देउतासँग पनि कमिसन !

समाधान संवाददाता २०७६ जेठ ७ गते ११:५५

ईश्वर देवकोटा
पोखरा

पोखरा १४ चाउथेस्थित कदममार्गमा नवनिर्मित शिव मन्दिर निर्माण गर्ने समितिको कार्यशैली विवादमा तानिएको छ । कदममार्ग आमा समूहद्वारा निर्माण भएको मन्दिरको आयव्यय प्रष्ट पार्न नसक्दा मन्दिर निर्माण समितिका व्यक्तिमाथि कोष दुरुपयोगको आरोप लागेको छ ।

निर्माण समितिको संयोजक समीता थापा र कोषाध्यक्ष यमसरी थापा छन् । मन्दिर निर्माण गर्दा खर्चदाताको रुपमा कोषाध्यक्ष थापाले समूहकी पूर्वअध्यक्ष इन्दु अधिकारीलाई जिम्मेवारी सुम्पिई केही समयका लागि भारत गएको बताएकी छन् ।

Advertisement

निर्माण समितिले मन्दिर निर्माण गर्दा आमा समूहको रकम हिनामिना गरेको भन्दै उनीहरु उपर छानबिन गर्न आमा समूहकै सदस्यले जिल्ला प्रशासन कार्यालय कास्कीमा उजुरी दिएका थिए ।

समूहकी उपाध्यक्ष सावित्री सिग्देल लगायत २२ जनाले जिप्रका कास्की, पोखरा महानगरपालिका र अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयमा समेत उजुरी दर्ता गराएका हुन् ।

Advertisement

झन्डै १ वर्ष अगावै निर्माण भएको मन्दिरको अन्तिम आयव्यय सार्वजनिक गर्नुपूर्व नै मन्दिर निर्माण समितिमार्फत खर्चदाताको जिम्मेवारी पाएका दुवै उपर छानबिन सुरु भएको थियो । पूर्वाधार विकास कार्यालय कास्कीले गरेको लागत मूल्यांकन र लेखा समितिको छानबिनबाट प्राप्त प्रमाणका कारण ठूलै रकम हिनामिना भएको आरोप उनीहरुको छ ।

मन्दिर बनाउन १० लाख ५६ हजार खर्च लागेको विवरण निर्माण समितिले पेस गरेको छ । तर पूर्वाधार विकास कार्यालयले गरेको मूल्यांकनमा ६ लाख ८५ हजार खर्च भएको देखिन्छ । मन्दिर निर्माणका लागि शिलान्यासको क्रममा खरिद भएको २ हजारको माला खरिद गरेर ५ हजारको बिल पेस गरेपछि कोष हिनामिना भएको संकेत पाएको आमा समूहकी उपाध्यक्ष एवं उजुरीकर्ता सावित्री सिग्देलले जानकारी दिइन् ।

‘२०७५ जेठ २६ गते आमा समूहले टोलमा भेला राख्यो । लेखा समितिबाट मन्दिरको वास्तविक आयव्यय सार्वजनिक भयो,’ उनले भनिन्,’ ‘लेखा समितिले नै त्यसबेला कोषको अपचलन भइसकेको प्रष्ट पारेपछि दुरुपयोग रोक्न सरकारी निकायसम्म पुगेका हौं ।’

मन्दिर निर्माणका लागि सहयोग गरेका वास्तविक दाताहरुको समेत विवरण लुकाउने काम भएको उनले सुनाइन् । उनले भनिन्, ‘जिन्सी सहयोग गर्नेबाट सामान ल्याएको भन्दै खर्चको बिल देखाइँदा कतिसम्मको हिनामिना भएको छ । यकिन छैन ।’

खर्च पारदर्शी बनाउन भन्दै स्थानीय यामबहादुर शाहीको संयोजकत्वमा गठित ३ सदस्यीय लेखा समितिले सोमबार प्याब्सनको सभाहलमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा आफ्नो राय पेस गरेको छ । समितिका संयोजक शाहीका अनुसार निर्माण समितिको जिम्मेवारीमा बसेर खर्चदाताको भूमिका निर्वाह गर्नेबाट अपचलन देखिएको बताए ।

‘इशानेश्वर हार्डवयरले सौजन्यमा प्राप्त टायल, शुभरिमाल हार्डवयरबाट प्राप्त प्राइमर सिमेन्ट रङ लगायतको विवरणलाई आम्दानीमा नचढाई खर्च देखाउने काम गरेको देखिन्छ,’ उनले भने, ‘समूहबाट पदीय जिम्मेवारी मुक्त भइसकेका पदाधिकारीको नाममा सम्मानपत्र छपाईदेखिका अनियमितता प्रष्ट छ ।’

सौजन्यमा निर्माण सामग्री उपलब्ध गराउने प्रतिबद्धता जनाएका हार्डवयर पसलका बिलहरु अधिकांश खर्चमा देखिएपछि हल्लाखल्ला मच्चिएको उनले बताए । ‘लेखा समितिलाई प्राप्त जिम्मेवारी अनुसार अध्ययन गर्ने काम भयो । सम्बन्धित सामग्रीहरु खरिद भएका पसलमा बुझ्न जाँदा मात्रै थाहा पाइयो उनीहरुले निशुल्क दिएका रहेछन् ।’

