व्यक्तिले दर्ता गरेको करोडौंको जग्गा सार्वजनिक ठहर

समाधान संवाददाता २०७६ जेठ ९ गते ११:२८

समाधान संवाददाता, पोखरा

व्यक्तिले दर्ता गरेको पोखरा २९ स्थित गडुवाखोलानजिकको १५ रोपनी जमिन सर्वाेच्च अदालतले सार्वजनिक ठहर गरिदिएको छ । कम्तीमा पनि २ करोड रोपनीको हिसाब राख्दामात्रै उक्त जमिन ३० करोड रुपैयाँको हो । तर चलनचल्तीमा भने गडुवाखोला छेउको त्यो जमिनलाई आधा अर्ब रुपैयाँ रुपैयाँ पर्ने स्थानीय बताउँछन् ।

तत्कालीन पुनरावेदन अदालत पोखराले गरेको फैसलालाई नै सर्वाेच्चका न्यायाधीशद्वय सपना मल्ल प्रधान र डा. मनोजकुमार शर्माको इजलासले मंगलबार सदर गरेको हो । पोखरा ३३ की मीनकुमारी अधिकारीसहित ६ जनाले पुनरावेदन अदालतको फैसला विरुद्ध सर्वाेच्चमा २०७० साल साउन १ गते मुद्दा हालेका थिए । उक्त मुद्दामा मंगलबार सर्वाेच्चमा पोखरा महानगरपालिकाको पक्षबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल र अधिवक्ता खगेन्द्र आचार्यले बहस गरेका थिए । मीनकुमारसमेतका तर्फबाट वरिष्ठ अधिवक्ता वसन्तराम भण्डारी र अधिवक्ता विश्व सिग्देलले बहस गरेका थिए ।

Advertisement

पोखरा महानगरपालिकाका वरिष्ठ कानुन अधिकृत नारायण शर्माका अनुसार २०६५ साल असार १९ गते मीनकुमारी अधिकारी र पूर्णदीप पौडेलले क्रमश १२ र २ रोपनी केही आना गरी जमिन आफ्नो नाममा दर्ता गरेका थिए । तर उनीहरुले दर्ता गराएको जमिन सार्वजनिक हुनुपर्छ भनी स्थानीय चोलाप्रसाद बराल, ईश्वर गुरुङ र रामजी पौडेलले २०६५ सालको भदौमा मुद्दा हालेका थिए । २०६८ जेठ २३ गते कास्की जिल्ला अदालतका तत्कालीन न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले उक्त जमिन व्यक्तिकै हुने फैसला सुनाएको थियो ।

जिल्ला अदालतको फैसलाविरुद्ध बराल, पौडेल र गुरुङले तत्कालीन पुनरावेदन अदालत पोखरामा २०६८ सालको भदौमा पुनरावेदन गरेका थिए । पुनरावेदनका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डिल्लीराज आचार्यले २०६९ फागुन १३ गते उक्त जमिन सार्वजनिक हुने फैसला गरेका थिए । त्यसविरुद्ध मीनकुमारीसहित ६ जना २०७० साल साउन १ गते सर्वाेच्च अदालत पुगेका हुन् । सर्वाेच्चले मंगलबार पुनरावेदनकै फैसला सदर गरेको हो । सर्वाेच्चबाट अत्यन्तै न्यायपूर्ण फैसला आएको अधिवक्ता खगेन्द्र आचार्यले बताए ।

Advertisement

सर्वाेच्चले सार्वजनिक हुने भनेको जमिन साविक शिशुवा गाउँपञ्चायतको वडा नम्बर २ को कित्ता नम्बर ५४३ को जमिन हो । गडुवाखोलाको पूर्वमा उक्त जमिन छ । खोलाको पश्चिमपट्टि कित्ता नम्बर ४०६ र ४०७ नम्बरको कित्ताका धनीहरुले पूर्वपट्टिको पनि आफ्नै दाबी गरी दर्ता गराएका थिए । २०३२ सालको फिल्डबुकमा ५४३ नम्बर कित्ताको जमिन पर्ती जनाइएको छ ।

कित्ता नम्बर ४०६ र ४०७ को जमिन मीनकुमारी अधिकारीहरुले २०६५ वैशाख ३० गते निवेदन दिएर दर्ता गराएका थिए । उक्त जमिन दर्ता भएपछि कित्ता नम्बर ५४३चाहिँ छुटेछ भनी जेठ ३० गते निवेदन दिएपछि मालपोतले असार १९ गते दर्ता गरिदिएको थियो ।

आफ्नो नाममा ल्याइसक्नासाथ मीनकुमारीले उक्त जमिन घनश्याम आचार्य, सरस्वती पौडेल, दीननाथ आचार्य, शोभा शर्मा र राधिका भण्डारीलाई बेचेकी थिइन् । पुनरावेदनको फैसलाले जमिन सार्वजनिक भएपछि मीनकुमारीसहितका अरु पनि सर्वाेच्च गुहार्न गएका हुन् ।

तपाईको प्रतिक्रिया