शुक्लागण्डकीमा अपांगता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण

समाधान संवाददाता २०७६ जेठ ९ गते ११:४१

समाधान संवाददाता
दुलेगौंडा

तनहुँको शुक्लागण्डकी नगरपालिकाले अपांगता भएका व्यक्तिलाई परिचयपत्र वितरण प्रक्रिया सुरु गरेको छ । दुलेगौंडास्थित नगर स्वास्थ्य शाखामा बुधबारबाट नगर उपप्रमुख सविता रसाइलीले परिचयपत्र वितरण प्रक्रिया सुरु गरेकी हुन् । पहिलो दिन वडा नम्बर १ देखि ७ सम्मका वडाका अपांगता भएका व्यक्तिको निवेदन र शारीरिक अवस्था जाँच गरिएको छ । बाँकी ५ वडाका अपांगता भएका व्यक्तिको स्वास्थ्य परीक्षण बिहीबार गरिनेछ ।

कागजात पुगेका निवेदन, शारीरिक अवस्था, चिकित्सकको सिफारिस र परिचयपत्र वितरण कार्यविधिका आधारमा परिचयपत्र वितरण गरिने उपप्रमुख रसाइलीले जानकारी दिइन् । ‘सरकारले अपांगताको वर्गीकरण गरेको छ,’ उपमेयर रसाइलीले भनिन्, ‘हामीले त्यही कार्य विधिले व्याख्या गरेका आधारमा परिचयपत्र वितरण गर्न लागेका होैं ।’

Advertisement

अपांगता भएका व्यक्तिको परिचयपत्र कार्यविधि २०७५ अनुसार यसअघि परिचयपत्र लिइसकेका व्यक्तिले पनि आगामी १ वर्षभित्र कार्यविधि अनुसार परिचयपत्र लिनुपर्ने उल्लेख छ । यसअघि महिला तथा बालबालिका कार्यालयले परिचयपत्र वितरण थियो ।

सरकारले अपांगता भएका व्यक्तिलाई ४ समूहमा विभाजन गरेको छ । नेपाली कांग्रेसका नगरसभापति माधव भट्टराईले अपांगता भएका व्यक्तिले राज्यले पाउने सुविधा पाउनुपर्ने बताए । ‘जो वास्तविक अपांगता भएका छन् उनीहरुलाई सहज ढंगले परिचयपत्र प्रदान गर्नुपर्छ’, उनले भने, ‘चिकित्सक र स्थानीय समन्वय समिति सदस्यले गहिरो अध्ययन गरेर मात्र वितरण गर्न जरुरी छ ।’

Advertisement

शुक्लागण्डकी नागरिक समाजका अध्यक्ष खेमराज खनालले परिचय पत्र लिन आउन नसक्ने भएकाले घरमै गएर भए पनि सेवा दिनुपर्नेमा जोड दिए । सामाजिक विकास शाखा प्रमुख हेमा पोख्रेलले परिचयपत्र वितरणपश्चात् नगरमा अपांगता भएका व्यक्तिको तथ्यांक निस्कने बताइन् ।

तपाईको प्रतिक्रिया