कानुनसम्मत आधार र कारण भए सोसमेत खुलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्नू ।’

Advertisement

अदालतले दुवै पक्षसँग छलफलका लागि १३ गते डाकेको छ । पोखरा महानगरपलिकाले फिर्के खोला र सेती नदीको मापदण्ड गलत नियतले फरक गरेको भन्दै फिर्के संरक्षण तथा मापदण्ड सरोकार समितिका संयोजक नारायणविक्रम शाही, मधुसूदन कोइराला, प्रकाश कोइराला, सरीता देवकोटा, कृष्ण पराजुली लगायतले उच्च अदालत पोखरामा मुद्दा दर्ता गरेका थिए ।

महानगरपालिकाको २०७५ फागुन ९ गते प्रकाशित राजपत्रमा फिर्केखोलाको दायाँबायाँ १० मापदण्ड लगाउने निर्णय भएको उल्लेख छ । ‘सय मिटर गहिरो सेतीनदीमा ५ मिटर र त्योभन्दा धेरै सानो फिर्केखोलामा १० मिटर मापदण्ड लगाउने महानगरपालिकाको निर्णय सुहाउँदो भएन भनेर मुद्दा हालेका हौं,’ फिर्के संरक्षण तथा मापदण्ड सरोकार समिति कास्कीका सहसंयोजक कृष्ण पराजुली (ढाका मोहन) ले समाधानसँग भने, ‘फेवातालदेखि मुहानसम्म विज्ञबाट अध्ययन गराई वैज्ञानिक मापदण्ड लगाइनुपर्छ ।’ फिर्के पनि संरक्षण हुने र खोला किनारका बासिन्दालाई पनि मर्का नपर्ने गरी मापदण्ड बनाइनुपर्ने आफूहरुको माग भएको पराजुलीले बताए ।

Advertisement

वरिपरिबाट फिर्केखोला अतिक्रमित बनेको भन्दै महानगरपालिकाले खोलामा मापदण्ड लगाई दायाँबायाँ पैदलमार्ग बनाउने योजना अघि सारेको थियो । सोही योजनाअनुसार पोहोर असारमा मेयर मानबहादुर जिसीले अतिक्रमण हटाउन डोजर लगाउन सुरु गरेका थिए ।

पोखरा–१८ को अँधेरी कुनादेखि, वडा नम्बर ४, ५, हुँदै ड्याम साइडसम्म पैदलमार्ग बनाउने योजना महानगरको थियो । फोहोर र अतिक्रमणको चपेटामा परेको फिर्के खोलाको संरक्षण गर्न र खोलाको तिरैतिर पैदलमार्ग बनाउन महानगरका जनप्रतिनिधि, नागरिक समाज, विभिन्न संघसंस्थाको उपस्थितिमा भव्य रुपमा उद्घाटन गरिएको थियो । तर डोजर लगाउन पटकपटक प्रयास भएपछि स्थानीय विरोधमा उत्रिएका थिए ।

फिर्केको दायाँबाँया ५ मिटर राइट अफ वे मानेर रेखांकन गर्दा १ सय ९२ भन्दा बढी संरचना मापदण्ड विपरीत बनेको अध्ययन प्रतिवेदनमा छ । इन्जिनियर महेन्द्र गोदारको संयोजकत्वको टोलीले रेखांकन गरेर प्रतिवेदन निकालेको थियो । ५ मिटरभित्रका संरचनामा मात्र रेखांकन गरेर प्रतिवेदन बुझाइएको थियो । १० मिटर मापदण्ड मान्दा भने त्यस्ता संरचनाको संख्या अझै बढी हुने थियो । ५ मिटरभित्रका संरचनामा मात्र रेखांकन गरेर प्रतिवेदन बुझाएका थिए ।

फिर्केखोला संरक्षण र पैदल मार्ग निर्माणका लागि १ करोड ६० लाख रुपैयाँ छुट्याइएकोमा ३० लाख रुपैयाँ खर्च गर्ने महानगरले बताएको थियो । फिर्के अभियान ६ वर्षअघि पनि तत्कालीन पोखरा उपमहागरपालिकाले थालेको थियो ।

वडा नम्बर १८ को अँधेरीकुनादेखि वडा नम्बर १७ र ६ को संगम गौरीघाटमा पुगेर फिर्केखोला फेवातालमा मिसिन्छ । ८ किलोमिटर लम्बाइ रहेको फिर्केको बढीमा १५ मिटरदेखि ५ मिटरसम्मको फरकफरक चौडाइ छ ।

तपाईको प्रतिक्रिया