बागलुङकाे पाण्डवखानीमा होमस्टे

समाधान संवाददाता २०७६ जेठ ७ गते १२:३३

ताराप्रसाद शर्मा
बागलुङ

बागलुङको गलकोट नगरपालिका १० पाण्डवखानीमा सामुदायिक घरबास (होमस्टे) सुरु गरिएको छ । कला, संस्कृतिले भरिपूर्ण पाण्डवखानी हुँदै जिल्लाको प्रसिद्ध पर्यटकीयस्थल घुम्टेको धुरी पुग्ने पर्यटकलाई लक्षित गरी सिद्धथान सामुदायिक घरबास सञ्चालनमा ल्याइएको हो ।

आन्तरिक तथा बाह्य पर्यटकलाई खान, बस्नको समस्या भएका कारण घरबासको अवधारणा ल्याइएको छ । सिद्धथान सामुदायिक घरबासका अध्यक्ष खिम गलामीले पहिलो चरणमा ७ घरबाट घरबासको सेवा प्रदान गर्न थालिउको जानकारी दिए । मगर समुदायको बाहुल्य रहेको पाण्डवखानीका रमणीयस्थल, कला, संस्कृति, स्थानीय खानाका परिकार लगायतले पाहुनालाई आकर्षण गरिने गलामीको भनाइ छ ।

Advertisement

पाहुनालाई स्वागत सत्कारसँगै फापरको परिकार, सिस्नो, मकै, भट्ट, गुन्द्रुक, आटो लगायतका परिकार चखाउने योजना छ । मगर समुदायमा प्रचलित सती घाटु, यानीमाया, सोरठी, भैचै, साइलोजस्ता मौलिक संस्कृतिले पाण्डवखानी आउने पर्यटकलाई थप मनोरञ्जन प्रदान गर्ने छ ।

गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले घरबासको पूर्वाधार निर्माणका लागि १० लाख अनुदान उपलब्ध गराएको सञ्चालक हिमाल पुनले बताए । घरबासमा पहिलो चरणमा सातै घरमा तातो, चिसो पानीसहितको शौचालय र स्नान गृह निर्माण थालिएको छ ।

Advertisement

जिल्लाकै उच्च भागमा रहेको घुम्टेको धुरीमा रहेका सिद्धभैरव मन्दिर दर्शन तथा दर्जनौं सेताम्मे हिमाल हेर्न पर्यटक घुम्टे पुग्छन् । घुम्टेमा चैत र वैशाखमा रातो र सेतो लालीगुराँस लोभलाग्दो गरी फुल्छ ।

सञ्चालक कमला सारुमगर १० हजार ३ सय ९३ फिट उचाइमा रहेको घुम्टे प्राकृतिक, धार्मिक, सांस्कृतिक र जैविक दृष्टिले महत्वपूर्ण भएको बताउँछिन् । घुम्टेको चुचुरो मल्म, पाण्डवखानी, हिल र हरिचौर गरी चार नाकाबाट पुग्न सकिने भए पनि अधिकांशले पाण्डवखानी नै रोज्ने गरेका छन् । पाण्डवखानीबाट ३ घण्टा हिडेर घुम्टे पुगिन्छ ।

तपाईको प्रतिक्रिया