६३ वर्षमा नागरिकता

समाधान संवाददाता २०७६ जेठ ७ गते १२:०२

जिल्ला प्रशासन कार्यालय तनहुँबाट पहिलो पटक नागरिकता बनाएपछि शुक्लागण्डकी १२ फिरफिरेका ६३ वर्षीय प्रेमबहादुर गुरुङ (दायाँ) र नागरिकताको प्रतिलिपि बनाएका ६७ वर्षीय नरबहादुर गुरुङ (बायाँ)

Advertisement

समाधान संवाददाता, दमौली

तनहुँको शुक्लागण्डकी नगरपालिका १२ फिरफिरेमा वर्षौदेखि बसोबास गर्दै आएका ६३ वर्षीय प्रेमबहादुर गुरुङको कच्ची घर विसं २०७२ सालको भूकम्पले भत्कियो । भूकम्पले घर भत्काएसँगै पूर्ण क्षतिको सूचीमा उनको नाम समावेश भयो ।

घर पुनर्निर्माणका लागि सम्झौता गर्ने बेलामा उनलाई आपत आइलाग्यो । कारण उनीसँग नागरिकता थिएन । नागरिकता नबनेका कारण उनले भूकम्पबाट क्षति भएको घर पुनर्निर्माणका लागि सम्झौता गर्न पाएनन् । नागरिकता नबनेकै कारण घर पुनर्निर्माण नहुने हो की भन्ने चिन्ता अब भने प्रेमबहादुरलाई टरेको छ ।

शुक्लागण्डकी नगरपालिका १२ को क्रियाशीलतामा उनले आइतबार मात्रै नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय तनहुँबाट नागरिकता लिएपछि खुशी हुँदै उनले भने, ‘बल्ल नागरिकता पाएँ, अब घर बन्ने आशा जागेको छ ।’ कास्की जिल्ला साविक भरतपोखरी गाविसबाट वर्षौ पहिला उनको परिवार फिरफिरे बसाइँसराइँ आएको थियो ।

Advertisement

उनी सानै हुँदा बाबुआमाको मृत्यु भयो । जब उनी हुर्कदै गए, उनको घरवार पनि त्यतै भयो । सार्वजनिक जग्गामा टहरो बनाएर बसोबास गर्दै आएका उनको हालसम्म पनि नागरिकता नभएको थाहा पाएपछि वडाध्यक्ष मनराज गुरुङको प्रयासमा उनले नागरिकता बनाएका छन् ।

वडाध्यक्ष गुरुङका अनुसार कास्कीको साविक भरतपोखरी गाविस (हाल पोखरा महानगरपालिका वडा नं ३०) बाट सर्जिमन, मुचुल्का र इलाका प्रहरी कार्यालय बेलचौताराबाट फिरफिरेमा वर्षौदेखि बसेको प्रमाणित गराएपछि गुरुङले नागरिकता प्राप्त गरेका हुन् ।

वडाध्यक्ष गुरुङले भने, ‘झन्झटिलो नेपालको कानुन र किचलो कर्मचारीको प्रवृत्तिलाई पार गर्दै नागरिकताविहिन असहायलाई लामो समयको प्रयासपछि नागरिकता दिलाउन पाउँदा खुशी लागेको छ ।’ गरिब, असहाय र अशिक्षित नागरिक राष्ट्रको पहुँचसम्म पुग्न नसक्ने रहेछ भन्ने नमिठो अनुभूतिसमेत आफूले यसक्रममा बेहोरेको उनको अनुभव छ ।

यसैगरी प्रेमबहादुरको दाजु ६७ वर्षीय नरबहादुर गुरुङको कास्कीबाट नागरिकता जारी भएको र उनलाई समेत तनहुँबाट नागरिकताको प्रतिलिपि प्रदान गरिएको छ । दाजुभाईको नै नागरिकता बनेपछि भूकम्पबाट भत्किएको घर पुनर्निर्माणका लागि प्रक्रिया अगाडि बढाइने वडाध्यक्ष गुरुङले जानकारी दिए । गुरुङ दाजुभाईले अर्काको खेती किसान र माछा मारेर जीवन निर्वाह गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया