बाँदर धपाउन वालिङको नयाँ काइदा

समाधान संवाददाता २०७६ जेठ ८ गते ११:५६

बाँदरको कानको जाली फुटाउला जस्तो आवाज निकाल्ने मेसिन तयार ।
—बाँदरबाहेक मान्छे र अरु प्राणीलाई असर नगर्ने मेसिनको मूल्य ५० हजार रुपैयाँसम्म ।

भरत कोइराला
पोखरा
वनजंगल बाक्लिएको छ । तर वनमै रमाउने बाँदरको बासस्थान र आहारमा कसैले ध्यान दिएको छैन । जंगलमै रमाउने बाँदर अहिले मानववस्तीमा छिरेर आतंक मच्चाउँछ । मुलुकका थुप्रै यस्ता गाउँ र नगरपालिका छन्, जसले बाँदर नियन्त्रणका लागि बर्सेनि लाखौं रुपैयाँ बजेट छुट्याएका छन् । कास्कीको रुपा, पर्वतको महाशिला गाउँपालिकाले त बाँदर समाएर चितवन लगायत ठाउँमा समेत छाड्नुपर्‍यो ।

जीवजन्तु विज्ञहरु भन्छन्, ‘बाँदरले आफ्नो धर्म छोड्दैन, बरु हामी मान्छेले आफ्नो धर्म छोड्दैछौं, जंगलमा खानेकुरै नभएपछि बस्ती नछिरेर कहाँ जानु त ?’ १ साता अघि राष्ट्रिस्तरमा छापामाध्यममा स्याङ्जाको गल्याङ नगरपालिका– १० डुबिन्डाँडाको समाचारले ठाउँ पायो । कारण थियो बाँदर । डुबिन्डाँडा र आसपासका गाउँका बासिन्दा बाँदरले आजित भएपछि अन्तिम विकल्पमा गाउँ छाड्न थालेका छन् । वडाध्यक्ष ध्रुवप्रसाद शर्माले भनेका थिए, ‘बाँदर नियन्त्रणका लागि गरिएका कुनै उपायले काम गरेनन्, यो समस्या समाधानमा वडा र नगरपालिकाले मात्रै गर्न सक्दैन केन्द्रबाट नै विशेष पहल हुनुपर्छ ।’

‘स्मार्ट’ बन्ने तरखरमा लागेको वालिङ नगरपालिकाले खेतीयोग्य तर लामो समयदेखि बाँझो रहेको जग्गामा व्यावसायिक खेतीका लागि किसानलाई प्रेरित गर्‍यो ।
कृषि उद्यमशीलताका लागि विभिन्न खाले अनुदान पनि उपलब्ध गरायो । तर किसान भने बाँदरबाटै आजित भए । यसका लागि वालिङ नगरपालिकाले फरक खालको जुक्ति निकालेको छ । वालिङका मेयर दिलीपप्रताप खाँण भन्छन्, ‘हामीले सुरु गरेको इनोभेसन ल्याबमा ११ जना वैज्ञानिक छन्, तीमध्ये केहीले बाँदर लखेट्ने मेसिन बनाएका छन्, अब छिट्टै प्रयोगमा ल्याउँछौं ।’ बाँदरले सुन्तला टिपेर फालिदिने अरु बाली पनि सखाप पारिदिने गरेपछि यसको जुक्ति निकालेको मेयर खाँणको दाबी छ ।

