गोरखाका वडा कार्यलयमा कामलाई प्रभावकारी र प्रविधिमैत्री बनाउन वडाध्यक्षहरुलाई ल्यापटप

समाधान संवाददाता २०७६ जेठ ७ गते १२:१८

मोहसिन अली मियाँ
गोरखा

गोरखा नगरपालिकाले जनप्रतिनिधिलाई प्रविधिसँग जोड्ने अभियान अन्तर्गत वडाध्यक्षहरुलाई ल्यापटप वितरण गरेको छ । वडा कार्यालयका कामलाई प्रभावकारी र सहज रुपमा अघि बढाउन र प्रविधिमैत्री बनाउने उद्देश्यले कार्यालयले १४ वटै वडाका वडाध्यक्षलाई ल्यापटप दिएको हो । ‘हामीले यसअघि नै वडा कार्यालयलाई प्रविधिसँग जोड्न विभिन्न काम थालिसकेका छाैं’, नगर प्रमुख राजनराज पन्तले भने, ‘अब वडाध्यक्षलाई पनि प्रविधिसँग जोड्दै छौं । जनताका काम चुस्त दुरुस्त रुपमा अघि बढ्न यसले सघाउँछ ।’

वडा कार्यालयमा यसअघि नै इन्टरनेट, टेलिफोन, प्रिन्टर, फोटोकपी, कम्प्युटर लगायतका सामग्री जडान गरिसकिएको छ । नगरपालिकाले वडाध्यक्षलाई आइतबार ल्यापटप वितरण गरेको हो । ‘अहिलेसम्म उहाँहरु कागजी रुपमै चलिरहनुभएको छ, अब उहाँहरुलाई टेक्नोलोजीमा अभ्यस्त बनाउने हाम्रो योजना हो,’ नगर प्रमुख पन्तले थपे, ‘उहाँहरुलाई हामीले यसअघि नै आइटीसम्बन्धी तालिम दिइसकेका छौं । सबैजसो अध्यक्ष यसमा जानकार पनि हुनुहुन्छ ।’

Advertisement

वडाध्यक्षहरूसमेत अब वडाका गतिविधि चुस्त बन्नेमा विश्वस्त छन् । ‘अहिलेसम्म चिठीपत्रकै भर पर्नुपर्ने थियो । इमेल इन्टरनेट हाम्रो पहुँचमा थिएन,’ ४ नम्बरका वडाध्यक्ष खोपबहादुर अधिकारीले भने, ‘अब हरेक काम सहज बन्छ भन्ने विश्वास छ । मन्त्रालयदेखि नगरपालिका र बिभिन्न निकायले पठाएका इमेल आफैं हेर्न र पठाउन सक्छौं ।’

वडाबाटै राजश्व

Advertisement

केही समय अघिदेखि वडा कार्यालयबाटै सुरु भएको राजश्व संकलन प्रभावकारी बनेको छ । वडा कार्यालयबाट राजश्व संकलन हुँदा सेवाग्रहीलाई प्रत्यक्ष फाइदा पुगेको हो । अघिल्लो वर्षसम्म घरजग्गा, सिफारिस लगायतका राजश्व बुझाउन नगरपालिका कार्यालय नै धाउनुपर्दा दिन नै माया मार्नुपर्ने अवस्था थियो ।

कार्यालयले वडा कार्यालयबाट यो सेवा सुरु गरेपछि राजश्वसमेत बढेको छ । ‘पहिला सेवाग्राहीलाई निक्कै सास्ती थियो, सानो रकम बुझाउन पनि दिन बिताउनुपर्ने बाध्यता थियो,’ नगर प्रमुख पन्तले भने, ‘अहिले वडाबाटै सेवा दिदा राजश्व संकलन पनि बढेको छ, बुझाउनेको संख्यामा पनि वृद्धि भएको छ ।’

तपाईको प्रतिक्रिया