एउटै सामानको खरिदमा डबल बिल पेस गर्ने कामसम्म भएको लेखा समितिले ठह¥याएको छ । सुक्ष्म रुपले लेखा समितिले अध्ययन गरेर विभिन्न शीर्षकबाट ९९ हजार २ सय ९ रुपैयाँ अपचलन भएको निष्कर्षमा पुगेको लेखा संयोजक शाहीले जानकारी दिए ।

समितिले औंल्याएको रकम समूहको खातामा जम्मा गर्न आलटाल गरेपछि उपाध्यक्ष सिग्देलसहित २२ जनाले जिल्ला प्रशासनमा उजुरी हालेका थिए । मन्दिर निर्माण जस्तो पुण्य कर्ममा भएको अनियमिततालाई अपचलनको आरोप लागेकालाई आत्मसमीक्षा गर्न समय दिइएको भएपनि गल्ती नसच्याउँदा कानुनी बाटो खोजेको उनीहरुको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले निमित्त प्रजिअ खगेन्द्र काफ्लेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । उक्त समितिले प्रमुख मुद्दालाई नै बुझ्न नसकेको जानकारी गराएपछि निर्माण लागत स्टिमेट गर्न पुनः प्रशासनलाई गुहारेका थिए ।

प्रशासनले मन्दिरको लागत निर्माण मूल्यांकन गर्न जिल्ला प्राविधिक कार्यालय कास्कीलाई पत्र लेखी पठाएको थियो । इन्जिनियर कृष्णप्रसाद जमरकटेलसहितको टोली फिल्डमा पुगी नापजाँच नै नगरी फर्कियो । उजुरीकर्ताले कतैबाट पनि छानबिनको प्रक्रिया अघि नबढ्ने देखेपछि पुनः ०७५ असार ३१ गते पोखरा महानगरपालिकालाई मन्दिर नापजाँचका लागि आग्रह गरेको थियो ।

महानगरले वडा १४ र १३ का इन्जिनियरलाई फिल्डमा पठाई नापजाँच गरेको रिपोर्ट राजनीतिक दबाबमा गुपचुप बनाइएको उजुरीकर्ताले बताएका छन् ।

अन्नतः निरन्तर आवाज उठाउँदै आएका उजुरीकर्ताहरुको माग समबन्धमा जिल्ला प्रशासन कास्कीले ०७५ माघ २ गते पुनः पूर्वाधार विकास कार्यालय कास्कीलाई लागत मूल्यांकनका लागि ७ दिनभित्र रिपोर्ट बुझाउन निर्देशन दिएको थियो । पूर्वाधार विकास कार्यालयले माघ १६ गते लागत मूल्यांकन रिपोर्ट प्रशासनमा बुझाएको थियो ।

रिपोर्ट अनुसार मन्दिर निर्माणमा सौजन्य सामग्रीबाहेकको ६ लाख ८५ हजार ६ सय ७९ रुपैयाँ मूल्यांकनमा गरेको छ । मूल्यांकनमा कुँदिएका बुट्टेदार ढोका, झ्याल, गजुर, नन्दी, घन्टी, पाला, तामाको जलारी लगायत केही मूर्तिहरु मूल्यांकन नगरिएको जनाएको छ ।

तर उक्त मन्दिर निर्माण समितिकी कोषाध्यक्ष यमसरी थापा र खर्चदाताको जिम्मा पाएकी आमा समूहकी पूर्वअध्यक्ष इन्दु अधिकारीले १० लाख ५६ हजार ८ सय ३३ रुपैयाँ खर्च भएको दाबी पेस गरेको थिए । वास्तविक लागतभन्दा बढी खर्च देखिएपछि उजुरीकर्ताले नागरिक समाज लगायतसँग यथार्थ बाहिर आउनुपर्ने भन्दै हारगुहार गर्दै आएका हुन् ।

रकम फिर्ता

विवाद समाधानका लागि आमा समूहले सोमबार डाकेको भेलामा निर्माण समितिबाट अपचलन भएको भनी लेखा समितिले ठहर गरेको ९९ हजार २ सय ९ रुपैयाँ फिर्ता गर्ने निर्णय गरेको छ । त्यसमध्येमा समूहकी पूर्वअध्यक्ष इन्दु अधिकारीले ५६ हजार ३ सय ८४ रुपैयाँ फिर्ता गरेकी छन् । सम्मान पत्र छपाइको क्रममा त्रुटि भएको भन्दै निर्माण समिति संयोजक समीता थापा र यमसरी थापाले १० हजार ६ सय रुपैयाँ फिर्ता गरेका छन् । सम्मान गरिने व्यक्तिको नाममा नछपाएर पूर्व अध्यक्ष इन्दु अधिकारीकै नाम सम्मान पत्र छपाइएको थियो ।

भेलाले १० हजार नगद जम्मा गरी माफ माग्नुपर्ने निर्णय गरेको छ । बाँकी रकम जिन्सी सामग्री रहेको भन्दै निर्माण समितिले स्पष्टीकरण दिएको छ ।

उजुरीकर्ताहरुले भने निर्णयमा सहमति जनाएका छैनन् । उपाध्यक्ष सिग्देलले भनिन्, ‘लागत मूल्यांकन र निर्माण समितिले पेस गरेको खर्च विवरणको फरक भएको रकमबारे पूर्ण जानकारी नपाएसम्म सहमतिमा आउनेवाला छैनौं ।’

तपाईको प्रतिक्रिया