इनोभेसन ल्याबमा कार्यरत मेकानिकल र इलेक्ट्रिकल इन्जिनियरको सक्रियतामा उक्त प्रविधि तयार भएको हो । अब आवश्यकता पहिचान गरी यन्त्र निर्माण थालिने र बस्तीमा वितरण गरिने मेयर खाँणले बताए । क्षमता अनुसार एउटा यन्त्रको लागत ३५ देखि ५० हजार रुपैयाँसम्म पर्छ । उनका अनुसार यो यन्त्र अल्टासोनिक साउन्ड प्रविधिमा आधारित छ । बाँदरले सुन्न सक्ने फ्रिक्वेन्सीमा मिलाएर यन्त्र तयार भएको छ । प्राविधिकका अनुसार हरेक जनावरको क्रोमोजोम अनुसार आवाज ग्रहण गर्न सक्ने क्षमता फरक हुन्छ । अरु जीवजन्तुलाई असर पर्छ कि पर्दैन भनेर १ महिनासम्म परीक्षणसमेत भइसकेको छ । मेयर खाँणले भने, ‘परीक्षण सफल भइसकेकाले अब धेरै मात्रामा उत्पादन गरेर लैजाने मेसो मिलाएका छौं ।’ मेसिनको आवाज सुनेपछि बाँदर वरिपरि बस्नै सक्दैन । मान्छे र अरु जनावरलाई भने त्यो आवाजले असर पार्दैन ।
भारतमा कृषि सम्बन्धी अनुसन्धानरत संस्था आइसिएआरले बाँदर धपाउनैका लागि ‘हार्मोनी क्यु’ नामको यन्त्र प्रयोगमा ल्याएको छ । उक्त मेसिनबाट निस्केको आवाज सुनेपछि बाँदर भाग्छ । त्यस्तो मेसिन महाराष्ट्र र कर्नाटकमा प्रयोग भएको छ ।
बाँदरको समस्या नेपालमा मात्र होइन, विकसित मुलुक जापान, चीन र छिमेकी भारतमा समेत छ । जापानमा बाँदर आतंकबाट बच्न प्राकृतिक वासस्थान पुनस्र्थापना गरिएको छ । जंगलमा बाँदरलाई मन पर्ने फलफूलका बिरुवा रोप्नेदेखि भाले बाँदरको वन्ध्याकरण अभियान नै चलाउनुपरेको छ । चीनमा पनि जंगलभित्र बाँदरमैत्री फलफूलका बोटबिरुवा रोप्न थालिएको छ । भारतको तेलगंना राज्यमा बाँदर नियन्त्रणका लागि प्राकृतिक बासस्थान नै उपयुक्त ठानेर राज्य सरकारले बाँदरमैत्री बिरुवा खरिदका लागि १५ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।
कृषिविद प्रकाश पौडेलका अनुसार विगत २५ वर्षमा बाँदरको प्राकृतिक बासस्थान ३० प्रतिशतले ह्रास भएको छ । बाँदरको प्राकृतिक गन्तव्य मासिएका छन् । उनी भन्छन्, ‘अत्यन्तै शक्तिशाली अनुकुलन क्षमता हुने भएकाले नयाँ परिस्थितिमा खानाको खोजीका लागि बाँदर मानव बस्तीतिर सल्किरहेको छ । बाँदरका २ सय २५ प्रजातिमध्ये नेपालमा पाइने ३ प्रजाति मानवसँग एकदम नजिक रहेर बस्न सक्ने खालका छन् । प्राकृतिक बासस्थानमा रहँदा खानेकुरा खोज्न दैनिक १० देखि १४ घन्टा बिताउने बाँदरले मानव बस्तीनजिक जाँदै गर्दा १० मिनेटदेखि २ घन्टामै एकदिनलाई आवश्यक खाना प्राप्त गर्ने गरेको पाइएको छ । जसका कारण बाँदरले आपसमा खेल्दै बिताउने समय प्रशस्त पाउँछ । धेरै फुर्सद निस्कँदा यौन क्रियाकलापमा पनि बढोत्तरी भएको र बच्चा जन्माउने दर ह्वात्तै बढेर गएको पाइएको पौडेलले जनाएका छन् । बाँदरको संख्या मानव बस्तीतिर केन्द्रित हुँदा खाना तथा पानीको समस्या कम भई विगत १० वर्षमा शिशु मृत्युदर समेत ८० प्रतिशतबाट घटेर ४२ प्रतिशतमा झरेको छ ।
वालिङका मेयर दिलीपप्रताप खाँण भन्छन्, ‘बाँदर पनि हाम्रै देशको प्राणी हो । उसको लालपुर्जा छैन तर बस्ने ठाउँ त चाहियो । अब वनजंगलमा बाँदरले खान मिल्ने फलफूल रोप्दिनुपर्छ । कमसेकम त्यति भए बाँदर बस्ती पसेर बहुलाउन पाउने थिएनन् ।’ यसका लागि प्रदेश र संघीय सरकारले चासो देखाउन उनले आग्रह गरे ।

तपाईको प्रतिक्रिया